काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार काठमाडौंको कालिमाटीमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको यस कार्यक्रममा करिब ४ सय जनाभन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता थियो ।
यस कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सभिसिङ विभागका प्रमुख सुनिता पोखरेल, प्रदेश प्रमुखहरू सपुत चन्द्र खनाल, पुर्षोत्तम सापकोटालगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरूको बाक्लो उपस्थिति थियो ।
कार्यक्रमको शुभारम्भ संयुक्त रूपमा पानसमा दिप प्रज्वलन गरी नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल र नेसनल सेल्स हेड उमापति पोखरेलले गरेकी हुन् ।
विशेष कारणबस देश बाहिर रहेका यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअली उपस्थित भई माघ महिनाको स्कीमबाट छनोट भएर कार्यक्रममा आएका बिमा अभिकर्ताहरूलाई स्वागत तथा बधाई ज्ञापन गरे। अभिकर्ताहरूको क्षमताको विकास कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्तरूप प्रदान गर्न अन्तर्राष्ट्रिय ख्याति प्राप्त प्रशिक्षकलार्ई कार्यक्रम आयोजना गरिएको बताए।
यस किसिमको कार्यक्रमले बिमा क्षेत्रमा भएका नवीनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरूलाई थप निखार्न महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए।
कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई धन्यवाद ज्ञापन गर्दै यस कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरूको सीप विकास तथा मनोवल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कुरा बताए।