काठमाडौं। बुधबार (चैत ८) ललितपुर लाकुरीभञ्ज्याङमा पत्रकारहरूसँग निकै हर्सित मुद्रामा व्यवसायी आङछिरिङ शेर्पा भन्दै थिए– मैले ३८ वर्ष अगाडि देखेको सपना पूरा भयो। त्यो बेला मैले यहाँ जग्गा किन्न आउँदा मकैबारी थियो, अहिले त्यही ठाउँलाई मैले लक्जरियस रिसोर्ट बनाउन सफल भएँ, तर यति बनाउन धेरै मिहिनेत गरेँ।
शेर्पा उनै हुन् जो दशकौंदेखि साहसिक पर्यटन (एडभेन्चर टुरिज्म) क्षेत्रमा क्रियाशील छन्। खुम्बु क्षेत्रमा दशकौंदेखि होटल तथा रिसोर्टसँगै ट्रेकिङ एजेन्सी सञ्चालन गर्दै आएका शेर्पाको आस्ट्रेक ग्रुप र अर्को व्यापारिक समूह अग्नि ग्रुपको संयुक्त लगानीमा डेढ वर्षदेखि लाकुरीभञ्ज्याङमा सञ्चालन भइरहेको छ– ‘द टेरेसेस रिसोर्ट एन्ड स्पा’।
खुम्बु क्षेत्रमा होटल सञ्चालन गरिरहेकै बेला शेर्पा ललितपुर र भक्तपुरको सिमानामा रहेको लाकुरीभञ्ज्याङ नजिकै (हाल रिसोर्ट भएको जग्गा) मा आइपुग्दा त्यो ठाउँ खुबै मनपरेपछि स्थानीयसँग खरिद गरेका थिए। कतिमा खरिद गरिएको भन्ने जानकारी अहिले बिर्सिएको बताउने शेर्पाले अहिले भने जग्गाको मूल्यांकनसहित होटलमा १ अर्ब लगानी भइसकेको जानकारी दिए।
४० रोपनी क्षेत्रफलमा रिसोर्ट सञ्चालनमा छ। २०४२ सालमा मकैबारी रहेको जग्गा खरिद गरेपछि भविष्यमा यो ठाउँ होटल तथा रिसोर्टका लागि उपयुक्त हुन्छ भन्ने उनले त्यही बेला सोचेका थिए। तत्कालीन फाइदाभन्दा पछि राम्रो हुन्छ भन्ने सोचमा आफूले लिएको बताउँछन्।
खासगरी आफ्नो बसाइ र व्यवसाय पनि हिमाली क्षेत्रमा भएकाले काठमाडौं नजिकैको अग्लो ठाउँमा भविष्यमा गएर ‘लक्जरियस रिसोर्ट’ सञ्चालन गर्ने सपना भने उनले त्यही बेला बुनेका थिए। तर, छोराहरू सानै रहेको र आफू ट्र्ेकिङ क्षेत्रमै बढी क्रियाशील हुनुपरेकाले रिसोर्ट बनाउन समय पाएका थिएनन्।
उनले माओवादी द्वन्द्वकाल अगाडि त्यही ठाउँमा केहि ‘टेन्ट’ राखेर होटल सञ्चालन पनि गरेका थिए। तर, द्वन्द्वपछि भने झन्डै १० वर्षभन्दा बढी समय बन्द गरे।
बिस्तारै आफ्ना तीनैजना छोराले व्यवसायमा साथ दिन थालेपछि भने यो ठाउँमा सुविधासम्पन्न डिलक्स रिसोर्टको अवधारणासाथ अगाडि बढाए। अहिले होटल सञ्चालक समिति अध्यक्षमा मात्र आङछिरिङ बसेका छन् भने प्रबन्ध निर्देशकमा उनका माहिला छोरा तेन्जिङ छन्। अहिले रिसोर्टको सबै काम तेन्जिङले नै सम्हाल्दै आएका छन्।
रिसोर्ट सञ्चालनका लागि आवश्यक जग्गा खरिदमा भन्दा त्यहाँसम्म आउने सडकमार्ग र बिजुली जडान गर्न खर्च बढी लागेको अध्यक्ष शेर्पाको अनुभव छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोमिटर र ठमेलबाट २३ किलोमिटर दुरीमा रहेको रिसोर्टबाट काठमाडौं उपत्यका नजिकबाट नियाल्न सकिन्छ। त्यतिमात्र होइन, त्यहाँबाट माछापुच्छ्रेसहित विभिन्न हिमाल देख्न सकिन्छ।
टेरेसेस नाम किन?
समुद्र सतहबाट २ हजार १० मिटर उचाइमा रहेको रिसोर्टका हरेक कोठा अगाडि खुला ठाउँ राखिएको छ। अर्थात, हरेक कोठाअगाडि बार्दली (टेरेस) राखिएको छ। शान्त र आनन्दले बस्न, रमाउन सकियोस् भन्ने उद्देश्यले सबै कोठा बाहिर बार्दली राखिएकाले यसलाई टेरेसेस रिसोर्ट नामकरण गरिएको प्रबन्ध निर्देशक तेन्जिङ शेर्पाले जानकारी दिए।
त्यतिमात्र नभई, हरेक कोठाबाट काठमाडौं उपत्यका र हरियाली दृष्यावलोकन गर्न सकिन्छ। रिसोर्टमा १६ डिलक्स, दुई सुइट र २८ स्ट्यान्डर्ड गरी ४६ कोठा छन्।
ती कोठामध्ये नेपालीलाई अहिले प्याकेजका रूपमा स्ट्यान्डर्डमा एक जोडीका लागि प्रतिरात २५ हजार र सुइटमा ५९ हजार रुपैयाँ शुल्क तोकिएको रिसार्टका महाप्रबन्धक सुमन श्रेष्ठले जानकारी दिए। यो प्याकेजमा बेलुकाको खाना र बिहानको नास्ताको व्यवस्था हुन्छ।
श्रेष्ठका अनुसार रिसोर्टमा रेस्टुरेन्ट, ब्यांक्वेट हल, स्पा, जिमका साथै स्विमिङ पुलको सुविधा छ। सुइट रुममा भने ज्याकुजीको समेत सुविधा छ।
‘हाइ–इन्ड टुरिज्म’ प्राथमिकतामा
आस्ट्रेक ग्रुपद्वारा सञ्चालित एसियन टे«किङमार्फत नेपालमा लामो समयदेखि बढिभन्दा बढी पैसा खर्च गर्ने ‘हाइ–इन्ड’ पर्यटक ल्याउँदै आएको छ। विषेशगरी सगरमाथा आरोहणमा आउने र त्यस क्षेत्रमा ट्रेकिङ जाने पर्यटक विभिन्न देशबाट ल्याउँदै आएको छ।
तिनै पर्यटकलाई काठमाडौं उपत्यकाभित्र पनि एक रात राख्ने उद्देश्यसाथ टेरेसेस रिसोर्ट सञ्चालनमा ल्याएको अध्यक्ष शेर्पाको भनाइ छ। त्यहाँ विदेशीका लागि कोठा शुल्क न्यूनतम २ सय ८० अमेरिकी डलर निर्धारण गरिएको छ।
विदेशबाट काठमाडौं अवतरण गरेपछि वा विदेश जानुअघि एक रात काठमाडौंका डाँडामा बिताउन चाहनेका लागि उपयुक्त गन्तव्यका रूपमा रिसोर्ट विस्तार गरिँदै लगेको उनले जानकारी दिए।
अहिले कतिपय पर्यटक काठमाडौं अवतरण गरेर सिधै रिसोर्ट आउने र केही दिन आराम गरी त्यहीँबाट हेलिकोप्टरमार्फत हिमाली क्षेत्र जाने गरेका छन्।
त्यस्तै पर्यटक लक्ष्य गरी रिसोर्टले आफ्नै लगानीमा हेलिप्याडसमेत बनाएको छ। यसले खासगरी खुम्बु क्षेत्र जाने पर्यटकलाई राहत पुगेको शेर्पाको भनाइ छ।
सिजनका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै लुक्ला उडान गर्न नपाउने र त्यसका लागि रामेछापको मन्थली विमानस्थल जानुपर्ने बाध्यता रहेकाले हेलिकोप्टरमार्फत जान चाहनेहरू एक रात टेरेस रिसोर्टमा बसेर त्यहीँबाट जान थालेको अध्यक्ष शेर्पाले जानकारी दिए।
त्यतिमात्र होइन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा त्यहाँको मौसम चाँडो खुल्ने भएकाले सिजनका बेला केही हेलिकोप्टर रात्रिकालीन बास राखेर बिहानैबाट उडानसमेत गरेको उनले बताए।
कोरोना महामारीका बीचमा आन्तरिक पर्यटकले भरिभराउ
सन् २०१४ बाट निर्माण सुरु भएको टेरेस रिसोर्ट २०२१ अन्तिमबाट सञ्चालनमा आएको थियो। यसबीच भूकम्प, नाकाबन्दी, कोरोना महामारी र आर्थिक मन्दीको असर भोगेको रिसोर्ट अहिले भने पूर्णसञ्चालनमा आइसकेको छ। कोरोना महामारीबीच सञ्चालनमा आएको रिसोर्टमा सुरुमा आन्तरिक पर्यटकले भरिभराउ भएको शेर्पाले बताए।
खर्चालु नेपाली विदेश घुम्न जान नपाएपछि डाँडाकाँडामा रमाउन आउनेको संख्या बढेको र रिसोर्टले पनि तत्कालीन समयमा आन्तरिक पर्यटक लक्ष्य गरेका कारण सहजै सञ्चालन गर्न सकिएको दाबी रिसोर्ट व्यवस्थापनको छ। बस्तीभन्दा टाढा र जंगलको बीचमा भएकाले पनि टेरेस रिसोर्टले सबैको ध्यान तानेको छ। https://terracesresort.com/