काठमाडौं। निजी लगानीमा तमोर नदीमा जलविद्युत आयोजना बन्ने भएको छ। क्रिस्टल पावर डेभलपमेन्ट प्रालिले १ सय ६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजना बनाउन लागेको हो।
आयोजना बनाउन अनुमतिपत्र (लाइसेन्स) लिन कम्पनीले विद्युत विकास विभागमा निवेदन दिएको छ। विभागले पनि क्रिस्टललाई लाइसेन्स दिने प्रक्रिया अघि बढाएको छ।
३५ दिनपछि कम्पनीले आयोजनाको विद्युत उत्पादन लाइसेन्स पाउने छ। त्यसपछि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद-बिक्री सम्झौता (पिपिए) हुनेछ।
पिपिएपछि कम्पनीले आयोजना बनाउन लगानी जुटाउने छ। क्रिस्टलले ६ वर्ष (२०८५वैशाख १३ गते) भित्र विद्युत उत्पादन प्रस्ताव गरेको छ।
नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाबाट वार्षिक ९८ करोड ४१ लाख ३० हजार युनिट बिजुली उत्पादन हुने विकासकर्ता क्रिस्टलले गरेको अध्ययनले देखाएको छ। आयोजनाको डिजाइन बहाब प्रतिसेकेन्ड २५.५ घनमिटर छ। आयोजनाको कूल हेड ७ सय ६९ मिटर अग्लो छ।
आयोजनाको सबै संरचना तमोर नदीको दायाँ किनारमा रहने प्रस्ताव गरिएको छ। हेडवर्क्स ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-७ जोङिगममा प्रस्ताव गरिएको छ।
विद्युत उत्पादनका लागि आवश्यक पर्ने पानीका लागि तमोर नदीमा ५० मिटर लम्बाइ र ११ मिटर उचाइ भएको क्रंक्रिट ग्राभिटी बाँध निर्माण गरिने छ।
विद्युतगृहमा ४३ मेगावाटका चारवटा भर्टिकल एक्सिन पेल्टर्न टर्बाइन जडान गरिने भएको छ। ४९ एमभिए रेटेड क्षमताको जेनेरेटरमार्फत १ सय ६६ मेगावाट बिजुली उत्पादन हुनेछ।
आयोजनाबाट उत्पादन हुने बिजुली २ सय २० केभी क्षमताको ४० किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन बनाइ विद्युत प्राधिकरणले ताप्लेजुङ मौवा खोलामा बनाएको २ सय २० केभी ढुंगेसाँघु सबस्टेसनमार्फत केन्द्रीय प्रणालीमा जोडिने भएको छ।
आयोजना कोशी प्रदेश ताप्लेजुङमा पर्छ। कम्पनीले सुपर तमोरको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्यांकन तयार पारिसकेको छ।