एजेन्सी। भारतीय अटोमेकर महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले विद्युतीय गाडी (इभी) विस्तार तीव्र पार्न १ अर्ब ३० करोड अमेरिकी डलर थप लगानी गर्ने घोषणा गरेको छ।
केही दिनअघि मिन्टले सार्वजनिक गरेको रिपोर्टअनुसार कम्पनीले आफ्नो इभी युनिटको सेयर बेचेर १.३ अर्ब डलर जुटाउन लागेको हो। थप लगानी जुटाउन महिन्द्राले आफ्ना विश्वव्यापी लगानीकर्तासँग वार्ता गरिरहेको जनाएको छ।
यसलाई विकाससँग परिचित व्यक्तिले आफ्नो नवगठित विस्तार योजनालाई गति दिन चालेको कदमका रूपमा व्याख्या गरेका छन्।
महिन्द्राले आगामी दुई आर्थिक वर्ष विभिन्न किस्ता गरी ९ अर्ब १० करोड डलरभन्दा बढी मूल्यको आफ्नो इकाईको सेयर बेचेर पुँजी बढाउने योजना बनाएको छ। एसयुभी र जिपका लागि परिचित महिन्द्राले आफ्नो क्षमता बढाउन लगानी बढाउन लागेको हो।
महिन्द्राले विभिन्न प्लेटफर्म विकास गर्दै भविष्यमा यातायात क्षेत्रमा प्रभूत्व जमाउने तयारीस्वरूप लगानी बढाउन काम गरिरहेको छ। यसले आगामी दुईदेखि तीन वर्षमा आफ्नो इभी व्यवसायका लागि कम्तीमा १ खर्ब भारु लगानी गर्ने अनुमान छ।
गत जुलाईमा बेलायतको विकास वित्त संस्था ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बिआइआई) ले महिन्द्राको प्रत्येक इभी सहायक कम्पनीमा २५ करोड डलर लगानी गर्न सम्झौतामा हस्ताक्षर गरेको थियो।
भारत सरकारले सन् २०३० सम्म वार्षिक कार बिक्रीमा इभीको हालको एक प्रतिशत हिस्साबाट ३० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ।
महिन्द्राले पश्चिमी सहर पुने नजिकै नयाँ इभी कारखाना स्थापना गरी आगामी विद्युतीय खेलकुदका लागि सवारीसाधन प्लेटफर्म विकास गर्दै भविष्यमा यातायात क्षेत्रमा प्रभूत्व जमाउने तयारी गरिरहेको छ।
कोष संकलन योजनाबारे उठेका प्रश्नको जवाफ दिँदै महिन्द्रा एन्ड महिन्द्रा (अटो र फार्म क्षेत्र) का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी राजेश जेजुरीकरले आफूहरूको इलेक्ट्रिक एसयुभी व्यवसायका लागि समान विचारधारा भएका लगानीकर्ताबाट पैसा उठाउन खुला गरिएको बताएका छन्।
उनले समान मूल्यको समर्थन गर्दै विश्वव्यापीरूपमा आफ्ना उपभोक्ताका लागि प्रामाणिक र विश्वस्तरीय गाडी ल्याउन सहयोग गर्न आग्रहसमेत गरेका छन्।
समान विचारधाराका लगानीकर्ता भेट्टाएमात्रै वाह्य लगानी ल्याउने र यस चरणमा कुनै पनि बैंकरको लगानी संलग्न नगरेको जेजुरीकरले स्पष्ट पारेका छन्।
मुम्बई मुख्यालय रहेको एसयुभी र जिपका लागि परिचित कम्पनी महिन्द्राले आर्थिक वर्ष २०२४ को पहिलो ६ महिनामा पहिलो किस्ताबाट ८० करोड डलरदेखि १ अर्ब डलरसम्म उठाउन सक्ने छ।
कम्पनीले गत डिसेम्बरमा भारतको इभी बजारमा प्रभूत्व जमाउने टाटा मोटर्सलाई पछि पार्दै पश्चिमी सहर पुने जजिकै इभी प्लान्ट स्थापना गर्न १ खर्ब भारु लगानीको घोषणा गरेको थियो।
मिन्टले उद्धृत गरेका दुई व्यक्तिका अनुसार पुँजी संकलन गर्ने योजनामा रहेको रकम आगामी तीनदेखि पाँच वर्षमा इभी व्यवसायमा लगाइने छ।
आफ्नो पुँजी बढाउन महिन्द्राले विश्वव्यापी ठूला निजी इक्विटी फर्म, सार्वभौम कोष, इएसजी केन्द्रित कोष र विश्वभरिका हरित र नवीकरणीय ऊर्जा व्यवसाय स्वामित्वका संस्थासँग छलफल गरेको छ।
समूहले इभी व्यवसाय बढाउन र टाटासँग प्रतिस्पर्धा गर्न मद्दत गर्ने दीर्घकालीन लगानीकर्तालाई प्राथमिकता दिने उल्लेख छ।
हाल देशको इभी स्पेसको ८५ प्रतिशतभन्दा बढी सेयर भएको टाटा मोटर्सले पनि आफ्नो ‘यात्री’ इभी व्यवसायका लागि लगानीकर्ता खोजिरहेको छ, जसको मूल्य १० अर्ब डलरभन्दा बढी छ।
भारतको इलेक्ट्रिक स्पोर्ट युटिलिटी भेहिकल बजारमा प्रभूत्व जमाउन लड्दा कार निर्माताहरू मूल्ययुद्धमा फसेका छन्। अब महिन्द्राले भर्खरै सार्वजनिक गरेको इलेक्ट्रिक एक्सयुभी ४०० ले पनि टाटा मोटर्सका लागि थप प्रतिस्पर्धा गर्ने छ।