काठमाडौं। पछिल्लो समय अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ‘चेन होटल’ हरूको नेपाल प्रवेश लहरजस्तै बनेको छ।
खासगरी मुलुकको होटल क्षेत्रमा लगानी बढेसँगै नयाँ बन्ने अधिकांश तारे होटलमा अन्तर्राष्ट्रिय प्रख्यात होटल 'ब्रान्ड' भित्र्याउन प्रतिस्पर्धा नै बढ्न थालेको छ।
चेन होटलको नेपाल प्रवेश बढेसँगै पर्यटन क्षेत्रमा समेत अन्तर्राष्ट्रिय सञ्जाल वृद्धि भइरहेको व्यवसायीहरू बताउँछन्।
अहिले नेपालमा जति पनि तारे, बुटिक होटल वा रिसोर्ट निर्माण भइरहेका छन्, तिनले अधिकांश व्यवस्थापकमा विदेशी ब्रान्ड अर्थात चेन रोजिरहेका छन्।
होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह विदेशी चेन होटलको नेपाल प्रवेशले विश्वभरि निःशुल्क प्रचार भइरहेको बताउँछन्।
जति विश्वविख्यात ब्रान्डका होटल नेपाल प्रवेश गर्छन्, त्यति नै धेरै नयाँ पर्यटक आउँछन्। विभिन्न ब्रान्डका चेन होटल विश्वभरि छरिएकाले पनि उनीहरूको रोजाइमा नेपाल पनि पर्ने गरेको उनी बताउँछन्।
‘विश्वप्रख्यात ब्रान्डका ग्राहक जुनसुकै देश गए पनि त्यही ब्रान्डका होटलमा बस्न रुचाउँछन्,’ उपाध्यक्ष शाह भन्छन्, ‘नेपालमा पनि त्यस्ता होटल चेन प्रवेश गर्नुलाई सकरात्मक लिनुपर्छ।’
नेपालमा सन् १९६५ मा राजपरिवारका सदस्यहरूको अग्रसरतामा पहिलोपटक विदेशी व्यवस्थापकका रूपमा नेपालमा पाँचतारे होटल सोल्टी क्राउन प्लाजा भित्रिएको थिए। बेलायती होटल व्यवस्थापक इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी) ले २६ वर्षसम्म होटल सोल्टी क्राउन प्लाजाको व्यवस्थापन गरेको थियो। जुन अहिले बाहिरिएको छ।
सन् १९५० मा फ्रान्सका मोरिस हर्जोग र लुइस लाचेनले पहिलोपटक अन्नपूर्ण हिमालको सफल आरोहणपछि विश्वभरि नेपालको चर्चा सुरु भएसँगै विदेशीलाई राख्नका लागि राजपरिवारका सदस्यहरूसमेतको स्वामित्वमा होटल सोल्टी खुलेको थियो। हिमाल आरोहणका लागि विदेशीहरू आउन थालेपछि महँगो र सुविधासम्पन्न होटलका रूपमा सोल्टी स्थापना गरिएको थियो। अहिले पनि होटल सोल्टीमा सबैभन्दा बढी सेयर पूर्वराजा ज्ञानेन्द्र शाहको छ।
पञ्चायतकालमा राजपरिवारकै संलग्नतामा दरबारमार्गमा होटल डेल अन्नपूर्ण सञ्चालनमा आएको थियो। जुन अहिले बन्द छ। २०६३ सालसम्म नेपालमा पाँचवटा पाँचतारे होटलमात्र थिए। तर, पछिल्लो समय नेपालमा पाँचतारे होटलसँगै अन्तर्राष्ट्रिय चेन होटलको लहर नै आएको छ।
हाल पाँचतारे होटल संख्या १७ पुगेको छ भने निर्माणाधीन अवस्थाका पाँचतारे होटल संख्या डेढ दर्जनहाराहारी छ। पाँच वर्षभित्र नेपालमा पाँचतारे होटल कम्तीमा ३४ पुग्ने छ। अहिले निर्माण भइरहेका अधिकांश तारे होटलले व्यवस्थापकका रूपमा विश्वप्रसिद्ध ब्रान्ड ल्याउन थालेका छन्।
नेपालमा चेन होटल प्रवेश लामो समयदेखिकै भए पनि त्यसको खास चर्चा र चासो भने काठमाडौं मेरिअट सञ्चालनमा आएदेखि भएको पाइन्छ। एमएस ग्रुपले विश्वप्रख्यात अमेरिकी होटल चेन मेरिअट भित्र्याएसँगै चर्चा सुरु भएको थियो।
