काठमाडौं। सार्वजनिक-निजी साझेदारीमा निर्माण हुन लागेको तामाकोसी-५ जलविद्युत आयोजनाको विकासकर्ता तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले बढी रकमको बोलपत्र परेपछि रद्द गरेकाे छ।
परेको बोलपत्रको मूल्यांकन गर्दा सारभूतरूपमा प्रभावग्राही (ननरेस्पन्सिभ) देखिएपछि ठेक्का रद्द गरेको तामाकोसी जलविद्युतका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनोद भण्डारीले क्यापिटल नेपाललाई बताए।
सबैभन्दा कम दर प्रस्ताव गर्ने चीनको सिनो हाइड्रो कर्पोरेसन लिमिटेडको प्रस्ताव तामाकोसीले निर्धारण गरेको अनुमानित लागतभन्दा ३१ प्रतिशत बढी थियो।
तामाकोसी जलविद्युतले १० अर्ब ५४ करोड रुपैयाँको स्टिमेट लागत तयार पारे पनि सबैभन्दा कम दर प्रस्ताव गर्ने सिनोको १३ अर्ब ८५ करोड ७६ लाख १३ हजार २ सय ९ रुपैयाँ थियो।
यस्तै चाइना गुेजुवा ग्रुप कम्पनी लिमिटेडले सबैभन्दा बढी १९ अर्ब ७२ करोड १२ लाख ३४ हजार ४ सय ६१ रुपैयाँ प्रस्ताव गरेको थियो।
तामाकोसी आयोजना बनाउन सिनोको ३ अर्ब ३१ करोड रुपैयाँ बढी मूल्यको प्रस्ताव परेको छ भने चाइना गेजुवाको प्रस्ताव ९ अर्ब रुपैयाँ बढी छ।
अनुमानित लागतभन्दा बढी मूल्य आएपछि बोलपत्र रद्द गरेर द्रुतमार्गबाट पुनः बोलपत्र आह्वान गर्नुपने छ। सार्वजनिक खरिद ऐनमा आर्थिक एवं प्राविधिकरूपमा प्रभावग्राही कम मूल्य अंकित बोलपत्रदाता छनौट गर्नुपर्ने व्यवस्था छ।
सबैभन्दा कम मूल्य कबोल गर्ने कम्पनीले ठेक्का पाउने छ। तामाकोसी–५ मा कम दर प्रस्ताव गरे पनि कम्पनीले तय गरेको अनुमानित लागतभन्दा धेरै बढी छ। कम्पनीले साउन ९ मा आयोजनाको सिभिल र हाइड्रो मेकानिकलतर्फको ठेक्का निकालेको थियो।
आयोजनाको बोलपत्रमा चार कम्पनीले भाग लिएका थिए। बोलपत्र पेस गर्नेमध्ये सिनो र गेजुवामात्र प्राविधिकरूपमा छनौट भए। तामाकोसी जलविद्युतले गत फागुन १६ मा दुई कम्पनीको आर्थिक प्रस्ताव खोलेको थियो।
९९.८ मेगावाटको यो आयोजना माथिल्लो तामाकोसी जलविद्युतको ‘क्यासकेड’ हो। माथिल्लो तामाकोसीको ‘टेलरेस’ बाट आउने पानी सिधै आठ किलोमिटर लामो सुरुङमा लैजान सकिने छ।
सञ्चय कोषले तामाकोसी–५ मा ११ अर्ब ३३ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ। सञ्चय कोषले ऋण दिँदा बाँकी ४ अर्ब रुपैयाँ नेपाल विद्युत प्राधिकरणले लगानी गर्ने छ।
आयोजनाले वार्षिक ५४ करोड युनिट ऊर्जा उत्पादन गर्ने छ। आयोजनाले स्थानीय प्रभावित एवं सर्वसाधारणलाई साधारण सेयर बिक्री गर्ने छ।
वित्तीयरूपमा आकर्षक मानिएको आयोजनाको लागत प्रतिमेगावाट १६ करोड रुपैयाँ देखिएको छ। २०८४ भित्र आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य छ।