काठमाडौं। पूर्वपश्चिम राजमार्गको कमला–ढल्केबर–पथलैया सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आगामी असारसम्म तयार हुने भएको छ। सन् २०२१ सेप्टेम्बर १५ मा सम्झौता भएपछि डिपिआर अध्ययन सुरु भएको थियो।
अन्तर्राष्ट्रिय निर्माण कम्पनी इप्टिसा र स्तुभको जोइन्ट भेन्चर कम्पनी (जेभी पार्टनर) ले डिपिआर तयार गरिरहेका छन्। चालू आर्थिक वर्ष डिपिआर र डिजाइन तयार हुने सडक विभागअन्तर्गतको विकास सहायता तथा कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) बन्दना आचार्यले बताइन्।
उनका अनुसार डिपिआर अध्ययन र डिजाइन बनाउने काम छुट्टाछुट्टै कम्पनीले सँगसँगै गरिरहेका छन्। ‘डिजाइन र डिपिआर असारसम्म तयार हुने गरी काम भइरहेको छ। त्यसपछि ठेक्का आह्वान हुन्छ,’ सिडिई आचार्यले भनिन्।
डिपिआर अध्ययनको काम अन्तिम चरणमा पुगेकाले उक्त खण्ड विस्तारको लागत यकिन नभएको महाशाखाले जनाएको छ।
तै पनि सम्भाव्यता अध्ययनले ६४ अर्ब रुपैयाँ लाग्ने देखाएको छ। पूर्व झापाबाट सुदूरपश्चिम महाकाली कञ्चनपुर जोड्ने उक्त राजमार्गको लम्बाइ १ हजार २८ किलोमिटर छ। दुई लेनमा निर्माण गरिएको राजमार्ग २०७३ सालबाट विस्तार योजना अघि सारिएको थियो।
सडक विभागका अनुसार आठ खण्ड बनाएर उक्त आयोजना स्तरोन्नतिको काम सुरु भएको हो। एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकले पूर्व–पश्चिम राजमार्र्ग चार लेनमा विस्तार गर्न ऋण उपलब्ध गराउने भएका छन्।
जसमध्ये कमला–ढल्केबर–पथलैया खण्डमा विश्व बैंकले ऋण उपलब्ध गराउने भएको छ। तर, डिपिआर तयार भएर यकिन लागत थाहा नभएसम्म कति रकम ऋण पाइन्छ भन्न नसकिने सिडिई आचार्यको भनाइ छ।
१ सय ३० किलोमिटर लम्बाइको कमला–ढल्केबर–पथलैया सडक खण्डमा करिब ७६ पुल निर्माण हुने सडक विभागले जनाएको छ। जसमध्ये बागमती, बकैया र कमला खोलामा गरी तीनवटा ‘सिग्नेचर’ पुल निर्माण गर्ने तयारी विभागको छ। तै पनि सिग्नेचर पुलको विषय छलफलकै चरणमा रहेको छ। उक्त सडक खण्ड २०२७ सम्म निर्माण गर्ने लक्ष्य विभागको छ।
त्यसबाहेक विश्व बैंकले बुटवल–गोरुसिंगे–चनौटा र चनौटा–कोहलपुर–गड्डाचौकी खण्डमा वित्तीय सहयोग उपलब्ध गराउने सडक विभागले जनाएको छ।
७० किलोमिटर लम्बाइको बुटवल–गोरुसिंगे–चनौटा खण्डको लागत ३२ अर्ब हुने अनुमान छ। त्यस्तै चनौटा–कोहलपुर–गड्डाचौकी खण्डको लम्बाइ ३ सय ७५ किलोमिटर छ। तर, लागत भने विभागले खुलाएको छैन।
कञ्चनपुर–कमला, पथलैया–हेटौंडा–नारायणघाट र काँकडभिट्टा–लौकही खण्ड एडिबीको ऋण सहयोगमा चार लेनको बन्ने सडक विभागले जनाएको छ।
कञ्चनपुर–कमला खण्डको लम्बाइ ८७ किलोमिटर छ। उक्त खण्डको स्तरोन्नति गर्न १५ अर्ब ६६ करोड रुपैयाँ लाग्ने विभागको अनुमान छ।
त्यस्तै १ सय २० किलोमिटर लामो काँकडभिट्टा–लौकही खण्डको डिजाइन सकिएको छ। एडिबीको आर्थिक सहयोगमा १ सय ६ किलोमिटर पथलैया–हेटौंडा–नारायणघाट खण्ड पनि विस्तार हुनेछ।
२०७३ सालबाट सुरु गरिएको सडक विस्तारको काम हालसम्म कुनै पनि खण्डमा पूरा भएको छैन। सवारी चाप कम भएका क्षेत्रमा चार लेन र सहरी क्षेत्रमा ६ लेनमा सडक विस्तार गर्ने विभागले जनाएको छ।
सडक विभागका अनुसार राजमार्गले २२ जिल्ला र तीन राष्ट्रिय निकुञ्ज छुन्छ। जसमध्ये पर्सा राष्ट्रिय निकुञ्ज कमला–ढल्केबर–पथलैया खण्डमा पर्छ। उक्त निकुञ्जको १४ किलोमिटर क्षेत्रलाई पूर्व–पश्चिम राजमार्गले छुने सिडिई आचार्यको भनाइ छ। तर, निकुञ्जका कारण डिपिआर तयारीमा अवरोध नभएको उनले बताइन्।
२०१८ सालमा राजा महेन्द्रले पूर्वपश्चिम राजमार्ग शिलान्यास गरेका थिए। सोही कारण पूर्वपश्चिम राजमार्गलाई महेन्द्र राजमार्गका रूपमा पनि चिनिन्छ।