हाल विश्वमा देखिएको आर्थिक मन्दीको असर प्रत्यक्षरूपमा नेपालमा पनि देखिएको छ। नेपालमा परेको असरले यहाँका सबै व्यवसाय र क्षेत्रका साथमा मोबाइल फोन व्यवसायलाई पनि असर पु¥याएको छ। आर्थिक संकटका कारण मोबाइल व्यवसायमा पनि मन्दी लागेको छ।
हाल मोबाइल बजार लगभग ठप्प अवस्थामा छ। लामो समयदेखि मोबाइल व्यवसायमा छाएको सुस्तताले व्यवसायीमा तरङ्ग पैदा गरेको छ। व्यवसायीलाई बैंकको ऋण तिर्न कठिन भएको छ भने घरभाडा तिर्न र कर्मचारी व्यवस्थापन गर्न असहजपूर्ण अवस्था छ।
कोरोना महामारीको समयमा अनलाइन कक्षा सञ्चालन गर्नेलगायत केही कुराले गर्दा मोबाइल बजारलाई ठूलो असर गरेको थिएन। ‘लकडाउन’ को समयमा बजार ठप्प भए पनि त्यसपछिको समयमा मोबाइल व्यवसायमा त्यस्तो ठूलो असर गरेको थिएन।
कोरोना महामारीमा, जतिबेला लकडाउन भयो त्यो समयमा भने हाम्रो ताम्राकार कम्प्लेक्ससहित सहरका सबै व्यवसायी लगभग विस्थापित नै हुनुपर्ने अवस्थामा पुगेका थिए।
समयमा विशेषगरी घरभाडा बढी भएका कारण व्यवसायीलाई कठिनाइ सिर्जना भएको थियो। तर, लकडाउनको दुई÷तीन महिनाबाहेक अन्य समयमा घरबाट अनलाइन कक्षाका साथमा अन्य कार्य गर्न पनि ‘ग्याजेट’ आवश्यक पर्ने भएकाले मोबाइल व्यवसाय राम्रै मात्रामा थियो। तर, हालको अवस्था भने त्यसभन्दा निकै कठिन रहेको छ।
अहिले सामान्य र अघिपछिको तुलनामा मोबाइल आयात पनि निकै कम भइरहेको छ। जसरी पहिले विभिन्न ब्रान्डले बजारमा लगानी गर्दथे, त्यो अवस्था अहिले छैन। पहिले विज्ञापन, ब्रान्डिङमा जसरी मोबाइल कम्पनीले खर्च गर्दथे।
तर, अहिले सबै ब्रान्डले यी कुरा कटौती गरेको अवस्था छ। यो गर्नुका पछाडि पनि बजार अवस्था नै जोडिएको छ। हाल मोबाइल बिक्री वितरण ह्वात्तै घटेको छ। बिक्री घटेपछि आयात नघटाउने र नघट्ने कुरै भएन।
प्रयोगकर्ताका हातमा मोबाइल फोन गयो भने आयात पनि बढ्ने हो, तर प्रयोगकर्ताले नै मोबाइल किनेर चलाउन सक्ने अवस्था नभएपछि व्यवसायीले आयातमात्र गरेर राख्ने कुरा भएन र हुँदैन पनि। यसरी बजारमा बिक्री अवस्था र आयात अवस्था हेर्दा नेपाली मोबाइल व्यवसायमा मन्दी छाएको छ।
अहिलेको सन्दर्भमा नेपालमा २० हजारदेखि ४० हजार मूल्यसम्मका मोबाइल बढी प्रयोग भएको पाइन्छ। मानिसले मोबाइलमा टिकटक बनाउने तथा अन्य सामाजिक सञ्जाल प्रयोग गर्ने भएकाले अन्य फोनको तुलनामा स्मार्टफोन बढी बिक्री हुनु स्वाभाविक हो। यसै सन्दर्भमा व्यापार अवस्था हेर्दा अहिले आइफोनको व्यापार पनि बढिरहेको छ।
सामान्य अवस्थामा जस्तो बिक्री वितरण त अहिले कुनै ब्रान्डका मोबाइल पनि भएका छैनन्, तर अहिले जे जति मात्रामा भइरहेको छ, त्यसलाई हेर्दा आइफोनको व्यापार तुलनात्मकरूपमा अरूभन्दा बढी भइरहेको छ। यसका साथमा सामसङ, रियलमी, एमआईलगायत फोन हाल प्रयोगकर्ताले बढी रुचाइएको पाइन्छ। २० देखि ४० तथा ५० हजार सम्मका मोबाइलका साथमा आइफोन प्रयोगकर्ताले रुचि राखेको देखाए पनि किन्न सक्ने अवस्था नरहेका कारण बजार लगभग ठप्प अवस्थामा छ।
