काठमाडौं। ब्याजदर वृद्धिविरुद्ध निरन्तर सडक आन्दोलन र क्षमता भएकाले पनि ब्याज नतिर्ने रणनीतिले गर्दा निष्क्रिय कर्जा (एनपिएल) माथि ठूलो चाप पर्ने आँकलन बैंकरहरूले गर्न थालेका छन्।
अनुशासित भएर चल्नुपर्ने व्यवसायमाथि पछिल्लो समयमा चौतर्फी आक्रमण हुन थालेपछि बैंकरहरु पनि सशंकित बन्न पुगेका हुन्। ब्याजदर वृद्धिलाई देखाएर देशभरबाट बैंक तथा वित्तीय संस्थामाथि आक्रमणको धम्की, कर्मचारीमाथि आक्रमण, गिर्दो मनोबल र प्रशासन निरीह बन्दा देशले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने बैंकरहरु बताउँछन्।
नेपाल बैकर्स संघका अध्यक्ष सुनील केसीका अनुसार समूह बनाएर बैंकमाथि जाइलाग्ने, दुई पक्षीय सम्झौता तोडेर ब्याज तिर्दिन भन्ने, सक्नेलेसमेत ब्याज नतिर्ने नीति लिन थालेपछि नेपालको बैंकको अन्तर्राष्ट्रिय छवी नै बिग्रिने बताउँछन्।
उनका अनुसार २०६९ असारमा कर्जाको ब्याजदर सबैभन्दा उच्च १३.६० प्रतिशत पुगेको थियो। त्यो बेला पनि ऋणीले ऋण लिएरै व्यवसाय गरेका थिए। नाफा आर्जन गरेकै थिए। २०७९ माघमा पनि १३.०३ प्रतिशत पुगेको हो। अहिले किन ब्याजदरको विषयलाई लिएर आलोचना, अभद्र व्यवहार भइरहेको हो ? आफूले बुझन नसकेको उनले बताए। नेपालमा पहिलो पटक १३.०३ प्रतिशत ब्याज पुगेझै गरेर बैंकमाथि खन्निएका छन्।
बैंक विरुद्ध भइरहेका गतिविधि, ऋण नतिर्ने धम्की आउनु दुखदायी भएको उनको भनाइ छ। नेपालको बैंकिङ क्षेत्र र ऋणीबीच कामय रहेको सुमधुर सम्बन्ध खल्बल्याएर कसैलाई हित नहुने केसीको भनाइ छ।
बैंकर्स संघअनुसार २०६७ असारमा २.४८ प्रतिशत निष्क्रिय कर्जा थियो। २०६८ असारमा बढेर ३.१९ प्रतिशत पुगेको थियो। तर, २०७९ असारमा १.२० प्रतिशत थियो। पुसमा आइपुग्दा २.३५ प्रतिशत पुगेको छ। तर, अहिले जे जस्ता हर्कत भइरहेका छन्, त्यसले बैंकको निष्क्रिय कर्जा बढेर ४ प्रतिशतमाथि पुग्ने बैंकरहरुको अनुमान छ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङले बैंकिङ क्षेत्रले डराउनुपर्ने अवस्था नआए पनि सचेत हुनुपर्ने बेला आएको बताए। ‘सडकबाट जे जस्ता कार्य भइरहेका छन्, यसबाट बैंकरहरु सचेत हुनुपर्ने बेला आएको छ,’ उनले भने, ‘अहिले देख्दा बैंकमाथिको आक्रमण भनिए पनि कालान्तरमा देशलाई नै हानी नोक्सानी हुने हो।’
बैंक तथा वित्तीय संस्थाको बिस्तारै निष्क्रिय कर्जाको अनुपात बढिरहेको छ। लामो समयदेखि बैंक तथा वित्तीय संस्थाले एउटा सीमाभित्र राख्दै आएको निष्क्रिय कर्जाको प्रतिशत उकालो ग्राफतर्फ लागेकाले सचेत हुनुपर्ने देखिएको हो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारील बैंकहरुको निष्क्रिय कर्जा अनुपात बढ्न थालेपछि असुलीमा जोड दिन बैंकरलाई भनेका छन्।
