काठमाडाैं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अंकको सुधार देखिएको छ। आज परिसूचक १२ दशमलव ४१ अंकले बढेर एक हजार नौ सय १८ दशमलव ४१ बिन्दुमा कायम भएको हो।
नेप्सेका अनुसार आज दुई सय ५८ वटा कम्पनीको ४० लाख ७७ हजार सात सय ७८ कित्ता सेयर ३५ हजार नौ सय २६ पटक खरिद बिक्री हुँदा एक अर्ब ४४ करोड ३७ लाख १३ हजार आठ सय ७८ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज विकास बैंक, वित्त र निर्जीवन बिमा समूहको उपसूचक क्रमशः ११ दशमलव १४, पाँच दशमलव ४६ र १० दशमलव ३७ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। आज सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक एक सय १५ दशमलव ९१ र उत्पादन समूहको उपसूचक ८१ दशमलव १८ अंकले बढेको छ।
त्यसैगरी, बैंकिंङ समूह तीन दशमलव ७६, होटल तथा पर्यटन समूह १३ दशमलव ७६, जलविद्युत् समूह छ दशमलव ३१ र लगानी समूह शून्य दशमलव ६२ अंकले बढेको छ। आज जीवन बिमा समूह २९ दशमलव ५८, म्युचुअल फन्ड समूह शून्य दशमलव ३३, व्यापार समूह २२ दशमलव ८३ र अन्य समूह सात दशमलव ६२ अंकले बढेको छ।
सुपर माई हाइड्रोपावर लिमिटेड, सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र एसियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा धेरै गिरावट देखिनेमा तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर मूल्य तीन दशमलव १७ प्रतिशतले घटेको छ। कारोबार रकम र सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै आइएमई जनरल इन्स्याेरेन्स लिमिटेडको छ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको एक लाख ५८ हजार एक सय ३३ कित्ता सेयर कारोबार भएको छ।