काठमाडाैं। पर्यटन प्रबर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आगामी जेठ २३ देखि २६ सम्म आयोजना हुन लागेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सो अवसरमा हिमालय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि मार्ट कोसेढुंगा बन्नेमा विश्वास व्यक्त गरेकाे पाटा नेपालद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री प्रचण्डले देशमा आर्थिक वृद्धि र अनेकन रोजगारीको अवसरहरु सिर्जना गर्न प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताए। नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रुपमाविकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पाटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उक्त लक्ष्य हासिल गर्नका लागिपूर्वाधार सुधार, सडक विमानस्थल र अन्ययातायात सुविधाको विकास र स्तरोन्नति, आवश्यक नीति सुधार, उड्डयन क्षेत्रको सुदृढिकरण, निजी क्षेत्र र व्यवसायी समुदायलाई प्रोत्साहनका लागि सरकारले काम गरिरहेको सन्देशमा उल्लेख छ।
मार्टका आवश्यक पूर्वतयारी, अन्तर्राष्ट्रिय स्रोत बजारमा प्रचारप्रसार तथा व्यवस्थापन गरिरहेको पाटा नेपाल च्याप्टरका अध्यक्ष विभुतिचन्द ठाकुरले बताए। उनका अनुसार हालसम्म ३० देशका ५० भन्दा बढी क्रेताहरु र २० वटा बिक्रेताहरूले सहभागिताका लागि दर्ता गरिसकेका छन्।