काठमाडौं। दिनहुँ ऋण तिर्ने क्षमता कमजोर हुँदै गएपछि ऋणीहरू धमाधम सम्पर्कविहीन हुन थालेका छन्।
व्यावसायिक वातावरण बिग्रिएको, बजारमा वस्तु माग उकालो लाग्न नसकेको लगायत कारण ऋण तिर्ने क्षमता कमजोर भएको हो। चैत मसान्तमा ऋणीले बैंकलाई साँवा, ब्याज र किस्ता बुझाउनुपर्ने हुन्छ। तर, अहिलेदेखि नै ऋणीहरू बैंकको सम्पर्कबाहिर पुग्न थालेका छन्।
‘१५ दिन अघिसम्म ऋणीहरू बैंकको सम्पर्कमा थिए,’ एक बैंकरले क्यापिटल नेपालसँग भने, ‘अहिले उनीहरूको मोबाइल स्विच अफ हुन थालेको छ।’
बैंकहरूले ‘रिकभरी’ लाई प्रमुख प्राथमिकता दिइरहेका छन्। बैंकको ‘ननपर्फर्मिङ लोन’ बढ्ने खतरा बढेपछि बैंकहरूले असुली तीव्र पारेका छन्।
बैंकरका अनुसार साना र मझौला व्यवसायी सम्पर्कविहीन बनिरहेका छन्। ‘फोन गर्दा मोबाइल स्विच अफ छ। व्यवसाय गरिरहेको सटर बन्द छन्। बैंकले ऋणीलाई भेट्टाउन सकस भइरहेको छ,’ ती बैंकरले भने, ‘अहिलेको इकोनोमिक क्राइसिसले ठूलाभन्दा पनि साना र मझौता व्यवसायी ठूलो समस्यामा छन्।’
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य राजेशकुमार अग्रवालका अनुसार साना र मझौला व्यवसायी समस्यामा पर्ने बित्तिकै त्यसको असर ठूला व्यवसायमा परिहाल्छ।
‘ठूला व्यवसायीको शक्ति भनेकै साना र मझौला व्यवसायी हुन्,’ अग्रवालले भने, ‘उनीहरूको सटर बन्द हुने बित्तिकै हामीले उनीहरूलाई दिएको उधारो उठ्दैन। उधारो नउठ्नासाथ बैंकलाई साँवा, ब्याज तथा किस्ता तिर्न समस्या हुन्छ।’
व्यवसाय बन्द तीव्र गतिमा भइरहेको छ। पहिले–पहिले एउटा, दुइटा व्यवसाय बन्द हुन्थे तर अहिले तीव्र गतिमा बन्द भइरहेका छन्।
औद्योगिक व्यवसाय ऐन २०७६ ले २० लाख रुपैयाँसम्मको स्थिर पुँजी भएका र बढीमा नौजनासम्म कामदार रहेका उद्योगलाई लघु उद्योग तथा १५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगलाई साना उद्योग मानेको छ।
ऐनले परम्परागत सीप र प्रविधिमा आधारित स्थानीय श्रममूलक उद्योगलाई घरेलु उद्योगका रूपमा उल्लेख गरेको छ। उद्योग विभागको लघु, घरेलु तथा साना उद्योग तथ्यांक प्रतिवेदन २०७८ ले देशभरिमा ५ लाख २२ हजार यस्ता उद्योग रहेको देखाएको छ।
केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार देशभरि ९ लाख २३ हजार व्यवसाय सञ्चालनमा छन् भने कूल व्यावसायिक प्रतिष्ठानमध्ये ९५ प्रतिशतमा नौजनासम्म कामदार छन्। नौजनासम्म कामदार संलग्न उद्यमलाई लघु व्यवसाय मान्दा देशमा सञ्चालित व्यवसायमध्ये अधिकांश लघु व्यवसाय रहेको देखिन्छ।
आर्थिक गणनाले देशभरिका व्यवसायले ३२ लाख २८ हजारलाई रोजगारी दिँदा लघु व्यवसायमा मात्रै १८ लाख ९७ हजारले रोजगारी पाएको देखिन्छ। अर्थात, देशभरिका व्यवसायमा सिर्जना भएको रोजगारीको आधाभन्दा बढी हिस्सा (५९ प्रतिशत) लघु व्यवसायले सिर्जना गरेका छन्।
यी तथ्यले मुलुकको आर्थिक विस्तार र रोजगारी सिर्जनामा लघु र घरेलु उद्योगको महत्व प्रष्ट पार्ने अर्थ मन्त्रालयका पूर्वसचिव शान्तराज सुवेदी बताउँछन्।
औपचारिक र अनौपचारिकरूपमा सञ्चालित सानो पुँजीका यस्ता व्यवसाय लाखौंलाई रोजगारी दिनमात्र होइन, अर्थतन्त्र नै चलायमान बनाउन पनि महत्वपूर्ण छन्।
संयुक्त राष्ट्रसंघीय एसिया प्रशान्त क्षेत्रको सामाजिक र आर्थिक आयोगले नेपालको ८२ प्रतिशत रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन साना र मझौला उद्योगमार्फत भइरहेको उल्लेख गरेको छ।
दैनिक किन्ने वस्तु र सेवामध्ये कैयौं साना र घरेलु उद्यमबाटै उत्पादित हुन्छन्। विक्रेताका लागिमात्र होइन, खरिदकर्तालाई पनि घरेलु र साना उद्यमका वस्तु र सेवाले सुविधा र सहजता दिएको हुन्छ। तर, कोरोना महामारी प्रभाव सकिए पनि बलियो आर्थिक सुरक्षा नभएका साना र घरेलु उद्यम व्यवसायको बिग्रिएको हरहिसाबले व्यवसायीलाई गलाइरहेको छ। व्यवसायीको कारोबार खस्कँदा ऋणको भारले थिचेको छ। त्यही भएर ऋणीहरू ध्माधम सम्पर्कविहीन हुन थालेका छन्।
खासगरी साना उद्यमीसँग पुँजीको विकल्प र अवसर सीमित उपलब्ध हुन्छ। ठूला उद्यमीको पुँजीको विकल्प धेरै हुन्छ र धेरै व्यवसायमा लगानी हुने हुँदा एउटा व्यवसायको नोक्सानी अर्काेबाट पूर्ति हुने सम्भावना हुन्छ। तर, साना व्यवसायीको व्यवसाय समस्यामा पर्ने बित्तिकै समग्र कारोबारको चक्र नै बिथोलिन्छ। यसले उनीहरूको व्यवसाय छिट्टै डुब्ने र पलायन हुने जोखिममा पर्ने घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश सिंहले बताए।