काठमाडौं मेरिअटका सञ्चालक शशिकान्त अग्रवालले नेपाल घुम्न आउने विदेशी पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सुविधा दिने उद्देश्यले होटलमा व्यवस्थापक भित्र्याएको बताउँछन्। अन्तर्राष्ट्रिय ब्रान्डलाई व्यवस्थापकका रूपमा ल्याउँदा आफ्नो लगानीसमेत सुरक्षित हुने र व्यवसायमा नयाँपनसमेत आउने भएकाले आफ्नो रोजाई मेरिअट परेको उनको भनाइ छ।
मेरिअट संसारकै सबैभन्दा तीव्र्र गतिमा आफ्नो सञ्जाल फैलाउने होटल चेन ब्रान्डभित्र पर्ने भएकाले पनि त्यहाँ बस्न रुचाउने ग्राहकको रोजाइमा नेपाल पर्नसक्छ भन्ने विश्वास आफूहरूको रहेको उनी बताउँछन्।
अन्तर्राष्ट्रिय ब्रान्डका होटल चेन नेपाल प्रवेशको मोहले नेपालको पर्यटन क्षेत्रलाई ‘भाइब्रेट’ गर्न सघाउ पुर्याउने आइजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठ बताउँछन्। व्यावसायिक घरानादेखि घुम्न रुचाउनेको रोजाइ ब्रान्डमा पर्ने भएकाले पनि अन्तर्राष्ट्रिय चेन होटलले नेपालका लागि ‘पोजेटिभ भाइब’ सिर्जना गर्ने उनको भनाइ छ।
यी हुन् नेपालका अन्तर्राष्ट्रिय चेन होटल
काठमाडौं मेरिअट होटल
२०७६ सालदेखि सञ्चालनमा आएको काठमाडौं मेरिअट पाँचतारे होटल हो। काठमाडौंको ‘प्राइम लोकेसन’ नक्सालमा रहेको यो होटलमा २ सय १४ वटा कोठा छन्। होटलमा अमेरिकी होटल चेन मेरिअटले व्यवस्थापन हेरिरहेको यो होटलका सञ्चालक व्यवसायी शशिकान्त अग्रवाल हुन्। एमएस ग्रुपले ४ अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा ल्याएको होटलले १३ रोपनी क्षेत्रफल ओगटेको छ।
होटलमा आधुनिक स्वीमिङ पुल छ। यहाँ विदेशी राष्ट्र प्रमुख आउँदा बास बस्न मिल्ने ‘प्रेसिडेन्सियल सुइट’ देखि सबै प्रकारका कोठा छन्। यहाँ प्रतिरात न्यूनतम १ सय ५० अमेरिकी डलरदेखि १ हजार ५ सय डलरसम्मका कोठा छन्। त्यस्तै स्पाको पनि सुविधा छ। यहाँ २० वटा सुइट रुम छन्। डिलक्स रुम संख्या धेरै छ। १० तले होटलमा अत्याधुनिक लिफ्ट सिस्टम छ। यहाँ ३ सय सवारीसाधन अट्ने हाड्रोलिक पार्किङ सिस्टम पनि छ।
फेयरफिल्ड मेरिअट
एमएस ग्रुपकै लगानीमा काठमाडौं ठमेलमा अन्तर्राष्ट्रिय चेन होटल फेयरफिल्ड मेरिअट सञ्चालनमा छ। २०७४ सालबाट सुरु भएको फेयरफिल्ड मेरिअट चारतारे होटल हो। यसलाई बजेट होटलका रूपमा पनि लिने गरिन्छ। होटलमा अन्तर्राष्ट्रियस्तरका १ सय १५ कोठा छन्।
तीमध्ये ७१ डिलक्स किङ बेड रुम छन् भने अन्य ४३ डिलक्स टुइन बेड रुम हुन्। कोठामा ४० इन्चका एलइडी टेलिभिजन, रेफ्रिजिरेटरका साथै चिया तथा कफी मेकर पनि छ। एमएस ग्रुपको झन्डै १ अर्ब लगानीमा निर्माण भएको यो होटल व्यवस्थापनको जिम्मा ३० वर्षका लागि मेरिअट चेनले लिएको छ।
ह्यात प्यालेस
काठमाडौं ताहाचलमा २०७८ कात्तिकदेखि पाँचतारे होटल ह्यात प्यालेस अन्तर्राष्ट्रिय चेन ह्यात ब्रान्डमा चलिरहेको छ। गोल्यान ग्रुपको करिब ५ अर्ब लगानी रहेको यो होटलले १० रोपनी क्षेत्रफल ओगटेको छ।
