काठमाडौं। सीमित स्वार्थ पूरा गर्न बैंकमाथि हुन थालेको आक्रमणप्रति नेपाल बैंकर्स संघले आपत्ति जनाएको छ। ऋण असुलीमा निस्केका बैंकरमाथि आक्रमण हुन थालेपछि संघले पत्रकार सम्मेलन गरेर सरकारको ध्यानाकर्षण गराएको हो।
‘अराजक अभिव्यक्ति दिँदै बैंकविरुद्ध उत्रिन सार्वजनिक आह्वान गर्ने समूह तथा व्यक्तिलाई तत्काल कानुनी कारबाही गर्नुपर्छ,’ संघ अध्यक्ष सुनील केसीले भने, ‘सरकारले अराजक व्यक्तिलाई नियन्त्रणमा लिएर कडाभन्दा कडा कारबाही गर्नुपर्छ।’
उनका अनुसार ऋण लिने र दिनेबीच सम्झौता गरेर ब्याजदर तय गरिएको हुन्छ। अहिले आएर ऋण तिर्दिनँ भन्दै समूह बनाएर बैंकमाथि खनिँदासमेत सरकार मुकदर्शक बनेको छ। वित्तीय क्षेत्र तहसनहस बनाउने उद्देश्यबाट बैंकरमाथि खनिने क्रम निरन्तर जारी छ।
‘आन्दोलनका बलमा बैंकबाट ऋण लिएर नतिर्ने समूह बढिरहेका छन्,’ केसीले भने, ‘द्विपक्षीय करार तोडेर आफूखुसी ऋण तिर्दिनँ भन्दै हिँड्ने र ऋण असुलीका लागि निस्किएका बैंकरलाई धम्की दिने कार्यले व्यापकता पाएको छ।’
केसीले बैंकरमाथि शृंखलाबद्ध आक्रमण हुन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहसचिव विनोदप्रकाश सिंहलाई जानकारी गराउँदा पनि दोषीमाथि कानुनी कारबाही हुन नसकेको संघले जनाएको छ।
अहिले बैंकरहरू डराइडराइ हिँडनुपर्ने अवस्था आएको छ। चैत मसान्तमा ऋणीले तिर्नुपर्ने ब्याजबारे ऋणीलाई सम्झाउनुपर्ने बेला आएको छ। तर, बैंक कर्मचारी ऋणीलाई फोन गर्नसमेत डराइरहेका छन्। ‘तथानाम गालीगलौज गर्ने, ब्याज भर्नूस् भन्दा धम्क्याउने कार्य भइरहेको बैंकरहरूले गुनासो गरिरहेका छन्,’ उनले भने।
वित्तीय क्षेत्रमाथिको आक्रमणले अन्तर्राष्ट्रिय जगतमै नेपालको छवि बिग्रिने खतरा बढेको छ। अहिले धेरैजसो नेपाली बैंकले विदेशबाट ऋण लिन खोजिरहेका छन्। केही प्रक्रियामा छन्। उसै पनि नेपालको ‘रेटिङ’ नभएका कारण ऋण पाउन कठिन भएका बेला वित्तीय क्षेत्रमाथिको आक्रमणले नराम्रो सन्देश जाने केसीको भनाइ छ।
नेपाललाई विदेशी ऋणको आवश्यकता छ। बैंकको ब्याज एकल अंकमा ल्याउन पनि विदेशी ऋण आवश्यक हुन्छ। तर, बैंकमाथि भइरहेको शृंखलाबद्ध आक्रमण नरोकिए ऋण दिन तयार भएर बसेका विदेशी बैंकले हात झिक्ने खतरा हुने उनको भनाइ छ।