काठमाडाैं। ग्लोबल आइएमई बैंकले युवा/विद्यार्थीलाई वित्तीय साक्षरता प्रवर्द्धन गर्दै ग्लोबल मनी विक मनाएकाे छ।
नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिकाअनुसार हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको एघारौं संस्करण सम्पन्न गरेकाे छ। बैंकले चैत्र ६ देखि १२ गतेसम्म सप्ताहव्यापी प्लान योर मनी, प्लान्ट योर फ्यूचरको नारासहित सम्पन्न गरेको हो।
बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ।
अभियानअन्तर्गत बैंकले बैंकिङ सेवा तथा वित्तीय बजारलगायत विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ।
जसअन्तर्गत बैंकका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया सञ्चालन भएका छन्। यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरु पनि प्रसारण गरेको छ।
त्यस्तै युवा/विद्यार्थीलाई बैंकका शाखा कार्यालयको अवलोकन एवम् साक्षात्कार गराउने कार्यक्रमसमेत विभिन्न ठाँउमा आयोजना गरिएको छ।
‘ग्लोबल मनी विक’ सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी मुलकमा सञ्चालन हुँदै आएको छ। किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो।
बैंकले यो अभियान सुरु भएदेखि नै प्रत्येक वर्ष राष्ट्र बैंकको संयोजकत्वमा वित्तीय चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी बैंकिंङ शिक्षाको प्रचारप्रसार गर्दै आएको छ।