अहिले मोबाइल बजारलाई ब्याजदरको कुराले विशेष असर पु¥याएको छ। हिजो आठ प्रतिशत ब्याज तिर्नुपर्ने मानिसले अहिले १५÷१६ प्रतिशत तिर्नुपर्ने अवस्था छ। ब्याजदर बढी तिर्नुपर्ने अवस्थामा मानिसको आम्दानी भने लगभग ५० प्रतिशत घटेको छ।
हिजो २ लाख कमाउने मानिसले १ लाख कमाउन नसकेको अहिलेको अवस्थामा ब्याज भने १ लाख तिर्नुपर्ने ठाउँमा २ लाख तिर्नुपरेको छ।
त्यस्तै घरभाडा, कर्मचारी व्यवस्थापन पनि हालका मोबाइल व्यवसायीका चुनौतीका रूपमा देखापरेका छन्। अन्तर्राष्ट्रियरूपमा हेर्दा पनि हाल आर्थिक संकट देखिएकै अवस्थामा छ। त्यस्तै नेपालको कुरा गर्दा घरभाडा तिर्नसमेत नसक्ने अवस्थामा व्यवसायी छन्।
हाल कोरोना महामारी र त्यसपछि रुस–युक्रेन युद्धले विश्वमै आर्थिक समस्या देखिएको भन्ने कुरा छ, यसकारण पनि नेपालजस्तो रेमिट्यान्समा चल्ने सानो देशमा झन् बढी यसको असर देखिनु स्वाभाविक हो।
उद्योगधन्दा केही नभएको हाम्रो देशमा सेयरबजार घटेको अवस्थामा छ। त्यस्तै घरजग्गाको कारोबार पनि ठप्प अवस्थामा छ। हिजो सेयरमा १ करोड लगानी गरेका मानिस अहिले ५० लाखमा झरेर बसिरहेका छन्। यदि १ करोडको सेयर बढेर २ करोड हुने हो भने सुरुमा मानिसले मोबाइल किन्थ्यो।
तर, त्यो अवस्था छैन। अहिले खानका लागि पनि धौधौको अवस्था छ। अझ यो अवस्था २०८०/८१ सालमा पनि जारी रहने विश्लेषण बैंकका विज्ञ तथा अर्थविदले बताउँदै आएका छन्। यो अवस्थामा सरकारले विशेष पहल गरेर अर्थतन्त्र सुधार गरी व्यवसायीका गुनासो समाधान गर्दै अगाडि जानुपर्ने मैले देखेको छु।
हाम्रो व्यवसाय भनेको सम्पूर्ण व्यापार व्यसायीको एउटा च्यानल हो, यसमा एउटा च्यानल ब्रेक भएपछि सबै व्यापारलाई असर पुग्छ। हाल सोही अवस्थामा हामी छौं।
अहिलेको अवस्था मध्यनजर गर्दै सरकार एकदमै गम्भीर हुनुपर्ने अवस्था मैले देखेको छु। सरकारले अहिले गम्भीर भएर व्यवसायीका हकहितका लागि, व्यवसायीको संरक्षणका लागि केही न केही महत्वपूर्ण कदम चाल्नुपर्ने अवस्था छ।
सरकारले अहिले ब्याजदर घटाउने देखि लिएर नीतिगत सुधारका विषयमा ध्यान दिएर अर्थतन्त्रका सूचकलाई सुधार गर्न जोड दिनुपर्छ। दिनदिनै व्यवसाय धराशयी भएर जाने, व्यवसायी र आमनागरिकमा आर्थिक बोझ बढ्दै जाने कुरा कसैका लागि पनि राम्रो होइन। नेपालको राजनीतिक पाटोको कारणले पनि यी समस्यामा थप जटिलता थपिने काम भएको छ, जुन हुनुहुँदैन भन्ने मेरो मान्यता हो।
सबैभन्दा पुरानो ताम्राकार कम्प्लेक्सकै व्यापार ठप्प अवस्थामा
ताम्राकार कम्प्लेक्स नेपालको सबैभन्दा पुरानो कम्प्लेक्स हो। अहिले यहाँ लगभग १ सय पसल छन्। यस कम्प्लेक्समा नेपालमा आउने लगभग सबै ब्रान्डका मोबाइल सामसङ, आइफोन, एमआई, रियलमी, भिभो, ओप्पो, वानप्लसलगायत उपलब्ध छन्।
