काठमाडौं। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना ‘फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट’ ग्राहक निरन्तर गुमाउँदै गइरहेको छ। विभिन्न कम्पनीले बजार विस्तार गर्ने र नयाँ ग्राहक थप्ने क्रम निरन्तरता दिँदा नेपाल टेलिकमले भने भएका आफ्नै ग्राहक पनि गुमाउँदै गएको छ।
दूरसञ्चार नियामक नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस रिपोर्टअनुसार नेपाल टेलिकमले गएको एक वर्षमा २३ हजार ४ सय १८ इन्टरनेट ग्राहक गुमाएको देखिन्छ। टेलिकमले २०७८ देखि आफ्ना इन्टरनेट ग्राहक निरन्तर गुमाउँदै आएको हो।
२०७६ पुससम्म टेलिकमका इन्टरनेट ग्रााहक २ लाख ३९ हजार २ सय ५८ थिए। २०७७ पुस आइपुग्दा ३९ हजार ४ सय ८० नयाँ ग्राहक थप्दै आफ्नो ग्राहकसंख्या २ लाख ७८ हजार ७ सय ३८ पुर्यायो। त्यसको एक वर्षमा ३० हजार ८ सय १६ ग्राहक थप्दै ३ लाख ९ हजार ५ सय ५४ पुर्यायो।
त्यसयता भने टेलिकमले निरन्तर ग्राहक गुमाउँदै गएको देखिन्छ। २०७८ पुस आइपुग्दा टेलिकमका ग्राहक ३ लाख ९ हजार ५ सय ५४ थिए। तर, एक वर्षपछि २०७९ पुससम्म २३ हजार ४ सय १८ ग्राहक गुमाउँदै २ लाख ८६ हजार १ सय ३६ मा सीमित भएको छ।
टेलिकमले गुमाएको यो संख्या अन्य प्रदायकको तुलनामा सबैभन्दा बढी हो, अर्थात अन्य कुनै पनि सेवा प्रदायक कम्पनीले यो अवधिमा यति ठूलो संख्यामा ग्राहक गुमाएका छैनन्।
यसो त टेलिकमले गत मंसिरदेखि पुससम्म एक महिनामै ३ हजार ३ सय २९ ग्राहक गुमाएको रिपोर्टले देखाउँछ। मंसिरमा २ लाख ८९ हजार ४ सय ६५ ग्राहक रहे पनि एक महिनामा २ लाख ८६ हजार १ सय ३६ मा झरेको छ।
यसरी हेर्दा टेलिकमको इन्टरनेट सेवातर्फका ग्राहकले निरन्तर सेवा त्यागेको देखिन्छ। यसरी सेवा सुविधा र पूर्वधारमा बलियो मानिएका सरकारी कम्पनीले निरन्तर ग्राहक गुमाएर निरीहता प्रस्तुत गरेको भन्दै टेलिकमको आलोचना हुन थालेको छ।
तर, टेलिकम प्रवक्ता शोभन अधिकारी हाल टेलिकम फिक्स्ड ब्रोडब्यान्डअन्तर्गत एडिएसएल हटाउने क्रममा रहेकाले इन्टरनेट ग्राहक केही घटेको देखिएको दाबी गर्छन्।
‘टेलिकमले फिक्स्ड ब्रोडब्यान्डअन्तर्गत हाल एडिएसएल र एफटिटिएच गरी इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ।
जसअन्तर्गत हामी एडिएसएल हटाउने क्रममा छौं,’ प्रवक्ता अधिकारीले क्यापिटल नेपालसँग भने, ‘एडिएसएल हटाउने क्रममा भएकाले त्यसका ग्राहक भने घटेका छन् तर एफटिटिएचमा भने ग्राहक थपिने क्रम जारी छ। तर, यो दुइटा प्लस–माइनस भएर केही घटेको देखिएको मात्र हो।’
उनले नयाँ थपिने क्रम रोकिएको नभएर एडिएसएलको संख्या घटेको भएर ग्राहक केही घटेको देखिएको बताए। एफटिटिएचमा टेलिकमका ग्राहक नघटेको र थपिने क्रम जारी रहेको उनको भनाइ छ।
टेलिकमले इन्टरनेट सेवा केबुल र फाइबर गरी दुई तरिकाबाट उपलब्ध गराउँदै आएको छ। जसमा टेलिकमको फाइबरबाट इन्टरनेट सेवा लिने ७३ हजार ८ सय ३८ छन् भने फाइबरबाट सेवा लिने २ लाख १२ हजार २ सय ९८ छन्। ब्रोडब्यान्ड सेवातर्फ टेलिकमले फिक्स्ड ब्रोडब्यान्ड (वायर) र मोबाइल ब्रोडब्यान्ड गरी दुईप्रकारका इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ।
दूरसञ्चार प्राधिकरणले एक कनेक्सनबराबर ४.३२ ग्राहक संख्या मान्ने गरेको छ। जसअनुसार २ लाख ८६ हजार १ सय ३६ कनेक्सनअनुसार टेलिकमको फिक्स्ड ब्रोडब्यान्ड ग्राहक लगभग १२ लाख ३६ हजार छन्।
जसअन्तर्गत टेलिकमका फिक्स्ड ब्रोडब्यान्डको एडिएसएलबाट सेवा लिने ३ लाख १८ हजार ९ सय ८० र एफटिटिएचबाट सेवा लिने ९ लाख १७ हजार १ सय २८ रहेको प्राधिकरणको रिपोर्टमा उल्लेख छ। त्यस्तै इन्टरनेट लिजलाइनबाट सेवा लिने टेलिकम ग्राहक ९ सय २५ छन्।
टेलिकमको मोबाइल ब्रोडब्यान्डअन्तर्गत पनि थ्रिजी, फोरजी र इभिडिओ गरी तीन किसिमको सेवा लिने ग्राहक छन्। जसअन्तर्गत थ्रिजी ग्राहक ६० लाख ५१ हजार ७ सय ४, फोरजी ग्राहक १ करोड २१ लाख ९७ हजार ३ सय ४४ र इभिडिओ ग्राहक १ लाख ३६ हजार ५ सय ७३ छन्।
टेलिकमको फिक्स्ड ब्रोडब्यान्ड र मोबाइल ब्रोडब्यान्ड गरी दुवैको इन्टरनेट ग्राहक १ करोड ९६ लाख २२ हजार ६ सय ५४ रहेको एमआइएस रिपोर्टमा उल्लेख छ।