होटलका अध्यक्ष शक्ति गोल्यान हुन्। ह्यात पनि अमेरिकी चेन ब्रान्ड हो। यही ब्रान्डको नेपालमा यो दोस्रो होटल हो। होटलमा १ सय ५३ कोठा छन्। तीनवटा सुइट र १ सय ५० स्ट्यान्डर्ड रुम छन्। जसमध्ये सातवटा रुममा टेरेस सुविधा छ।
भिभान्ता काठमाडौं
चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुर झम्सिखेलमा विश्वविख्यात ताज ब्रान्डको ‘भिभान्ता काठमाडौं’ सञ्चालनमा छ।
२०७५ सालबाट सञ्चालनमा आएको होटलको व्यवस्थापन दक्षिण एसियाकै ठूलो र नमुना हस्पिटालिटी कम्पनी ‘इन्डियन होटल्स कम्पनी लिमिटेड’ (आइएचसिएल) ले सम्हालेको छ। होटलमा १ सय १० कोठा छन्।
अलफ्ट काठमाडौं
काठमाडौं ठमेलमा पाँचतारे होटल अलफ्ट सञ्चालनमा छ। ठमेलको छायादेवी कम्प्लेक्समा विश्वप्रसिद्ध ब्रान्ड मेरिअटले ‘अलफ्ट काठमाडौं ठमेल’ नाम दिएर पाँचतारे होटल सञ्चालनमा ल्याएको हो।
होटलको व्यवस्थापन भारतको चर्चित कम्पनी शान्ति हस्पिटालिटी म्यानेजमेन्टले हेरिरहेको छ। ३ अर्ब रुपैयाँ लगानी भएको यो होटलमा १ सय ६७ कोठा छन्। होटलमा क्यासिनो, बार र रुफटप रेस्टुरेन्टलगायत सुविधा उपलब्ध छ। १५ तले होटलको रुफटपमा निलगिरि स्काइ लाउन्ज छ। अलफ्ट होटलका ब्रान्ड २६ देशका १ सय ४० स्थानमा छन्।
ह्यात रिजेन्सी होटल
अमेरिकी विश्वप्रसिद्ध ब्रान्ड ह्यातको व्यवस्थापनमा करिब ३० वर्षदेखि काठमाडौं बौद्धमा पाँचतारे होटल ह्यात रिजेन्सी सञ्चालनमा छ। होटलमा केही सरकारी स्वामित्वको सेयरसमेत छ।
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका नाममा सञ्चालित यो होटलमा भारतीय व्यवसायी राधेश्याम शर्राफको मुख्य लगानी छ। होटल व्यवस्थापन शर्राफको निधनपछि उनका छोराहरूले हेर्दै आएका छन्।
विराटनगरमा होटल र्याडिसन
सन् २०२४ जनवरीबाट सञ्चालनममा आउने गरी प्रदेश १ को राजधानी विराटनगरमा पाँचतारे होटल र्याडिसन निर्माण भइरहेको छ। सेन्चुरी ग्रुप अफ कम्पनीमातहत रहेको सेन्चुरियन होटलले उक्त ब्रान्ड भित्र्याएको हो। काठमाडौंको होटल र्याडिसन व्यवस्थापन गर्दै आएको समूहले नै उक्त होटल पनि हेर्ने भएको हो।
होटलमा १ सय ४० कोठासँगै स्विमिङ पुल, जिम, स्पा, १० हजार बर्गफिटको विशेष प्रकारको रेस्टुरेन्ट तथा ब्यांक्वेट र क्यासिनो पनि हुनेछ। ३ अर्ब लगानी रहने होटलका सञ्चालक व्यवसायी मोतिलाल दुगड हुन्।
हिल्टन डबल ट्री
व्यावसायिक घराना शंकर ग्रुपले काठमाडौं नक्सालमा पाँचतारे होटल हिल्टन डबल ट्री निर्माण गरिरहेको छ। जगदम्बा हस्पिटालिटी ग्रुप प्रालिले निर्माण गरिरहेको होटल अन्तर्राष्ट्रिय होटल चेन ‘हिल्टन’ को व्यवस्थापनमा सञ्चालन हुनेछ।
होटल सन २०२३ वा २०२४ सम्म सञ्चालनमा आउने छ। १ सय ७४ कोठा रहेको होटल २०१८ बाट निर्माण थालिएको थियो। होटलको लागत बढेर ६ अर्ब ६८ करोड ३० लाख रुपैयाँ पुग्ने जगदम्बा हस्पिटालिटीको अनुमान छ। होटल व्यवस्थापन जिम्मेवारी लिने विषयमा जगदम्बा हस्पिटालिटी र बेलायतको हिल्टन वल्र्डवाइड म्यानेजमेन्ट लिमिटेडबीच सम्झौता भइसकेको छ।