यस कम्प्लेक्समा मोबाइल बिक्री, मोबाइल एक्सचेन्ज र मर्मतको काम सबै हुन्छ। यहाँका लगभग सबै पसलमा सर्भिस सेन्टर छन्। पछिल्लो चरणमा हाल यस कम्प्लेक्समा ल्यापटप पनि उपलब्ध हुन थालेको छ।
पहिले ग्राहक ल्यापटपका लागि पुतलीसडक वा अन्य ठाउँमा पुग्नुपर्ने स्थिति थियो भने हाल यही कम्प्लेक्समा नै विभिन्न ब्रान्डका ल्यापटप उपलब्ध छन्। ल्यापटप व्यवसाय पनि वृद्धि हुँदै जाँदा यो एउटा मल्टिकम्प्लेक्सका रूपमा विकसित हुँदै गएको छ।
हाल कम्प्लेक्समा मुख्यगरी सामसङ, आइफोन, रियलमी, वानप्लस, रेडमी, भिभो, ओप्पोजस्ता ब्रान्डका मोबाइल बढी मात्रामा बिक्री हुने गरेका छन्।
नेपालमा जति पनि मोबाइल बिक्री हुन्छ, त्यसको लगभग ६० प्रतिशत हिस्सा ताम्राकार कम्प्लेक्समा छ। तर, यस्तो ठाउँमा पनि हाल व्यापार ठप्पजस्तै अवस्था छ। सधैं भीड हुने ठाउँमा अहिले कुनै चहलपहल देखिँदैन। यसबाट पनि हामीले अनुमान लगाउन सक्छौं कि हाल नेपालको मोबाइल व्यवसायको अवस्था कस्तो छ भनेर।
मोबाइल व्यवसायीलाई हाल बजारमा कसरी टिक्न सकिन्छ, कसरी आफ्नो व्यवसाय जोगाउन सकिन्छ भन्ने चिन्ताले सताएको छ। त्यस्तै कसरी घरभाडा तिर्न सकिन्छ, कसरी कर्मचारी पाल्न सकिन्छ भन्ने कुराले पनि हाल व्यवसायी त्रसित अवस्थामा छन्।
त्यसैले यो अवस्था सुधार गर्न हामीले विशेष किसिमको मेला आयोजना गर्ने सोच बनाएका छौं। यसो गर्दा ग्राहकलाई केही हदसम्म भए पनि तान्न सकिन्छ कि भन्ने हाम्रो आशा हो। हुन त मोबाइल व्यवसायमात्र नभएर हरेक क्षेत्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउन सरकारले अर्थतन्त्र सुधार गर्नुपर्ने देखिन्छ।
अहिले सबै मन्त्रालय प्रधानमन्त्रीले मात्र थेगेर बसेको अवस्था छ। केही दिनमा मन्त्रालय बाँडफाँट होला, त्यसपछि स्थायी सरकार आउला र अर्थतन्त्र सुधार होला भन्ने हामीले आशा लिएका छौं। अर्थ मन्त्रालयमा मन्त्री नभएको अवस्थामा भोलि आएपछि केही सुधार होला भनेर नै हामी बसिरहेका छौं।
निरासमात्र भएर पनि हुँदैन, हामीले आशा गर्नुपर्छ। सोहीअनुसार भोलि राम्रो होला, अर्थतन्त्रमा सुधार आउला, व्यापार–व्यवसाय राम्रोसँग चल्न सुरु होला भन्ने आशामा हामी छौं। यसमा पनि हामीले हाम्रो ठाउँमा गर्नसक्ने काम नगर्ने भन्ने कुरा नै भएन। हामीले हाम्रा कुरा पनि व्यापार संघमार्फत सम्बन्धित निकायमा राख्दै आएका छौं। केही दिनमा यी कुरा अवश्य सुधार होलान् भन्ने आशामा हामीले जेनतेन व्यवसाय धानिरहेका छौं।
पछिल्लो समय ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडिएमएस) लागू नहुँदा बजारमा अवैध मोबाइलले कब्जा जमाएको भन्ने कुरा पनि उठ्ने गरेको छ। तर, वास्तविकतामा मलाई त्यस्तो लाग्दैन। एमडिएमएस प्रणाली सार्वजनिक सरोकारको विषय भएको भएर नै यसमा केही विवाद आएपछि सरकार कार्यान्वयनबाट पछि हटेको हो।
