काठमाडौं। अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टी छाडेका छन्।
पार्टी छाडेको सार्वजनिक घोषणा नगरे पनि उनले पत्रमार्फत आफूले पार्टी छाडेकाे जानकारी दिएका हुन्।
उनले पत्रमा लेखेका छन्, 'कांग्रेसप्रति अपार सद्भावका बावजुद आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न सक्ने अवस्था छैन।'
उनले आफू निगाह कुरेर पनि नबस्ने स्पष्ट पारे। उनले भनेका छन्, 'यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौं।'
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर कांग्रेस छाडेकाे जानकारी समेत दिएका छन्।
यस्ताे छ डा. स्वर्णिम वाग्लेले नेताहरुलाई लेखेकाे पत्र
प्रिय दाइ,
हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।
अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ ।
कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु।
स्वर्णिम