यसमा हिल्टन वर्ल्डवाइड इन्कर्पोरेटेड अमेरिकाको स्वामित्व छ। अमेरिकी हस्पिटालिटी कम्पनी हिल्टनले विश्वका १ सय १८ देशमा ६ हजार २ सय १५ होटल तथा ९ लाख ८३ हजार ४ सय ६५ कोठा व्यवस्थापन गरिरहेको छ। होटलमा शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालको सतप्रतिशत लगानी छ।
शेराटन
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेको पाँचतारे होटल ‘शेराटन काठमाडौं’ निर्माणको अन्तिम चरणमा पुगेको छ।
होटल डिजाइनको काम सिंगापुरको कम्पनीले गरेको छ भने निर्माण नेपाली कम्पनी टुन्डी कन्स्ट्रक्सनले गरिरहेको छ। १२ अर्बभन्दा बढीको लागतमा होटल निर्माण भइरहेको छ। यो नै नेपालको अहिलेसम्मकै सबैभन्दा महँगो लागतमा निर्माण हुने होटल हुनेछ।
बेसमेन्ट बाहेक १७ तला रहेको होटलमा २ सय २० कोठा हुनेछन्। होटलमा चार रेस्टुरेन्ट, स्पा, स्विमिङ पुल, फिटनेस सेन्टरलगायत सुविधा हुनेछन्। होटलको व्यवस्थापन स्टारवुडले लिने छ। घलेले शेराटन ब्रान्डमा विश्वव्यापी चेन बनाएको स्टारवुड कम्पनीसँग साझेदारी गरिसकेका छन्।
मेक्योर
फ्रान्समा मुख्यालय रहेको होटल व्यवस्थापन समूह ‘एकोर’ ले काठमाडौं सुकेधारामा रहेको पाँचतारे होटल ‘द मेट्रोपोलिटन‘ को व्यवस्थापन सम्हालेको छ। २०२३ भित्र सञ्चालनमा आइसक्ने गरी निर्माण भइरहेको होटलमा ३ अर्ब रुपैयाँभन्दा बढि लगानी हुने सञ्चालक देशबन्धु बस्नेत (अजित) को भनाइ छ।
विश्वप्रसिद्ध होटल व्यवस्थापन समूह एकोरको नेपालमा यो पहिलो प्रवेश हो। १ सय ५ कोठा रहेको १० तला अग्लो मेट्रोपोलिटनमा रेस्टुरेन्ट, कन्फ्रेन्स हल, जिम, सौना, स्विमिङ पुल, ब्यांक्वेट हललगायत सबै सुविधा उपलब्ध हुनेछन्।
५५ वर्षअघि सन् १९६७ मा स्थापना भएको होटल व्यवस्थापन समूह एकोरले हाल संसारका १ सयभन्दा बढी देशमा ५ हजार ३ सयभन्दा धेरै होटलमा व्यवस्थापन हेरिरहेको छ। एकोरले लक्जरी, प्रिमियम, मिडस्केल र इकोनोमी गरी चार वर्गमा होटल व्यवस्थापन गर्दै आएको छ।
फरेस्ट इन
काठमाडौं बूढानीलकण्ठमा निर्माणाधीन पाँचतारे होटल फरेस्ट इन अन्तिम चरणमा छ। २०२३ भित्रै सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको होटलले अन्तर्राष्ट्रिय होटल ब्रान्डका लागि इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी) सँग लाइसेन्स सम्झौता गरेको छ।
होलिडे इन एक अमेरिकी मिडस्केल होटल चेन हो। होलिडे इन होटल एन्ड रिसोर्ट ब्रान्डले १ हजार १ सय ९२ होटल सञ्चालन गर्छ। लाइसेन्स सम्झौताअन्तर्गत होलिडे इन होटल एन्ड रिसोर्टले यसको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सहयोग गर्ने छ।
१ लाख ४२ हजार ७ सय ८३ वर्गफिट क्षेत्रफलमा फैलिएको होटलमा १ सय १५ कोठा हुनेछन्। तीमध्ये १ सय ३ डिलक्स, ६ सुइट र ६ किङसाइज कोठा हुनेछन्।
