काठमाडौं। अमेरिकी सहयोग नियोगअन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसिए) नेपालले दुईवटा बोलपत्रको म्याद थप गरेको छ। तीन खण्डमा निर्माण हुने प्रसारण लाइन र सबस्टेसन निर्माण सुपरीवेक्षणका लागि परामर्शदाता नियुक्त गर्न आह्वान गरेको बोलपत्रको म्याद थप गरेको हो।
एमसिए नेपालले गत माघ ४ गते (सन् २०२३ जनवरी १८) परामर्शदाता छनौटका लागि अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरेको थियो। ठेक्का आह्वान हुँदा इच्छुक इन्जिनियरको टिमले फागुन २५ (मार्च ९) सम्म आवेदन दिनुपर्ने उल्लेख थियो। तर, ठेक्का प्रक्रियामा म्याद थप गरेर अहिले चैत १६ (मार्च ३०) सम्म आवेदन दिन मिल्ने बनाइएको एमसिए नेपालले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।
त्यस्तै गत मंसिर १२ गते (२०२२ नोभेम्बर २८) प्रसारण लाइन निर्माणका लागि ठेक्का आह्वान भएको थियो। त्यसबेला चैत १३ (मार्च २७) सम्म रहेको म्याद नसकिँदै फेरि थप भइसकेको छ। थपिएको म्यादअनुसार प्रसारण लाइन निर्माण गर्न इच्छुक कम्पनीले २०८० वैशाख ४ (अप्रिल १७) सम्म आवेदन दिन सक्नेछन्।
एमसिए नेपालले तीन प्याकेजमा प्रसारण लाइन निर्माणका लागि एकैचोटि ठेक्का अह्वान गरेको छ। जसअनुसार लप्सीफेदी–रातमाटे–हेटौंडा १ सय १७ किलोमिटर, रातमाटे–न्युदमौली ९० किलोमिटर र न्युदमौली–भारत सीमासम्म १ सय ८ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछन्।
तीन प्याकेजको प्रसारण लाइन निर्माण गर्न कम्तीमा दुइटा वा आवश्यक देखिए तीनवटै कम्पनी छनौट हुने एमसिए नेपालले जनाएको छ। एउटै निर्माण कम्पनीसँग ठेक्का सम्झौता गर्दा निर्माण कार्य सुस्त भए वा कम्पनीले काम गर्न नसकेको अवस्थामा समग्र आयोजनामा असर पर्ने भएकाले हरेक ठेक्कामा छुट्टाछुट्टै कम्पनीसँग ठेक्का सम्झौता गर्ने नीति एमसिए नेपालको छ।
नेपालमा निर्माण हुने अन्य आयोजनाका ठेक्का आह्वान सार्वजनिक खरिद अनुगमन कार्यालयमार्फत हुन्छ। तर, एमसिए नेपालले कार्यालयमार्फत नभई आफैंले ग्लोबल टेन्डर आह्वान गरेको हो।
पहिलोपटक तोकिएको म्याद बाँकी हुँदै बीचमा म्याद थप हुनुको कारणबारे एमसिए नेपालले प्रष्ट पारेको छैन। एमसिए नेपालका एक अधिकारीलका अनुसार सुरुको म्याद कम भएर कम्पनीहरूले आवेदन दिन नसक्ने अवस्था, भाषागत प्रक्रिया नमिलेको वा बोलपत्रमा अन्य कमजोरी देखिएको अवस्थामा म्याद थप हुन्छ।
‘हामीले उसै म्याद थप गर्दैनौं, केही कारण हुन्छन् र म्याद थपिन्छ,’ ती अधिकारीले क्यापिटल नेपालसँग भने, ‘यो नयाँ विषय पनि होइन, नियमित प्रक्रिया जस्तै हो।’
उनका अनुसार आवश्यक परेको अवस्थामा अन्य आयोजनाको ठेक्का आह्वानमा समेत म्याद थप हुनेछ। ‘परामर्शता नियुक्त गर्न धेरै समय नलाग्ने भएर म्याद थप्दा थोरै समय थपिएको हो। प्रसारण लाइन निर्माण प्रक्रिया लामो हुँदा म्याद पनि अलि बढी थपिएको छ,’ उनले भने।
त्यसबाहेक एमसिए नेपालले चैत १० गते तीन लटमा पाँच ठूला सबस्टेसन निर्माणका लागि ठेक्का आह्वान गरेको छ। ग्लोबल टेन्डरमा सहभागी हुन निर्माण कम्पनीले असार ३० (जुन ३०) सम्म आवेदन दिन सक्नेछन्।
पाँच ठूला सबस्टेसन बनाउन ११ करोड ४० लाख अमेरिकी डलर लाग्ने अनुमान विकासकर्ता एमसिएको छ। सबस्टेसनका लागि थोरै जग्गा आवश्यक पर्ने भएकाले अधिग्रहणको काम पनि सकिएको छ। रातमाटे, दमौली र बुटवल गरी तीन स्थानमा सबस्टेसन निर्माण हुनेछ।
प्रसारण लाइन, सबस्टेसन, सडक, परामर्शदातालगायत अन्य कामका लागि कूल ६३ करोड डलर (करिब ७० अर्ब रुपैयाँ) लाग्ने छ। जसमध्ये एमसिसीले ५० करोड डलर (करिब ५५ अर्ब रुपैयाँ) अनुदान दिएको छ। बाँकी १३ करोड डलर (करिब १५ अर्ब रुपैयाँ) नेपालको लगानी हुनेछ।