हामी व्यवसायीका लागि एमडिएमएस फाइदाजनक र राम्रै थियो। यसकै कारण अवैध फोनले बजारमा कब्जा जमाएको छ, भन्ने कुरामा मैले सत्यता देख्दिन। अहिले मानिस बाहिर जान्छ, गिफ्टस्वरूप एउटा फोन ल्याइदिन्छ, त्यसपछि कहिलेकाहीँ रकम आवश्यक प¥यो भने उसले ल्याएको मोबाइल जानेबेला वा आएपछि बेच्छ, जसमा हामीले आत्तिनुपर्ने अवस्था छैन।
अब बजारमा त्यस्तै मोबाइलले बजार खाए भन्ने कुरा गर्दा बजारमा मोबाइल नै बिक्री नभएको अवस्थामा ग्राहक मोबाइल किन्ने अवस्थामा नै नभएको अवस्थामा अवैध मोबाइल चाहिँ ठूलो मात्रामा बिक्री भए भन्ने कुरा हुन्न।
पहिले एक समयमा सस्तो फोन ‘ग्रे मार्केट’ बाट आउँथ्यो तर अहिले मोबाइलको मूल्य भारतमा भन्दा नेपालमा सस्तो पर्ने पनि गरेको छ। जसका कारण यस्तो अवस्था नआएको जस्तो मलाई लाग्छ। केही आइफोन यसरी आएको हुनसक्ने भए पनि त्यसैले हाम्रो बजारलाई सखाप बनायो भन्ने कुरा हामीले गर्नुहुन्न।
म व्यापार संघको अध्यक्षमा निर्वाचित भएसँगै ताम्राकार कम्प्लेक्समा व्यापार गर्ने सबैलाई सुरक्षित महसुस गराउने मुख्य दायित्व लिएको छु। यसमा केही समस्या छन्। यी समस्या, बिक्री नभएको अवस्थालाई आधार बनाएर नै वैशाखदेखि मेला आयोजना गर्ने भनेर हामीले बोर्डबाट पारित गरेका हौं।
यहाँ व्यापार प्रवद्र्धन गर्न सामाजिक सञ्जाल प्रयोग कसरी गर्न सकिन्छ, डिजिटल माध्यम तथा सामाजिक सञ्जालको माध्यमबाट ग्राहक कसरी आकर्षित गर्न सकिन्छ भन्ने विषयमा पनि हामीले ध्यान केन्द्रित गरेका छौं।
कम्प्लेक्समा अहिलेसम्मकै भव्य मेला गर्ने योजनासाथ वैशाखको मिति तोकेर हामी अगाडि बढिरहेकाले अहिले त्यसमा बढी ध्यान लगाएका छौं। मोबाइल व्यापारको कुरा गर्दा यो प्रतिस्पर्धाको व्यापार हो। यहाँ जसले सस्तोमा भरपर्दो र गुणस्तरीय सामान दिन सक्यो, जसले ग्राहक तान्न सक्यो त्यसैकोमा ग्राहक बढी जाने हुन्।
यसकारण पनि सबैमा मोबाइलको समान मूल्य नहुन सक्छ, यसमा हामीले पनि केही भन्ने अवस्था रहँदैन। ग्राहक ठगिने अवस्था नआओस् भनेर मोबाइलको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकिएको छ। त्यसको साथमा हाल मोबाइल किन्न आउने मानिस अनलाइनमा पहिल्यै मूल्य हेरेर आउने गरेका छन्।
राम्रो स्टोरबाट मात्रै मोबाइल किन्नुपर्छ
नेपालमा कतिपय समयमा सेकेन्डह्यान्ड मोबाइल, ल्यापटप ल्याएर नयाँ भन्दै बेचेका विषय पनि उठ्ने गरेका छन्। यो विषय ध्यानमा राखेर मोबाइल किन्दा राम्रो स्टोरमा किन्न म सबैलाई आग्रह गर्न चाहन्छु। त्यस्तै मोबाइल किनेपछि भ्याटबिल अनिवार्य मात्रामा लिनुपर्छ। अनलाइनमा सस्तो पाए भनेर मोबाइल लिँदा चोरीको मुद्दा परेको र झन्झटमा परेको उदाहरण पनि प्रशस्तै छन्।