२ अर्ब ५९ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको होटलका सञ्चालक सांसदसमेत रहेका दीपक खड्का हुन्। होटलमा फुड एन्ड बेभरेज सेवाका साथै क्यासिनो, स्विमिङ पुल, ब्यांक्वेट हल, रेस्टुरेन्ट, कन्फ्रेन्स हल र स्पालगायत सुविधा रहनेछन्।
सौराहामा रोयल टुलिप
चितवन सौराहामा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप’ सञ्चालनमा आउँदैछ। हस्पिटालिटी व्यवसायमा विश्वबजारमा सफलता हासिल गरिरहेको बहुराष्ट्रिय फ्रान्सेली समूह लुभ्र होटल्ससँगको ब्रान्ड सहकार्यमा रिसोर्ट सञ्चालनमा आउने भएको हो।
केटिएम हस्पिटालिटी नेपालका अध्यक्ष रामेश्वर साहको लगानी रहेको रिसोर्टमा ८५ करोडभन्दा बढी लगानी हुनेछ। करिब ३४ रोपनी क्षेत्रमा बनाइएका २२ वटा भवनमा सुइटलगायत पाँच प्रकारका विविध सुविधासहित ६४ कोठा हुनेछन्।
रिसोर्टमा आगन्तुकले डुंगा सयर, जलमहल बास, स्विमिङ पुल, हेल्थ क्लब, स्पा, चिल्ड्रेन पार्क, एमपी थिएटर, पदयात्रा मार्ग, आफ्नै बेकरीसहितको ग्रिल बार र रेस्टुरेन्टजस्ता सेवा पाउनेछन्। रिसोर्ट २०८० साल भित्र सञ्चालनमा आइसक्ने छ।
दुसित थानी रिसोर्ट
काभ्रेको पर्यटकीय गन्तव्य धुलिखेलमा पौने २ अर्ब लगानीमा पाँचतारे स्तरको ‘दुसित थानी रिसोर्ट‘ सञ्चालनको तयारीमा छ। थाइल्यान्डको हस्पिटालिटी गु्रप ‘दुसित थानी’ को ब्रान्डमा रिसोर्ट व्यवस्थापन तथा सञ्चालन हुने भएको हो।
ओम्स्टोन एसिया क्यापिटल (नेपाल) प्रालि (ओएसिपिएल) ले उक्त रिसोर्टमा लगानी गर्न लागेको हो। ओएसिपिएलका प्रमुख लगानीकर्ता विष्णु मोर हुन्। धुलिखेलमा रिसोर्ट निर्माण गर्न मोरले नेपालका रमेश हमाललाई साझेदार बनाएका छन्।
अन्तर्राष्ट्रिय होटल चेन दुसित थानीको फ्रेन्चाइजका रूपमा २०२३ भित्र धुलिखेलमा उक्त रिसोर्ट सञ्चालनमा आउने छ। रिसोर्ट हाल निर्माणाधीन छ। रिसोर्ट व्यवस्थापन हेर्न ओएसिपिएलले दुसित थानीसँग १० वर्षको सम्झौता गरेको छ। बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक लक्ष्य गरी २०१८ बाट रिसोर्ट निर्माण भइरहेको छ।
दुसित प्रिन्सेस
ल्हासा इन्टरनेसनल प्रालिले काठमाडौं लाजिम्पाटमा पाँचतारे होटल ‘दुसित इन्टरनेसनल‘ निर्माण अन्तिम चरणमा पुगेको छ। थाइल्यान्डको मल्टिनेसनल हस्पिटालिटी कम्पनी ‘दुसित इन्टरनेसनल‘ ले व्यवस्थापन लिएको छ।
२०२३ भित्र सञ्चालनमा ल्याउने गरी निर्माण अघि बढेको होटलमा १ सय ८ कोठा हुनेछन्। विषेशगरी विदेशी पर्यटक लक्ष्य गरी निर्माण भइरहेको होटल लक्जरियस हुनेछ। बौद्ध संस्कृति झल्को दिने गरी होटलको भित्रि सजावट भइरहेको होटलमा करिब १ अर्ब ५० करोड रुपैयाँ लगानी गरिएको छ।
होटलमा दिनभरि सञ्चालन हुने डाइनिङ रेस्टुरेन्ट, आउटडोर स्विमिङपुल र पुल बार सुविधा हुनेछ। त्यस्तै रुफटप लाउन्ज बार, फिटनेस सेन्टर, स्पा र मिटिङका लागि उपयुक्त हल पनि रहने छ। ६५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा विश्वस्तरीय एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको दुसित इन्टरनेसनलको हाल १८ देशमा २९ होटल तथा रिसोर्ट सञ्चालनमा छन्।
