काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठले बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा २० प्रतिशतभन्दा धेरै नाफा खाएको बताएका छन्।
लुम्बिनी प्रदेश कपिलवस्तुस्थित चन्द्रौटामा आयोजित ‘लथालिङ्ग अर्थतन्त्र कसले गर्नेव्यवस्थापन’ विषयक कार्यक्रममा श्रेष्ठले हाल अर्थतन्त्र समस्यामा रहको भन्दै सुधार गर्न सरकारले तत्काल ध्यान दिनुपर्ने बताए।
सरकारी खर्च कम हुँदा बजारमा तरलता अभाव भएको र उद्योग–व्यवसाय नै धराशयी हुँदा पुँजी निर्माण गर्न कठिन भएको उनको भनाइ छ। बैंकले उद्योगीसँग लिएको प्रिमियम ब्याजदर ज्यादै धेरै भएको भन्दै त्यसलाई तत्काल घटाउन उनले माग गरे।
‘उद्योगी–व्यवसायीलाई नाफामा २० प्रतिशतभन्दा धेरै लिन नपाइने भन्दै दशकौं पुरानो कालोबजारी ऐन लागू गरेर दुःख दिइन्छ,’ श्रेष्ठले भने, ‘तर, बैंकले ब्याजदरमा ६० प्रतिशतसम्म प्रिमियम लिँदा सरकार र नियामकले वास्ता गर्दैनन्।’
निजी क्षेत्रले अर्थतन्त्रमा उच्च योगदान दिएको र भूमिका बढिरहेका बेला निजी क्षेत्रले अधिकार खोसेरै लिनुपर्ने अवस्था देखिएको उनको भनाइ छ। आफूले लुम्बिनी प्रदेशमा लगानी विस्तार गरिरहेको भन्दै पूर्वाधार क्षेत्रमा लगानी गरेको र अटोमोबाइल एसेम्बल उद्योग स्थापना गर्ने योजना रहेको श्रेष्ठले बताए।
महासंघमा आफूले लामो समयदेखि योगदान दिएको भन्दै श्रेष्ठले अब नेतृत्व गर्ने पालो आएको बताए। ‘म युवा छु तर संस्थागत संलग्नता लामो समय भएको छ। यसले मलाई परिपक्व बनाएको छ र सोही अनुभवका आधारमा नेतृत्वमा दाबी गरेको हुँ,’ श्रेष्ठले भने।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले मुलुकको पुँजी निर्माणमा निजी क्षेत्रको योगदान उच्च रहेको भन्दै यसलाई कसरी गतिशील बनाउने भन्नेमा राज्य लाग्नुपर्ने बताए।
‘पुँजी निर्माणमा निजी क्षेत्रको योगदान ७५ प्रतिशतभन्दा धेरै छ र सरकारको योगदान न्यूनमात्र छ,’ उनले भने, ‘त्यसले देशको पुँजी निर्माणमा योगदान गर्ने निजी क्षेत्रलाई कसरी चलायमान बनाउने भनेर सरकारले हेर्नुपर्दछ।’
सरकारले अर्थतन्त्र सुदृढ गर्न आफ्नो मौज्दातबाट समेत खर्च गर्नुपर्ने भन्दै उनले राजस्व र साधारण खर्चमात्र हेर्न नहुने बताए। ‘अहिले तीनै तहका सरकारसँग ३ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ। यो रकमबाट सरकारले खर्च गर्न सक्दछ र अर्थतन्त्र सुधार भएपछि त्यसबाट पूर्ति गर्न सक्दछ,’ उनले भने।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आर्थिक समस्या वा मन्दीबाट नेपालमा कसैले नसिकेको वा सुधार गर्न नचाहेको बताएका छन्। उनले विश्वमा ठूला आर्थिक मन्दीबाट सबै देशले सिके पनि नेपालमा कहिले पनि सिक्न र सुधार गर्न नसकिएको उनको भनाइ थियो।