तसर्थ, सकेसम्म पसलमा नै गएर मोबाइल लिनुपर्छ। राम्रो मोबाइल स्टोरमा बिल काटेर मोबाइल तथा अन्य सामग्री किनेको खण्डमा पछि कसैलाई बिक्री गर्नुपरेको खण्डमा सजिलो हुन्छ। आफू नठगिन र ठगिनबाट बच्न मोबाइल स्टोर, भ्याटबिल लगायत विषयमा मोबाइल किन्ने समयमा सचेत हुनुपर्छ।
यो विश्व हाल विज्ञान प्रविधि र आइटीमा आधारित छ। सोही कारण पनि मोबाइल तथा ल्यापटप बजार व्यापक मात्रामा विस्तार हुँदै गएको छ। कतिपय अनलाइन ग्याजेटमा नै आधारित भएर खुलिरहेको अवस्था छ। नेपालमा मोबाइल किन्ने ग्राहकले पसल गएर खोलेर, हेरेर, चलाएर किन्ने प्रचलन छ, जुन राम्रो पनि हो।
तर, अहिले मोबाइल स्टोर हेर्दा खाली अवस्थामा छन्। अहिले मोबाइल व्यवसाय मात्र नभएर समग्रमा अन्य व्यवसायका लागि पनि जटिल अवस्था छ। यो अवस्थामा हामीले कसरी हुन्छ आफ्नो खर्च कम गर्दै धैर्यधारण गर्नुपर्दछ, म सबैलाई यही आग्रह गर्न चाहन्छु।
हामीले आफ्नो आत्मबल बलियो बनाउँदै अगाडि बढ्नुपर्छ। सधैं यस्तो अवस्था रहँदैन भन्ने सोचेर सबै लागेको खण्डमा केही समयपछि यो व्यवसायमा सुधार अवश्य आउँछ। अहिलेको व्यापार एकदमै नाजुक अवस्थामा भए पनि यसलाई कम गर्न हामी व्यापार संघ, महासंघ सबै लागिपरेका छौं। सरकारलाई पनि अर्थतन्त्र सुधारका लागि दबाब दिने काम भइरहेको अवस्था छ। अहिले विभिन्न कम्पनीले ‘आरडी’ पनि राखेका छन्। आरडी र पसलेलाई दिने मार्जिन कम भयो भनेर हाम्रो व्यापार संघ लागिरहेको छ।
कम्पनीले एमआरपीमा पाँच प्रतिशत दिएको हुन्छ, त्यसमा ग्राहकले १० प्रतिशत छुट माग्नुहुन्छ। ग्राहकले यसको यत्रो मोबाइल पसल छ, फाइदा त होला भन्ने सम्झिनुहुन्छ तर कम्पनीले दिने पाँच प्रतिशत र ग्राहकले माग्ने १० प्रतिशतका कारण व्यसायमा नाफा गर्न नसकेको अवस्था छ।
अहिले बीचमा आरडी भनेर मार्जिन राखेर अरूले नै त्यसको फाइदा खाइरहेको अवस्था छ। यसर्थ मोबाइल आयातकर्तालाई पनि सामग्री ल्याएर सिधै पसलमा दिन म आग्रह गर्छु।
म व्यापार संघ अध्यक्ष भएको हिसाबले हालको बजार अवस्था सुधारका लागि आफ्नोतर्फबाट सक्ने पहल गरिरहेको छु। तर, अहिले व्यापार कम भएको अवस्थामा राजनीतिक नतृत्व नै यसको सुधारमा लाग्नुपर्ने अवस्था छ। हिजो एउटा व्यापारीले १० मोबाइल बिक्री गथ्र्यो भने आज दुइटा पनि बिक्री गर्न नसक्ने अवस्था छ। सामान्य अवस्थाको तुलनामा अहिले ६० प्रतिशतले व्यापार खुम्चिएको छ। यो कति समय रहन्छ भन्ने पनि हो।
नेपालको अर्थतन्त्र कति समयमा सुधार होला भन्ने पनि यसको मुख्य विषय हो। नयाँ अर्थमन्त्री आएपछि नीतिगत सुधार गरी व्यवसायीको माग पूरा गरी समग्र देशको आर्थिक अवस्थामा सुधार आउँछ भन्ने हामीले अपेक्षा राखेका छौं। त्यसैले अहिलेको कठिनाइ देखेर नआत्तिन र धैर्य गर्न म व्यवसायी साथीहरूलाई आग्रह गर्छु।
(शर्मा काठमाडौं ताम्राकार कम्प्लेक्सस्थित मोबाइल व्यापार संघका अध्यक्ष हुन्।)