काठमाडौं। राजधानीको चक्रपथमा विद्युतीय बस सञ्चालन (र्यापिट ट्रान्जिट)को सम्भाव्यता अध्ययन गर्न विभिन्न मुलुकका १२ कम्पनीले प्रस्ताव पेस गरेका छन्।
सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल (आइबिएन)ले पूर्वयोग्यता छनोटका (पिक्यु) लागि मागेको प्रस्तावमा चीन, भारत, बंगलादेश, पाकिस्तान र युरोपियनलगायतका एक दर्जन कम्पनीले आवेदन दिएका हुन्।
माघ २२ गते आह्वान भएको पिक्युको म्याद चैत ९ गतेसम्म थियो। आवेदन दिनेहरूमा भारत, चीन, बंगालादेशलगायतका कम्पनी रहेको बोर्डले जनाएको छ।
तर, कम्पनीको नाम भने लगानी बोर्डले खुलाएको छैन। १२ वटै कम्पनीको प्राविधिक मूल्यांकन सुरु भएकाले अहिले नाम सार्वजनिक गर्न नमिल्ने बोर्डको भनाइ छ।
मूल्यांकन समितिले ३५ दिनभित्र १२ वटा कम्पनीको प्राविधिक मूल्यांकन सम्पन्न गर्नुपर्ने हुन्छ। सो समितिले प्राविधिक रूपमा योग्य सिफारिस गरेका कम्पनीहरुको आर्थिक मूल्यांकन हुन्छ। तर, प्राविधिक मूल्यांकनमा जान कम्तीमा पनि ६ वटा कम्पनी प्राविधिक रूपमा योग्य देखिनुपर्ने बोर्ड जनाएको छ। त्यसपछि बोलपत्र आह्वान हुनेछ।
बोर्डका एक कर्मचारी भन्छन्, ‘कम्तीमा पनि ६ वटा कम्पनी प्राविधिक रूपमा योग्य देखिएपछि मात्रै आर्थिक मूल्यांकन सुरु हुन्छ। प्राविधिक मूल्यांकन ३५ दिनभित्र सक्नुपर्ने हुन्छ।’
यसअघि कात्तिक २० गते पहिलो पटक लगानी बोर्डले चक्रपथमा विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि ठेक्का आह्वान गरेको थियो सो समयमा १३ वटा कम्पनीले आवेदन दिएका थिए। तर, बोर्डले निकालेको टेन्डर प्रक्रिया नै गलत भएपछि सबै कम्पनीको आवेदन रद्द भएर माघ २२ गते नयाँ ठेक्का खुलेको थियो।
सम्बद्ध स्रोतका अनुसार ती कम्पनीको प्राविधिक मूल्यांकन चलिरहँदा बोलपत्रमा कानुनी त्रुटि पाइएपछि पहिलो बोलपत्र रद्द गरेर दोस्रोपटक आह्वान गरिएको हो। अघिल्लोपटकको बोलपत्र सार्वजनिक खरिद नियमावलीसँग नमिल्ने भएपछि ठेक्का प्रक्रिया रद्द भएको थियो।
सिस्टमको भर गरेर ठेक्का आह्वान भए पनि १३ कम्पनीको प्राविधिक मूल्यांकन चलिरहेको समयमा छड्के जाँच (क्रसचेक) गर्दा खरिद नियमावलीसँग नमिल्ने देखिको थियो।
चक्रपथमा विद्युतीय बस सञ्चालन गर्न २० अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान बोर्डको छ। यद्यपि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारपछि मात्र यकिन लागत आउने छ।
अध्ययन जिम्मेवारी पाउने कम्पनीले सम्झौताको १८ महिनाभित्र चक्रपथमा विद्युतीय बस सञ्चालनसम्बन्धी अध्ययन गरेर प्रतिवेदन बुझाउनुपर्ने बोर्डले जनाएको छ।
२७.३० किलोमिटर लामो चक्रपथको एउटा लेन विद्युतीय बसका लागि मात्र छुट्टयाउने योजना छ। त्यस्तै निर्माण, सञ्चालन र व्यवस्थापन निजी क्षेत्रले गर्ने छ। पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार ७५ टर्मिनल र २७ स्टेसन रहनेछन्।
चक्रपथमा विद्युतीय बस सञ्चालन गर्न ६ मिटर चौडाइको बसस्टेसन, स्मार्ट कार्ड र सिक्कामा आधारित भाडा प्रणाली, बत्ती, सिग्नल, जिपिएस प्रणाली, टर्मिनल र चार्जिङ स्टेसनलगायत निर्माण हुनेछन्। त्यस्तै फ्लाइओभर सडक, पुलहरू तयार हुनेछन्।
सन् २०२९ सम्म चक्रपथमा दैनिक यात्रु आवागमन संख्या १७ लाखदेखि ३० लाख ८ हजारसम्म रहने बोर्डले अनुमान गरेको छ। सन् २०४९ सम्म पुग्दा उक्त संख्या बढेर २३ लाख ७ हजारदेखि बढीमा दैनिक ४२ लाख ९ हजारले चक्रपथको बाटो प्रयोग गरेर यात्रा गर्नेछन्।
सोही चाप आधार मानेर पूर्वाधार निर्माण गर्ने योजना बोर्डले लिएको हो। राजधानीमा बढ्दो जनघनत्व र प्रदूषण लक्षित गरी विद्युतीय बस सञ्चालन योजना अघि सारेको बोर्डले जनाएको छ।