चितवन । नेपाल बैंकले आफ्नो २२८ औं शाखा चितवनकाे हाकिमचोकमा स्थापना गरेको छ।
उक्त बैंकका सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवाली, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रूपमा ताम्रपत्र अनावरण गरी शुक्रबार शाखा उद्घाटन गरेका हुन् ।
साे समाहरोह नेपाल बैंक हाकिम चोक शाखाका शाखा प्रबन्धक नीना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। बैंक प्रादेशिक कार्यालय बागमती प्रदेशका प्रादेशिक प्रमुख पासाङ दोर्जी शेर्पा र चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठ, उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल थिए। त्यस्तै वीरेन्द्र क्याम्पसका प्रमुख दयाराम पौडेल, सप्तगण्डकी क्याम्पसका प्रमुख मणिराज महतोलगायत उपस्थित रहेको उद्घाटन समारोहमा जनप्रतिनिधि, व्यापारी-ग्राहक, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, शिक्षक, नेपाल बैैक लिमिटेडका निवर्तमान कर्मचारी तथा ज्येष्ठ नागरिकहरूको समेत उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्र पौडेलले चितवन जिल्लामा प्रतिस्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैंकिङ सेवा दिने गरी नेपाल बैंक आएकाले यसले चितवनवासीलाई आर्थिक रूपले समृद्ध बनाउने भूमिका खेल्ने धारणा राखे।
नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवालीले विगतमा चितवन जिल्लामा खोलिएको नेपाल बैंकलाई चितवनवासीले स्मरण गरिरहेकोले आज सञ्चालनमा आएको हाकिमचोक शाखाबाट दिगो बैंकिङको अपेक्षा रहेको धारणा राखे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले वक्ताहरूबाट उठाइएका जिज्ञासाको बारेमा स्पष्ट पार्दै बैंकको विशिष्ट प्रकृतिका आर्थिक प्रडक्टहरू रहेका र सोलाई प्रयोग गरी बैंकसंग साझेदारी गर्न ग्राहकबर्गहरुमा अनुरोध गरेका थिए । साे कार्यक्रममा नेपाल बैंक लिमिटेड, चितवनमा रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको समेत उपस्थिति थियो ।