काठमाडौं। गत शुक्रबार (चैत १० गते) बिहान एयर इन्डिया र नेपाल वायुसेवा निगम (नेवानि) को जहाज सिमरा आकासमा झन्डै ठोक्किएको घटनामा तीनजना ‘एयर ट्राफिक कन्ट्रोलर’ (एटिसी) लाई तत्कालका लागि काम गर्नबाट वञ्चित गरिएको छ।
मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ती तीन एटिसीलाई शनिबारबाटै लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि काममा फर्किन नपाउने गरेर प्रारम्भिक कारबाही गरेको छ।
घटना भएको बिहान ड्युटीमा रहेका ती तीन एटिसी कारबाहीमा परे पनि प्राधिकरणले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन।
प्राधिकरणको प्रारम्भिक अध्ययनमा सिमरा आकासमा नेवानि र एयर इन्डियाका जहाज झन्डै ठोक्किएको घटानामा एयर इन्डियाका पाइलट दोषी देखिएका छन्। तर, यस्तो अवस्थामा किन एटिसी कारबाहीमा परे भन्ने प्रश्न उब्जिएको छ।
जहाज उडानमा संलग्न पाइलटको सट्टा किन एटिसी कारबाहीमा परे? यसबारे प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाजको ‘लेभल’ कुन अवस्थामा छ र कहाँ आइपुग्यो भन्ने जानकारी ‘राडार’ मा हुँदाहुँदै एटिसीले पाइलटको जवाफको प्रतीक्षा गर्दा दुई जहाज झन्डै ठोक्किन पुगेका थिए। त्यही भएर तत्कालका लागि उनीहरूलाई काम गर्न रोक लगाइएको हो।
‘१९ हजार फिट उचाइमा मा रहेको जहाज १८, १७ र १६ हजार फिटमा झर्दा त एटिसीले हेर्नुपर्ने हो,’ सूचना अधिकारी भुलले क्यापिटल नेपालसँग भने, ‘त्यही नहेरेर गल्ती गरेको प्रारम्भिक अध्ययनमा देखिएको प्राधिकरणको दाबी छ।‘
शुक्रबार बिहान उडान नम्बर ‘एआइ २१३’ को एयर इन्डियाको जहाज नयाँदिल्लीबाट काठमाडौं आइरहेको र नेवानिको उडान नम्बर ‘आरए ४१६ जहाज मलेसिया क्वालालम्पुरबाट काठमाडौं आइरहेको अध्ययनमा देखिएको छ।
सामान्यतया ‘भर्टिकल लेभल’ (तलमाथि) २० हजार फिटभन्दा माथिको जहाज ‘एरिया कन्ट्रोलर सेन्टर युनिट’ ले हेर्छ र २० हजार फिटभन्दा मूनि ७ हजार ५ सय फिटसम्म ‘एप्रोच कन्ट्रोल युनिट’ ले हेर्छ। ७ हजार ५ सय फिटभन्दा मूनिको जहाज भने विमानस्थल टावरले हेर्छ।
शुक्रबारको घटनामा एकसाथ काठमाडौं आइरहेको एयर इन्डियाको जहाजलाई १९ हजार फिट र नेवानिको जहाजलाई १८ हजार फिटमा झारिएको थियो। त्यसबेला एरिया कन्ट्रोलबाट एप्रोचमा जहाज आइसकेपछि एक मिनेट पहिला नेवानिको जहाजलाई ‘ट्रान्सफर’ ग¥यो कन्ट्रोलले एप्रोचलाई। त्यसको एक मिनेटपछि एयर इन्डियालाई पनि एप्रोचमा पठाएको पाइन्छ।
ट्रान्सफर गरेलगत्तै नेवानिका पाइलटले एप्रोचमा बोलेर १५ हजार फिटमा झ¥यो। तर, एयर इन्डियाका पाइलटले भने एटिसीसँग कुरै नगरी आफैं १५ हजार फिटमा झरेको देखिन्छ। १ हजार फिटभन्दा कम ‘सेपरेसन’ (दुरी) भएपछि नेवानिको जहाजलाई ‘टिसिएएस सिस्टम’ ले पाइलट बस्ने ककपिटमा जानकारी दिएको थियो र ककपिटमा ‘ट्राफिक अलर्ट रिजोलुसन एडभाइजरी‘ (टिएआरए) कराएपछि त्यसको जानकारी एटिसीलाई गराएलगत्तै १३ हजार ५ सय फिटमा झारेर एयर इन्डियाको जहाजलाई १५ हजार फिटमै राखिएको थियो।
यसरी हेर्दा एयर इन्डियाको जहाजमा रहेका पाइलटको गल्ती प्रारम्भिक अध्ययनमा देखिए पनि वास्तविकता के हो र कसको दोष हो भन्ने अध्ययनका लागि प्राधिकरणले छानबिन समिति बनाएर प्रक्रिया अगाडि बढाइरहेको सूचना अधिकारी भुलले जानकारी दिए।
छानबिन समितिले दिएको रिपोर्टमा पाइलट दोषी देखिए आवश्यक कारबाहीका लागि भारतको नागरिक उड्डयन महानिर्देशकको कार्यालयलाई पत्राचार गर्ने तयारी प्राधिकरणको छ।
यसकारण एटिसीलाई कारबाही
प्रारम्भिक अध्ययनमा एयर इन्डियाको जहाजका पाइलट दोषी देखिए पनि एटिसीलाई ‘रोस्टर अफ’ गरिएको छ। एटिसीले पाइलटको मुखको मात्र भर परेर बसेको देखिन्छ। खासमा एटिसीले राडारमार्फत कुन जहाज कहाँ आइपुग्यो र कस्तो अवस्था छ भन्ने हेर्नुपर्नेमा शुक्रबारको घटनामा चुकेको प्राधिकरणका अधिकारीहरूको ठहर छ।
‘भ्वाइस कम्युनिकेसन नगरे पनि जहाज झरिरहेको त राडारमा देखिन्छ,’ सूचना अधिकारी भूलले भने, ‘यी कुरामा गम्भीररूपमा एटिसीले त्यो बेला ध्यान नदिएको देखिएकाले तत्कालका लागि कारबाही गरिएको हो।’
अध्ययन चरण बाँकी रहेकोले एटिसीले बोलाउँदा पनि नबोलेको हो या पाइलटले घमण्ड गरेर बेवास्ता गरी अवतरण गर्न खोजिएको हो भन्ने खुल्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।
त्यसका लागि ‘भिआरएस रेकर्ड’ सुनेपछि वास्तविक दोषी को हो भन्ने खुल्ने छ। अहिले एटिसीलाई कारबाही भनेको अध्ययन नसकेसम्मका लागिमात्र भएको प्राधिकरणले जनाएको छ।
पाइलट दोषी देखिए पत्राचार गर्ने
प्राधिकरणले गरेको छानबिन क्रममा एयर इन्डियाका पाइलट दोषी देखिए आवश्यक कारबाहीका लागि भारतको नागरिक उड्डयन महानिर्देशकको कार्यालयलाई पत्र पठाउने छ।
‘प्राधिकरण आफैंले विदेशी एयरलाइन्सका पाइलटलाई कारबाही गर्न नमिल्ने भएकाले पत्राचार गरी आवश्यक कारबाही गर्न अनुरोधसहितको पत्र पठाउने गरिएको छ,’ सूचना अधिकारी भुलले भने, ‘यो घटनामा पनि दोषी देखिए पत्राचार गर्छौं।’