काठमाडाैं। सांसदहरुले मिटर ब्याजबाट पीडितहरुको माग सम्बोधन गर्न तत्काल ठोस निर्णय गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बुधबारकाे बैठकमा सांसदहरुले देशका विभिन्न स्थानबाट काठमाडौंमा आई आन्दोलनरत पीडितहरुको न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटर ब्याजपीडितको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै भने, 'न्यायको माग गर्दै पीडितहरु काठमाडौंसम्म आउन बाध्य हुनुहुन्छ। देशभरका अन्य पीडितहरु काठमाडौं आउँदैहुनुहुन्छ भन्ने सुनेको छु। न्याय पाउन काठमाडौं नै धाउनुपर्ने सम्झौता हुने कार्यान्वयन नहुने अवस्थाको अन्त्य हुनुपर्छ। यो न्यायपूर्ण समाजमा स्वीकार्य हुन सक्दैन्।'
सांसद पौडेलले मिटर ब्याजलाई गम्भीर अपराधका रुपमा हेर्न माग गरे। उनले कानुनको मस्यौदा मन्त्रालयमा नै थन्किँदा किसानको घरजग्गा लिलामी भएको बताए।
बैठकमा समय मागेर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एकजना मिटर ब्याज पीडित सिरहादेखि १३ दिनसम्म बच्चा बोकी पैदलै हिँडेर काठमाडौंको आन्दोलनमा आएको कुरा उल्लेख गर्दै उनीहरुको समस्या तत्काल समाधान गर्न सरकासँग माग गरे।
त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मिटर ब्याज पीडितहरुको माग चाँडोभन्दा चाँडो पूरा गरी पीडितहरुलाई न्याय दिन आग्रह गरे। उनले उनीहरुको समस्या बुझ्न जाँदा आफ्नो पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीमाथि दुव्र्यवहार गर्न खोजिएको भन्दै आपत्ति जनाए।
जनता समाजवादी पार्टीका सांसद रन्जुकुमारी झाले मिटर ब्याज पीडितको माग सम्बोधनका लागि सदनबाटै एउटा समिति बनाएर काम थाल्नुपर्ने राय प्रस्तुत गरिन्। उनले भनिन्, 'उहाँहरुको प्रतिनिधि हामी सांसद हाैं, उहाँहरु हामीसँग पीडा पोखिरहनु भएको छ। पीडितको माग पूरा गर्ने सम्बन्धमा संसद्सहितको समिति बनाउन माग गर्दछु।'