जीवनको उत्तरार्द्धमा साना नातिनीहरूसँग समय बिताउने रहरले अमेरिकाको सार्लट सहर आएको दुई महिना नबित्दै यसको दक्षिणी कुनादेखि उत्तर र पूर्वदेखि पश्चिमी कुनासम्म प्रत्येक स्थान घुम्ने अवसर मिल्यो। साधारणतया बाहिरबाट आउनेले यहाँ बिमा नभएका कारण गाडी चलाउने आँट गर्न सक्दैनन् किनकि केही भई क्षतिपूर्ति दिनुपर्ने अवस्था आयो भने ठूलो समस्या पर्नसक्छ। आफ्नाहरू दिनभरि कि काम वा स्कुल–कलेजमा हुन्छन्।
त्यसैले उनीहरूलाई घर कुर्नुबाहेक अर्को विकल्प रहन्न। यस्तो अवस्थामा हामीले यहाँको सार्वजनिक यातायात सदुपयोग गर्ने सोच राख्यौं। अमेरिकाजस्तो बिरानो देशको बिरानो सहरमा हामी नौला व्यक्ति कसैको साथबिना स्वतन्त्र घुम्नु सहज होइन। तर, पनि सार्लटको व्यवस्थित सार्वजनिक यातायात सञ्जाल र आधुनिक स्मार्ट फोन प्रविधिले हामीलाई सबै सहज बनाइदियो।
अमेरिकाको नर्थ क्यारोलिना राज्यस्थित समुद्री सतहबाट सालाखाला ६ सय ५० फिट उचाइमा रहेको सार्लटलाई म लगभग ४ हजार ५ सय फिट उचाइमा रहेको काठमाडौं उपत्यकासँग दाँज्न पुग्छु। अमेरिकाजस्तो सम्पन्न देशको एक व्यवस्थित सहरलाई काठमाडौंसँग दाँज्नुमा कुनै तुक छैन, तर पनि त्यहाँको विकास, सम्पन्नता र सार्वजनिक यातायातको स्तर र सेवाको स्वरूपबाट हामीकहाँ मात्र किन केही हुन नसकेको होला भन्ने निराशा पलाउँदो रहेछ।
६ सय ६५ वर्गकिलोमिटर क्षेत्रफलको काठमाडौं उपत्यकाभन्दा केही ठूलो अर्थात ८ सय ८ बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सार्लटमा सन् २०२० को जनगणनाअनुसार ८ लाख ७५ हजार जनसंख्या छ। अमेरिकाको दोस्रो महत्वपूर्ण बैंकिङ केन्द्रका रूपमा लिने गरिएको सार्लटमा बैंक अफ अमेरिकालगायत कैयौं वित्तीय एवं व्यापारिक संस्थाका मुख्यालय छन्।
सार्लटको व्यवस्थित सार्वजनिक यातायात सञ्जाल
प्रत्येक परिवारमा कम्तिमा दुइटा गाडी भएर पनि सार्लटमा सार्वजनिक यातायात सञ्जाल पनि उत्तिकै उत्कृष्ट हुनु हाम्रा लागि आश्चर्यको विषय रह्यो। यहाँ दैनिक ६८ वटा सार्वजनिक बस सहरका विभिन्न रुटमा गुड्ने गर्छन्। यसबाहेक उत्तर–दक्षिण र पूर्व–पश्चिम जोड्ने दुई मेट्रो रेल हरेक २०/२० मिनेटमा छुट्ने गर्छ। ती रेल करिब तीन/तीन मिनेट अन्तरालमा निर्माण गरिएका स्टेसनमा करिब १० सेकेन्ड रोकिन्छ र पुनः अघि बढ्छ। प्रत्येक बसको गन्तव्य ती मेट्रो स्टेसनमा पुगेर अन्त्य हुन्छन्। रुटअनुसार प्रत्येक आधा वा एक घन्टा अन्तरालमा छुट्ने ती सबै बसको एकतर्फी भाडा २ डलर २० सेन्ट छ। एकतर्फी टिकट लिए पछि डेढ घन्टासम्म जुनसुकै बस वा मेट्रो रेलमा ट्रान्स्फर हुन पाइन्छ।
