काठमाडौं। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कृषिसँग जोडिएर छुट्टै विश्वविद्यालय स्थापना हुनु आफैंमा गौरवको विषय भएको बताएका छन्।
बिहीबार कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
‘विश्वविद्यालयको कुलपतिको रुपमा पहिलो पटक दीक्षान्त समारोहमा सहभागि हुँदै गर्दा कृषिसँग जोडिएर छुट्टै विश्वविद्यालय स्थापना हुनु आफैंमा गौरवको विषय भएको मैले महसुस गरिरहेको छु,’ प्रधानमन्त्री दाहालले भने ‘विश्वविद्यालय स्थापनाका विभिन्न चरणहरुमा महत्वपूर्ण भूमिका निभाएको हुँदा विश्वविद्यालय स्थापना भैसकेपछि पनि विकास र विस्तारलाई प्राथमिकता दिएको छु।’
उनले वि.सं. २०६७ सालमा स्थापना भएको विश्वविद्यालयले कृषि, पशु चिकित्सा, पशु विज्ञान तथा मत्स्य विज्ञान र वन संकाय मार्फत दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिई राखेको उनको भनाइ छ।
यस्ता तीन वटै क्षेत्र समावेश भई कृषिको समष्ठिगत क्षेत्रलाई समेटिएकाले विश्वविद्यालयको आफ्नो छुट्टै दायरा निर्माण हुनुका साथै कृषि शिक्षाको विकास र विस्तारमा अध्ययन, अनुसन्धान र प्रसारलाई आत्मसात् गरेको पाउँदा खुशी लागेको उनले बताए।
प्रधानमन्त्री दाहालले देशको कृषि उत्पादनमा देखिएका चुनौतीलाई विश्वविद्यालयले आवश्यक अध्ययन गरि यसका वैज्ञानिक, सामाजिक एवं आर्थिक पक्षहरुको विश्लेषण गरी मुलुकमा जनतालाई कृषि पेशा र व्यवसायमा सुदृढीकरण गर्ने जिम्मेवारी विश्वविद्यालयमा रहेको पनि उनले स्पष्ट पारे।
‘संयुक्त राष्ट्र संघले मार्गदर्शन गरेको दिगो विकासको लक्ष्यलाई २०३० सम्म हाँसिल गर्नका लागि विश्वविद्यालयका लक्ष्य, कार्यक्रम र कार्ययोजनालाई तीनै लक्ष्यसँग आवद्ध गर्नुपर्ने हुन्छ। अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा एवं प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्न सक्दा दिगो विकासका लक्ष्य पूरा गर्न सकिने छ’ दाहालले भने।