मुस्ताङमा ‘सिन्तामणी’
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त होटल ब्रान्ड सिन्तामणीले यती वल्र्ड ग्रुपको सहायक कम्पनी शेर्पा हस्पिटालिटीमार्फत मुस्ताङ जोमसोममा सञ्चालित मोक्ष मुस्ताङ रिसोर्टको व्यवस्थापन सुरु गरेको छ।
सिन्तामणी विश्वबजारमा जंगलबीचमा महँगो होटल सञ्चालन गरेर ख्याति कमाएको ब्रान्ड हो। १ अर्ब १० करोड रुपैयाँ लगानीमा निर्माण भई सञ्चालनमा रहेको उक्त रिसोर्टको व्यवस्थापन सिन्तामणीले सुरु गरेको हो। यो ब्रान्डले खर्चालु पर्यटक लक्ष्य गरी निर्माण गरिएका होटल तथा रिसोर्ट व्यवस्थापन सम्हाल्दै आएको छ।
जोमसोमको मोक्ष होटलमा लक्जरी होटल ब्रान्ड सिन्तामणी भित्रिएपछि यसको मूल्य पनि बढेको छ। अमेरिकी आर्किटेक्ट बिन्सेलीले सिन्तामणी होटल ब्रान्ड सुरु गरेका हुन्। २९ कोठा रहेको रिसोर्ट २ हजार ७ सय मिटर उचाइमा छ।
मोक्सी होटल
एमएस समूहको चारतारे होटल मोक्सी मेरिअट निर्माण जारी छ। काठमाडौं कमलादीमा निर्माण भइरहेको होटलको लगानी १ अर्ब रुपैयाँ छ। तीन वर्षभित्रै होटल सञ्चालनमा आइसक्ने सञ्चालक शशिकान्त अग्रवालले जानकारी दिए। मोक्सी मेरिअटअन्तर्गत मोक्सी ब्रान्डमा आधारित छ।
दुई रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको होटलको डिजाइन स्पेनी आर्किटेक्टले तयार पारेका छन्। चारतारे स्तरको होटलमा १ सय कोठा रहनेछन्। मेरिअटकै ब्रान्ड मोक्सी विशेषगरी युवावर्ग तथा विदेशी पाहुना लक्षित हो। सञ्चालन पनि मेरिअटले नै गर्ने छ। फेन्सी तथा रमाइलो चाहने युवावर्ग लक्षित यो होटलमा ड्रमसेट म्युजिक चलिरहन्छ। यहाँ प्रवेश गर्नेबित्तिकै अरू होटलमा जस्तो रिसेप्सन हुँदैन। यसको सट्टा बार हुन्छ। युवा वर्गकै लागि भनेर कोठामा कपडा राख्ने दराज नराखी डोरी टाँगिने छ।
क्राउन इम्पेरियल
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त हस्पिटालिटी ब्रान्ड ‘इन्टरकन्टिनेन्टल होटल्स ग्रप' (आइएचजी) ले काठमाडौं रविभवनमा क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ। चारतारे डिलक्स होटल अर्किड होल्डिङ्सले निर्माण गरेको १६ तले होटलमा १ सय ३१ कोठा छन्।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) परिसरमा रहेको आठ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलको लागत ७० करोड रुपैयाँ छ। होटलमा १ सय १० कोठामध्ये एउटा प्रेसिडेन्टल र १२ सुइट रुम छन्। होटलमा स्विमिङ पुलसहित स्पा, स्पोर्ट्स सेन्टर रहने छ। आइएचजीले सिक्स्थ सेन्स, इन्टरकन्टिनेन्टल होटल्स एन्ड रिसोर्ट, क्राउन प्लाजा, होलिडे इन, होलिडे इन रिसोर्ट, होलिडे इन एक्सप्रेस ब्रान्डमार्फत दक्षिण पश्चिम एसियामा ४१ होटल सञ्चालन गरिहेको छ।
आइएचजीले विश्वभरि १९ ब्रान्डमा होटल सञ्चालन गरिरहेको छ। १ सय देशमा आइएचजीका ६ हजार होटल सञ्चालनमा छन् भने १ हजार ८ सय होटल सञ्चालनको तयारी छ।