बैंकिङ विज्ञ अनलराज भट्टराईले बैंकिङ भनेको एकतिरबाट पैसा लिएर अर्कोतिर दिएर नाफा कमाउने संस्था भएको बताए। बैंकले मध्यस्तकर्ताको भूमिका खेल्ने हो। बैंकले जोसँग बढी पैसा छ, त्यसबाट लिन्छ, जसलाई चाहिन्छ, त्यसलाई दिने गर्छ।’
अहिले ब्याजदर समस्या हो की उपभोक्ताको हातमा पैसा नहुँदा मागमा आएकाले समस्या उत्पन्न भएको बुझ्नुपर्ने उनको भनाइ छ। अहिले उपभोक्तासँग पैसा नभएर समस्या उत्पन्न भएको हो। अहिलेको भन्दा १० वर्ष अघिको ब्याजदर बढी थियो। तर, त्यो बेला बैंकप्रति अविश्वास गरिएको थिएन। कारण, मागमा कुनै कमी थिएन।
‘१३ वर्षको दौरानमा कर्जा विस्तार १३ सय अर्बबाट ४८ सय अर्ब रुपैयाँ पुग्यो। ८ दशकको इतिहासमा ७ औं दशकमा १३ सय अर्ब कर्जा थियो भने ८ औं दशकमा आइपुग्दा ४८ सय अर्ब रुपैयाँमा पुग्यो’ उनले भने, ‘सहुलियतपूर्ण पैसाले उपभोग बढायो। उपभोग्य वस्तुले आम्दानी गर्दैन खर्च मात्रै गर्छ।
अहिले आम्दानी नहुने र खर्च गर्नैपर्ने दबाबमा उपभोक्ताहरु छन्। बैंकलाई ब्याज तिर्नैपर्ने दबाबले ऋणीहरु त्रासमा परे। जब ऋणी त्रासमा हुन्छन्, त्यो बेला कुनै समूहले तपाईको त्रासलाई म कम गरिदिन्छु, मैसँग आवाज उठाउनुस्, भन्यो भने ऋणी पछि लागिहाल्छन्। त्यहीबाट बैंकविरुद्ध नकारात्मक भावना उत्पन्न भएको देखिन्छ।’
बैंक वित्तीय संस्थाले दबाब दिएर ऋण नदिएको उनको भनाइ छ। बैंकले ग्राहकलाई सस्तो ब्याजदरमा ऋण पाइन्छ भनेर प्रचार–प्रसार गर्छन। यो संसारभरको अभ्यास हो।
‘१० वर्षमा प्रत्येक वर्ष २० प्रतिशतका हिसावले कर्जा विस्तार भयो। त्यसलाई नियामक निकायले रोक्न सक्नुपर्थ्यो’ भट्टराईले क्यापिटल नेपालसँग भने, ‘त्यसमा नियामक निकायको पनि कमजोरी छ। नियामक निकायले पनि कर्जा वृद्धि गराउँदै जाने, कर्जा वृद्धि भइरहोस्, भन्नेतिर गयो।’
नेपालमा मात्रै होइन्, सन् २००८ को वित्तीय संकटपछि विश्वभर नै इजी मनिमा गएको देखिन्छ। केन्द्रीय बैंकले सही तरिकाले सुपरभिजन गर्न नसक्दा अहिलेको समस्या निम्तिएको उनको भनाइ छ।
सरकारले राजस्व पाइरह्यो, अर्थतन्त्रमा योगदान बढिरह्यो, रोजगारी पनि बढिरह्यो, विभिन्न किसिमका उद्योग पनि खुलिरहे, सेवामुलक उद्योग पनि फस्टाइरहेको अवस्थाबाट एकाएक तीन वटा परिस्थिति आइलाग्यो।
भूकम्प, नाकाबन्दी र कोभिड महामारीबाट सहजै उकालो लाग्यो। किनभने, त्यो बेला विश्व अर्थतन्त्र उकालोतर्फ थियो। कोभिडको रिकोभरीपछि युक्रेन रसियाको लडाईले विश्व अर्थतन्त्रलाई नराम्ररी प्रभावित पारिदियो। त्यसपछि बैंकविरुद्ध आन्दोलनमा उत्रिएको देखिन्छ।
अहिले माग शून्यतिर गइरहेको छ, आम्दानीका स्रोतहरु खुम्चिएका छन्। बैंकलाई तिर्न सक्ने क्षमतामा संकुचन आइरहेको छ। यस्तो बेला बैंक विरुद्ध आवाज बुलन्द बनाउन खोज्नेहरुको समूह ठूलो भएको बैंकरहरु बताउँछन्। ‘रातो बत्ति बलिरहेका बेला गाडी दौडाउँछु भन्यो भने के हुन्छ? गाडी ठोकिन्छ, गाडी ठोकिँदा निर्दोष मान्छेमाथि अन्याय पर्छ,’ भट्टराईले भने।