काठमाडौं। सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले अब निजी क्षेत्रमा ऋण लगानी नगर्ने नीति लिएको छ।
निजी क्षेत्रमा गएको ऋण असुलीमा समस्या आउन थालेपछि सञ्चय कोषले अब निजी लगानीका परियोजनामा थप ऋण लगानी नगर्ने मनस्थिति बनाएको हो।
निजी क्षेत्रमा ऋण लगानी गर्दा जोखिम बढेको सञ्चय कोषको भनाइ छ। पछिल्लो समय निजी क्षेत्रमा गएका केही ऋण असुलीमा समस्या परेपछि थप लगानी नगर्ने मनस्थिति बनाएको सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले बताए।
उनका अनुसार निजी क्षेत्रमा सञ्चय कोषको कूल लगानीको एक प्रतिशतमात्र हिस्सा छ। सरकार वा सार्वजनिक संस्था संलग्न भएको परियोजनामा मात्र कोषले लगानी गर्ने भएको हो।
‘निजी क्षेत्रमा गएको लगानी उठाउन मुद्दामामिला गर्नुपरेको र समयमा ऋण नउठेपछि अबदेखि निजी परियोजनामा थप लगानी नगर्ने नीतिमा छौं,’ कोष प्रशासक धितालले क्यापिटल नेपालसँग भने, ‘सकेसम्म सुरक्षित ठाउँमा लगानी गरौं भन्ने हाम्रो नीति हो। सरकार सहभागी भएको क्षेत्रमा मात्र ऋण लगानी गर्ने तयारी छ।’
पछिल्लो समय सञ्चय कोषको जलविद्युत क्षेत्रमा ठूलो परिमाणको लगानी छ। ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, १ सय ११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन र १ सय २ मेगावाटको मध्यभोटेकोसीमा सञ्चय कोषको लगानी छ। यी सबै आयोजनामा सरकार संलग्न छ। सरकार संलग्न भएको क्षेत्रमा लगानी गर्ने धितालले बताए।
यस्तै कोषले सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमलाई जहाज खरिद गर्न पटक–पटक गरी २२ अर्ब रुपैयाँ ऋण दिएको छ। निगमले ऋण तिर्न नसक्दा ब्याजसमेत पुँजीकरण भई कूल ऋण २९ अर्ब रुपैयाँ पुगेको छ। कोषले वायुसेवा निगमलाई जहाज किन्न थप ऋण नदिने घोषणा गरिसकेको छ।
सञ्चय कोषले व्यवसायी सुधीर बस्नेतको कोहिनुर हाउजिङमा गरेको १ अर्ब रुपैयाँभन्दा बढी लगानी उठाउन सकेको छैन। लामो समय मुद्दामामिलामा अल्झिएपछि भर्खरै लिलामी प्रक्रिया अघि बढाएको छ।
यस्तै अर्का व्यवसायी इच्छराज तामाङको सिटिसी मलमा पनि कोषले ऋण असुली गर्न सकेका छैन। उच्च अदालत पाटनको अन्तरिम आदेशले गर्दा मल लिलामी रोकिएको छ।
समयमा ऋण तिर्न नसक्ने ऋणदाता अदालत प्रयोग गरेर लिलामी रोक्न लागिपरेका छन्। सञ्चय कोषले नेपाल बैंकको अगुवाइमा लगानी भएको १ सय ६० मेगावाटको लप्चिखोलामा ऋण लगानी सम्झौता गरेको छ। यो आयोजना दुगड ग्रुपले बनाउन लागेको हो।
कोषमा धेरैजसो सञ्चयकर्ताकै योगदान छ। त्यसै क्षेत्रमा कोषको लगानी भइरहेको छ। त्यस्तै कोषले सञ्चयकर्ताका लागि सबैभन्दा बढी लगानी गरेको छ। कूल ऋणको आधा हिस्सा सञ्चयकर्तालाई लगानी गरेको छ। त्यसबाहेक पूर्वाधार क्षेत्रमा ठूलो लगानी छ।
देशका ठूला जलविद्युत आयोजनामा २२ प्रतिशत लगानी छ। केही प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी रहेको छ।
अधिकांश वाणिज्य बैंकमा सञ्चय कोष संस्थापक लगानीकर्ता छ। यसबाहेक केही रकम विभिन्न बैंकमा मुद्दती निक्षेपमा राखेको छ। पछिल्लो समय कोषको मुद्दती निक्षेपमा जाने बचत रकम बिस्तारै घट्दै गएको छ।
मुद्दती निक्षेपको ब्याजदर घट्दै गएको छ। अब २० प्रतिशतभन्दा बढी रकम बैंकको मुद्दती निक्षेपमा नराख्ने हाम्रो नीति लिएको प्रशासक धितालले बताए।
नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा सर्वसाधारणको भन्दा २ प्रतिशत बिन्दुभन्दा कम ब्याजदर तोकेपछि कोषको मुद्दती निक्षेपको ब्याजबाट हुने आम्दानी घटेको छ।
‘धेरैजसो सञ्चयकर्तालाई केन्द्रित गरेरै लगानी बढाएका छौं,’ धितालले भने, ‘निजी क्षेत्रमा हामी त्यति धेरै लगानी गरिरहेका छैनौं। जलविद्युतमा सञ्चय कोषको ठूलो लगानी छ। त्यो पनि सकेसम्म सुरक्षित ठाउँमा लागानी गरौं भन्ने हाम्रो नीति हो।’
यस्तै कोषले आफ्ना बहुमत लगानीमा ४ सय ३९ मेगावाटको बेतन कर्णाली आयोजना बनाउन लागेको छ भने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण आयोजनामा लगानीको तयारी गरेको धितालले सुनाए।