सर्वसाधारणलाई निजी गाडीको सट्टा सार्वजनिक बस चढ्न प्रेरित गर्ने उद्देश्यले ठाउँ–ठाउँमा निःशुल्क ‘पार्क एन्ड राइड’ (गाडी पार्किंङ स्थल) स्थापना गरिएका छन्, जहाँ सर्वसाधारण आफ्नो घरबाट निजी गाडीमा आई नजिकको पार्किंङमा राखी बस वा मेट्रो चढेर काममा जान पाइने व्यवस्था मिलाइएको छ। साइकल चालकका लागि बसमा साइकल स्ट्यान्डको व्यवस्था पनि छ। मेट्रो रेलभित्रै पनि साइकल राख्न पाइन्छ। तर, त्यति हुँदाहुँदै यहाँ तीन प्रतिशतले मात्रै सार्वजनिक यातायात उपयोग गर्ने र सहरलाई निजी गाडी नभएकाका लागि अलि अप्ठेरो सहरका रूपमा लिने गरिएको तथ्य एक समाचारमा प्रकाशित भएको पाउँदा अचम्म लाग्यो।
यहाँ सार्वजनिक यातायातमा ६२ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट पाइनेरहेछ। देशीविदेशी सबैले पाउने यो सुविधा ६२ वर्ष उमेर पुगेको प्रमाण र आफू बसेको ठेगाना पेस गरेपछि १ डलर शुल्क लिएर फोटोसहित ज्येष्ठ नागरिक परिचयपत्र बनाइदिने गरिन्छ। परिचयपत्रका लागि हामीकहाँ जस्तो घन्टौं कुर्नुपर्दैन, पाँच मिनेटभित्रै तयार हुन्छ। त्यसैले सार्लट पुगेको भोलिपल्टै हामीले पनि यो परिचयपत्र बनायौं।
अमेरिकामा बस्न वा घुम्नका लागि डेटासहितको एउटा स्मार्टफोन अत्यावश्यक हुने रहेछ। सार्लट पुग्नेबित्तिकै छोरीज्वाइँले ४५ डलरमा तीन महिना अवधिको डेटासहितको एउटा सिमकार्ड हाम्रो मोबाइल फोनमा राखिदिए। त्यसपछि त्यही मोबाइल फोन हाम्रा लागि सम्पर्कको साधन, पथप्रदर्शक र सहारा बन्यो। एउटा स्मार्टफोनले यहाँ जे पनि सहज बनाउँदो रहेछ। नौलो ठाउँ भए पनि मोबाइल फोनकै आधारमा जहाँ पनि जान सकिने।
हिँडेर वा आफ्नै गाडीमा गए पनि फोनको गुगल वा एप्पल म्यापकै सहारा लिनुपर्ने। सार्वजनिक बस यात्राका लागि पनि आफ्नो गन्तव्य राखेपछि कति नम्बर बसमा जाने, कति बजे बस आउँछ, गन्तव्य पुग्न कति समय लाग्छ लगायत जानकारी फोनको गुगल म्यापबाटै थाहा पाइँदो रहेछ। अलमलिए त्यही फोनबाट उबर (नेपालमा पठाओ) बोलाएर गन्तव्य पुग्न सकिन्छ।
बसहरूमा हामीकहाँ जस्तो भाडा लिने कन्डक्टर हुँदैनन्। बस चालकसँगै राखिएको मेसिनमा नोट घुसाएपछि आफैं टिकट निस्किन्छ। यात्रुले आफ्नो आवश्यकताअनुसार एक दिनको, हप्ता वा महिनाभरिको बस पास पनि किन्न सक्छन्। यसबाहेक बैंक कार्ड हुनेले एप डाउनलोड गरी आफ्नो मोबाइलबाटै अनलाइन बस टिकट खरिद गरी यात्रा गर्न सक्ने रहेछ। विदेश यात्रा गर्दा आधिकारिकरूपमा लान पाइने १ हजार ५ सय डलर हामीले बैंककै क्रेडिट कार्डमा जम्मा (अपलोड) गरेका थियौं। त्यसैले यात्राका बेला आफ्नै मोबाइलबाट बस टिकट खरिद गर्न सहज भयो। बस टिकट मोबाइलमै आउँछ। कार्डबाट भुक्तानी भएको जनाउ पनि तुरुन्तै इमेलमा आउँछ। कार्डबाट भुक्तानी गरेवापत नेपालस्थित बैंकबाट ‘क्रस बोर्डर फी’ भनेर एक प्रतिशत सेवा शुल्क लिने गर्दोरहेछ।
न टिकट किन्ने झन्झट, न खुद्रा नगद राख्ने। जाँदा १ डलर १० सेन्ट र फर्किंदा पनि त्यतिकै रकममा सहरको जुनसुकै कुनामा पुग्न सकिने रहेछ। तर, दुःखको कुरा, यसरी अनलाइन बस टिकट किन्दा हरेकपल्ट ५० सेन्ट ‘नबिल सेक्योर ट्रान्ज्याक्सन फी’ भनेर नेपालस्थित नबिल बैंकले थप शुल्क लिने गरेको कुरा महिनाको अन्तिममा पठाइने बैंक स्टेटमेन्टबाट थाहा पाइयो। अमेरिकी राज्य सरकारले ज्येष्ठ नागरिकको हैसियतले एकतर्फी भाडावापत १ डलर १० सेन्ट पाइएको छुटमध्ये ५० सेन्ट त नबिल सेक्योर ट्रान्ज्याक्सन फीवापत कमिसन तिर्नुपर्दा दुःख लाग्यो।
यात्रु भए पनि नभए पनि प्रत्येक स्टपमा बस पूर्वनिर्धारित समयमै पुग्ने गर्दछ। ट्राफिकका कारण ढिलो भइहाले दुई–तीन मिनेटभन्दा बढी फरक पर्दैन। अन्तिम स्टपमा पाँच मिनेट कुर्ने समय पाएका ती बसले ढिला हुन गएको खण्डमा त्यही पाँच मिनेटबाट समय समायोजन गर्ने गर्दारहेछन्।
आश्चर्यको कुरा, ३० सिटको वातानुकूलित अपांगमैत्री बस यात्रा गर्नेमा धेरैजसो हामी दुईजना बुढाबुढीमात्रै हुन्थ्यौं। लाग्थ्यो, ती बस हाम्रै लागिमात्र बनेका हुन्। कार्यालय समयमा भने केही यात्रु हुन्थे तर कहिल्यै पूरै भरिएको पाएनौं। कहिलेकाहीँ काला जातिका तथा आप्रवासी देखिने एक दुईजना यात्रु चढ्थे।
सार्वजनिक सेवाको अनुपम उदाहरण
राज्य सरकारको पूर्णस्वामित्वमा सञ्चालित सार्लटको सार्वजनिक यातायात उत्कृष्ट सार्वजनिक सेवाको एक अनुपम उदाहरण भएको पाएँ। यात्रु भए पनि नभए पनि ती बस आफ्नो रुटमा चलेकै हुन्छन्। प्रत्येक अस्पताल तथा सपिङ मल सार्वजनिक बसको रुटमा समावेश भएका हुन्छन्। सार्लट अमेरिकाको द्रुत गतिमा विस्तार हुँदै गएका सहरमध्ये एक हो। त्यसैले भविष्यको आवश्यकता दृष्टिगत गरी तयार भएका ती पूर्वाधार विस्तार कार्य पनि निरन्तर जारी छ।
काठमाडौंमा मेट्रो रेलको गफ चलेको धेरै भयो तर काम अघि बढ्न सकेको छैन। हालैमात्र एउटा कार्यक्रममा ललितपुरका मेयर चिरिबाबु महर्जनले काठमाडौंका मेयर बालेन साहलाई मेट्रो रेल निर्माणका लागि नेतृत्व लिन आह्वान गरेको समाचार पढेँ। खुसी लाग्यो। ढिलै भए पनि अब त काम अघि बढ्ला कि? तर, सार्लटको अनुभवबाट सिक्नुपर्ने पाठ के हो भने लगानीको प्रतिफल खोजेर बस्ने हो भने काम कहिल्यै अगाडि बढ्न सक्दैन।
चौडा सडक, सडकपेटी पनि त्यतिकै चौडा, ट्राफिक जाम कम गर्न छुट्टै हाइवे/एक्स्प्रेसवेको व्यवस्था। हरेक व्यापारिक भवन तथा मलमा प्रशस्त पार्किङ। मुख्य सहरी क्षेत्र (डाउन टाउन) मा मल्टिलेभल कार पार्किङ देखेर काठमाडौं महानगरले आफ्नो अर्बौंको नगद मौज्दात बैंक खातामा जम्मा गरिराख्नुको सट्टा यस्तो सार्वजनिक हितका काममा किन लगानी नगरेको होला भनी सोच्न पुग्छु।
एक नेपाली पूर्वाधार विज्ञले युरोप-अमेरिकाजस्ता देशमा आवास क्षेत्रको एक चौथाइ भाग सडकले ओगटेको हुन्छ भनेको कुरा सही रहेछ। सिंगापुरमा समेत मेट्रोको आवश्यकताबारे सोच्न १० वर्ष ढिलो हुन गएको बारे उनको भनाइ हाल जनताले न्यूनतम प्रयोग गरिँदा गरिँदै पनि थप विस्तार गरिँदै गरेको सार्लटको पूर्वाधारबाट प्रत्यक्ष अनुभव गरेँ।
तर, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलजस्ता पूर्वाधारलाई फजुल खर्च ठान्ने प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल किन चाहियो भन्ने हामी नेपालीलाई यी कुरा बुझ्न अझै समय लाग्ने छ। काठमाडौं त सपार्नै नसक्ने गरी बिग्रिसक्यो। सार्लटलाई देखेर अब काठमाडौंभन्दा सुविधा सम्पन्न अर्को व्यवस्थित सहर बसाउने सोच राख्नुपर्ने हो कि भनेजस्तो लाग्यो।
सार्लटमा मात्र होइन, नर्थ डकोटाको फार्गो सहरमा पनि यस्तै उत्कृष्ट सार्वजनिक यातायात सुविधा उपभोग गर्न पाएको थिएँ भने हालै हवाईको होनोलुलु सहरको अतिसुन्दर सार्वजनिक बस सञ्जाल पनि उपयोग गर्ने अवसर मिल्यो। होनोलुलुको बस सञ्जाल यति राम्रो छ कि एकतर्फी भाडा तीन डलर तिरेर सहरको जुनसुकै कुनामा पुग्न सकिन्छ। होनोलुलुमा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा ६० प्रतिशत छुट पाइने रहेछ।
सार्लटको ज्येष्ठ नागरिक परिचयपत्रकै आधारमा केवल १ डलर २५ सेन्टमा हामी बस यात्रा गथ्र्यौं। पाँच/१० मिनेट अन्तरालमा बसहरू आउने जाने भइराख्थ्यो र राति १२ बजेसम्म पनि निरन्तर चलिराखेकै हुन्थ्यो न्युयोर्क र क्यालिफोर्नियाको ट्राफिक जाम देख्दा मलाई लाग्छ अमेरिकाको कैयौं सहरमा निजी गाडी प्रयोग गर्नु त्यति सहज नहोला। त्यसैले सार्लटमा झैं अन्य सहरमा पनि सहज सार्वजनिक यातायात व्यवस्था भएको होला भन्ने लाग्दछ।
ज्येष्ठ नागरिकको सम्मान
सार्लटमा मात्र होइन, फार्गो र होनोलुलुमा समेत ज्येष्ठ नागरिक भन्नासाथ छुट दिने गरेको पायौं। कहिल्यै परिचयपत्र माग्ने गरिएन तर नेपालमा सार्वजनिक बसमा ज्येष्ठ नागरिकले छुट माग्दा कहिलेकाहीँ सहचालकबाट गरिने दुर्व्यहार दुर्वचन सम्झिन पुगेँ। त्यहीकारण नेपालको सार्वजनिक यातायातमा कहिल्यै छुट माग्ने आँट नगरेका हामी विदेशमा भने यो सुविधा सहज उपभोग गरिरहेका थियौं। ज्येष्ठ नागरिकमात्र होइन, विद्यार्थी, अशक्त, दृष्टिविहीन, अपांग वा फरक क्षमताका नागरिकका लागि सरकारले पुर्याउँदैआएको सेवा, सुविधा र सम्मानबाट हामीले पनि धैरे सिक्नुपर्ने देखिन्छ।
भविष्यको जोहो
सार्लटको पूर्वाधार विकासबाट हामीले देखेसिकेको कुरा के हो भने भोलिका लागि आजै विचार पुर्याइएन भने पछि पछुताउने अवस्था आउँछ। काठमाडौंकै उदाहरण लिँदा अब यहाँ पूर्वाधार विकास गर्न कति खर्चिलो हुन्छ। सरकार र सम्बद्ध निकायले बेलैमा नसाेचे पर्याप्त पूर्वाधारबिनकाे संघीय राजधानी कस्ताे हाेला, हामी कल्पना पनि गर्न सक्दैनाैं।
(मानन्धर नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हुन्।)