पोखरा। नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन कास्की जिल्लाको प्रथम अधिवेशनबाट पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
‘सम्पदा संरक्षण र गन्तव्य पहिचानः पर्यटकीय राजधानी गण्डकीको स्वाभिमान’ भन्ने नाराका साथ स्थापना भएको संगठनको प्रथम अधिवेशनबाट अध्यक्षमा पाण्डेलाई निर्विरोध निर्वाचित गरेको हो।
अधिवेशनले उपाध्यक्षमा गुरुप्रसाद त्रिपाठी, सचिवमा कुलप्रसाद तिवारी, सहसचिव श्याम प्रसाद पौडेल (राजु) र कोषाध्यक्षमा रमेशराज अधिकारीलाई निर्वाचित गरेको छ । यसैगरी सदस्यमा शोभाखर तिवारी, ममता न्यौपाने, अर्जुन सुवेदी, सुनिता पहारी गैरे, शिव थापा, सरस्वती ढुंगाना, सरा बोगटी, विष्णु पहारी, मिठुदेवी लामिछाने, शिवराज अधिकारी, धनप्रसाद गुरुङ र शेरकाजी गुरुङ निर्वाचित भएका छन् ।
कार्यक्रममा हालै मात्र साउथ अमेरिकाको आकान्कागुवा हिमाल आरोहण गरेर फर्किएकी पथप्रर्दशक र हिमाल आरोही महिला मनु गुरुङलाई नेपालको पर्यटनलाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान समेत गरिएको थियो ।
अधिवेशनको उद्घाटन सत्रमा प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले आर्थिक समृद्धिको आधार पर्यटन भएकाले यसको व्यावसायिक प्रवद्र्धनका लागि सबैको साझा सोच र अग्रसरताको आवश्यता रहेको बताए।
उनले कुनै कच्चा पदार्थ बिनानै उद्योग सञ्चालन गर्न सकिने पर्यटन उद्योग भएकाले यहाँ रहेका हिमश्रृंखला, ताल तलैयालगायत प्राकृतिक सम्पदालाई संरक्षण र सम्बद्धनमा गर्नुपर्नेमा जोड दिए । उनले पर्यटनमैत्री नीतिका लागि आफूले पहल गर्ने बताउँदै नेपालको अर्थतन्त्रमा पर्यटनबाट टेवा पुर्याउने गरी पर्यटकीय गतिविधिमा जोड दिन आवश्यक रहेको बताए।
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य देवका पहारीले पर्यटन प्रवद्र्धन र विकासका लागि भइरहेका स्रोत साधनको समुचित प्रयोग गरेर एकिकृत सोचका साथ काम गर्न आवश्यक रहेको बताए। उनले पोखरा पर्यटनको राजधानी भएकाले र अन्तर्राष्ट्रिय विमानस्थल समेत भएकाले व्यवसायिक एकता र पर्यटकीय हवको रूपमा विकास गर्नुपर्ने खाँचो औंल्याए।
कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष केदारनाथ शर्मा, गण्डकी प्रदेश अध्यक्ष चिरञ्जीवी पोखरेल, सल्लाहकार सूर्य भुजेल, उद्योग तथा व्यवसाय राष्टिय महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइराला, नेकपा एमाले जिल्ला सचिव तथा जिल्ला संगठन विभाग प्रमुख बैनबहादुर क्षेत्री, एमाले महानगर कमिटि अध्यक्ष दिलिप न्यौपाने लगायतले पछिल्लो समय पर्यटन क्षेत्रमा देखिएका समस्याका कारण पर्यटन व्यवसायी भोग्नु परेको कठिनाइ, व्यवसायिक हक हित र आगामी दिनमा संगठनले अपनाउनु पर्ने रणनीतिका बारेमा आआफ्नो धारणा राखेका थिए।
संगठनका प्रदेश उपाध्यक्ष जमुना पराजुली, सचिव मिलन तिवारीले संगठनका गतिविधि र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए।