काठमाडौं। अमेरिकी सहयोग नियोगअन्तर्गतकाे मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसिए) नेपालले विद्युत प्रवाह गर्ने ४ सय केभी क्षमताका पाँच ठूला सबस्टेसन बनाउन प्रक्रिया अघि बढाएको छ।
एमसिए नेपालले तीन लटमा पाँच ठूला सबस्टेसन बनाउन लागेको हो। जसअनुसार पहिलो लटमा नुवाकोट रातोमाटे, काठमाडौं लप्सिफेदी र न्यु हेटौंडा सबस्टेसन बनाउने योजना छ।
दोस्रो लटमा बुटबल सबस्टेसन र तेस्रो लटमा दमौली सबस्टेसन निर्माण हुनेछ। सबस्टेसन बनाउन एमसिए नेपालले अन्तर्राष्ट्रिय बोलपपत्र (ग्लोबल टेन्डर) आह्वान गरेको छ।
बोलपत्र पेस गर्ने अन्तिम मिति २०२३ जुन ३० तारिख (२०८० असार ३० गते शुक्रबार) तोकिएको छ। प्रतिस्पर्धाबाट छनौट हुने निर्माण व्यवसायीले सबस्टेसनको डिजाइन, आपूर्ति, जडान, परीक्षण सञ्चालन गर्नुपर्ने छ।
पाँच ठूला सबस्टेसन बनाउन ११ करोड ४० लाख डलर (शुक्रबारको डलरको भाउ अनुसार झन्डै १५ अर्ब रुपैयाँ) लाग्ने अनुमान विकासकर्ता एमसिएले गरेको छ।
सबस्टेसनका लागि थोरै जग्गा आवश्यक पर्ने भएकाले अधिग्रहणको काम पनि सकिएको छ। रातमाटे, दमौली र बुटवल गरी तीन स्थानमा सबस्टेसन निर्माण हुनेछ।
सबस्टेसनबाट काठमाडौं, नुवाकोट, हेटौंडा, दमौली, बुटवल र प्रस्तावित बुटबल–गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन हुँदै भारतमा बिजुली पुग्ने छ।
एमसिए नेपालले २०२२ नोभेम्बर २८ मा प्रसारण लाइन निर्माणका लागि ठेक्का आह्वान गरेको थियो। जसमा आवेदन दिने म्याद चैत ९ गते बिहीबार सकिएको छ।
लप्सिफेदी–रातमाटे–हेटौंडा १ सय १७ किलोमिटर, रातमाटे–न्युदमौली ९० किलोमिटर र न्युदमौली–भारत सीमासम्म १ सय ८ किलोमिटर गरी तीन प्याकेजमा प्रसारण लाइन निर्माण हुनेछ। प्रसारण लाइनको लम्बाइ ३ सय १४ किलोमिटर हुनेछ।
तीन खण्डमा निर्माण हुने प्रसारण लाइनको जिम्मेवारी पनि तीनवटै कम्पनीलाई दिने योजनामा एमसिए नेपाल छ।
एउटै कम्पनीलाई जिम्मेवारी दिँदा काम गर्न नसकेको वा सुस्त भयो भने समग्र प्रसारणलाइन निर्माणमा असर पर्ने भएकाले छुट्टाछुट्टै कम्पनीलाई जिम्मेवारी दिन लागिएको हो। प्रसारण लाइनका लागि २२ करोड ८२ लाख ४७ हजार डलर (२५ अर्ब रुपैयाँ) बढी खर्च हुनेछ।
प्रसारणलाइन, सबस्टेसन, सडक र परामर्शदातालगायत अन्य कामका लागि कूल ६३ करोड डलर (करिब ७० अर्ब रुपैयाँ) लाग्ने छ।
जसमध्य एमसिसीले ५० करोड डलर (करिब ५५ अर्ब रुपैयाँ) अनुदान दिएको छ। बाँकी १३ करोड डलर (करिब १५ अर्ब रुपैयाँ) नेपालको लगानी हुनेछ।