काठमाडौं। राजु अर्यालले सशस्त्र प्रहरी नेतृत्व सम्हालेपछि संगठनभित्र अनौठो दृश्य देखापरेको छ। नाका बसेर ‘बदनामी’ कमाएका सशस्त्रका हाकिम तथा प्रहरी सरुवा गरेर त्यहाँ खटाइए पनि नयाँ अधिकृत तथा जवानले जान इन्कार गरेका छन्।
राजस्व चुहावट नियन्त्रण समितिका बैठकमा राजस्व चुहावट नियन्त्रण गर्न सशस्त्रले पूर्णरूपमा जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना हुन थालेपछि सशस्त्र आइजिपी अर्यालले नाकामा भइरहेका अधिकृतलाई अन्यत्र सरुवा गरेर नयाँ पठाए पनि उनीहरू जान अटेर गरिरहेका छन्।
नाकाका बसेर ‘अनधिकृत काम’ गरिरहेका प्रहरी अधिकृतलाई मुख्यालय तानेर नयाँलाई नाकाको सुरक्षाका लागि पठाउने निर्णय अर्यालले गरेका थिए।
नाका पठाउने अधिकृत तथा जवानलाई ‘आफूलाई केही नचाहिने तर तपाईंहरूले पनि त्यहाँ गैरकानुनी कार्य गरेको थाहा पाए तत्काल जागिरबाट बर्खास्त गरिदिने’ अर्यालको चेतावनीपछि नाका सुरुवामा परेका कोही पनि जान तयार नभएको सशस्त्रका एक अधिकृतले बताए।
आइजिपी अर्यालले आफ्नो ड्युटी पूरा गर्न हरसम्भव लाग्न र तस्कर तथा अन्य व्यक्तिसँग मिलेर गैरकानुनी बाटोबाट मालसामान छुटाउन लागेको थाहा पाउने बित्तिकै सार्वजनिक बेइज्जत गरेर जागिरबाट हटाउने चेतावनी दिएपछि नयाँ अधिकृत जानै नमानेको ती अधिकृतले बताए।
आइजिपी अर्यालले सरुवा गरेका प्रहरी अधिकृत तथा जवानहरु एआइजी तथा डिआइजीसमक्ष हारगुहार गर्दै सरुवा रोक्न लागिपरेका छन्। एआइजी तथा डिआइजीले नाका पठाइएका अधिकृत सरुवा रोक्न भन्दै आफूहरूकोमा आएको आइजिपी अर्याललाई जानकारी गराएका थिए।
जवाफमा आइजिपी अर्यालले ‘जागिर छाडेर बस्नू’ भन्ने सन्देश एआइजी तथा डिआइजीमार्फत पठाएपछि उनीहरू राजनीतिक नेतासमक्ष पुगेर आफ्नो सरुवा रोक्न लागिपरेका हुन्।
‘प्रहरीको इतिहासमै नाकामा जान नमानेको पहिलोपटक हो। अन्य बेला नाकामा सरुवा गर्न शक्तिकेन्द्रबाट आइजिपीलाई बारम्बार फोन तथा भेटेर दबाब दिने काम हुन्थ्यो,’ ती अधिकृतले भने, ‘अब अहिले नाकाबाट गैरकानुनी तवरबाट कमाएको फेला पार्ने बित्तिकै आइजिपीले जागिरबाटै निकाल्ने भएपछि त्यहाँ जान अटेर गरिरहेका छन्।’
सशस्त्रका जवान तथा अधिकृतको नाकामा जान तँछाडमछाड गर्नुको रहस्य यसपटक छर्लंगै भएको ती अधिकारीले बताए।
नाका बसेर विवादास्पद छवि बनाएका प्रहरी अधिकारीलाई केन्द्रमा तानेपछि पुनः त्यहीँ ठाउँमा जान उनीहरू लामो समय शक्तिकेन्द्र पुग्थे। तर, आइजिपी अर्यालले कुनै हालतमा केन्द्रमा तानिएका व्यक्तिलाई पुनः त्यही ठाउँमा नपठाउने अडान लिए र नयाँलाई पठाए।
अहिले देशभरिका मुख्य–मुख्य नाकामा सशस्त्रका नयाँ अधिकृत तोकिएका छन्। निष्कलंक छवि भएकाहरू नाका पुगेर आफ्नो ड्यूटी गर्न थालिसकेका छन् भने कमाउने उद्देश्य राखेकाहरू कमाउन नपाइने भएपछि जान मानिरहेका छैनन्।
भन्सारका अधिकृत, प्रहरी प्रशासनसँगको मिलेमतोमा भन्सार छलेर सामान ल्याउने कार्यले पछिल्ला केही वर्षयता व्यापकता पाएको छ। एकातिर, सरकारले राजस्व प्राप्त नगर्ने तर अर्कातिर स्वदेशी उत्पादनलाई थला पार्ने गरी हुन थालेको चोरी नियन्त्रणमा प्रहरीको सक्रियता कम भएको आरोप लागेपछि अर्यालले नाकामा खटाइएका अधिकृतलाई जानुपूर्व सम्झाउन प्रयोग गरेको शब्दले प्रहरीहरू त्रसित भएका हुन्।
राजस्व अनुसन्धान विभागका अनुसार सबैभन्दा बढी चोरी भएर भित्रिने वस्तुमा लत्ताकपडा, मोबाइल, मदिरा, खाद्यान्न पर्छन्। राजस्व परामर्श समितिले अर्थ मन्त्रालयलाई दिएको सिमानाकामा हुने चोरी पैठारी नियन्त्रणको प्रभावकारिता अध्ययन प्रतिवेदनमा व्यवसायीले एउटा सामानको प्रज्ञापनपत्र काटेर अर्कै सामान ल्याउने गरिरहेको उल्लेख छ।
त्यस्तै सशस्त्र प्रहरीले बरामद गरेको सामानको २० प्रतिशतबराबर प्रोत्साहन रकम पाउने भए पनि यस्तो रकम समयमै उपलब्ध नहुनेलगायत कारण चोरी पैठारी रोक्न समस्या रहेको अध्ययनमा उल्लेख छ।
उनीहरूले पाउने रकम नपाउने भएपछि सशस्त्रका अधिकारी चोरी पैठारीकर्तासँगै मिलेको पनि हुनसक्ने अध्ययनमा देखिन्छ।
भन्सार बिन्दुमा करिब १ सयदेखि २ सयजना भरियाले दिनभरि स्थानीय व्यपारीका लागि घरायसी वस्तुका नाममा भन्सार बिन्दुबाटै सामान ओसार्ने गरिरहेको अध्ययनबाट देखिएको छ।