काठमाडौं। उड्डयन नियम मिचेको फेला परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एकसाथ तीन हेलिकप्टर कम्पनीका तीन पाइलटलाई ‘ग्राउन्डेड’ गरेको छ।
प्राधिकरणले दिएको जानकारी अनुसार एयर डाइनेस्टी, फिसटेल (समिट हेलिकोप्टर) र अन्नपूर्ण हेलिकोप्टरका तीन पाइलटलाई उडान गर्न रोक लगाइएको हो।
प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ उडान गर्ने क्षेत्रमा उडान गरेको भन्दै एयर डाइनेस्टी र फिसटेलका एक/एक पाइलटलाई कारबाहीस्वरूप तत्कालका लागि ग्राउन्डेड गरिएको जनाएको छ।
प्याराग्लाइडिङ उडान गर्ने क्षेत्रमा हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाइएको छ। तर, ती दुई हेलिकोप्टर कम्पनीका पाइलटले भने प्राधिकरणको निर्देशन बेवास्ता गर्दै जथाभावी उडान गरेको भेटिएपछि स्पष्टिकरणसमेत सोधेको छ।
कम्पनीलाई स्पष्टिकरण सोधिएको र उडानमा संलग्न पाइलटलाई अर्को निर्णय नभएसम्मका लागि ग्राउन्डेड गरिएको प्राधिकरण एक उच्च अधिकारीले जानकारी दिए।
‘प्याराग्लाइडिङ सञ्चालन भइरहेको क्षेत्रमा हेलिकोप्टर उडान गर्नु आफैंमा जोखिम हो,‘ ती अधिकारीले क्यापिटल नेपालसँग भने, ’भाग्यवस त्यो क्षेत्रमा दुर्घटना भएन।'
त्यसैगरी प्राधिकरणले अन्नपूर्ण हेलिकोप्टर कम्पनीका एक पाइलटलाई पनि कारबाही गरेर ग्राउन्डेड गरेको छ। अन्नपूर्णका ती पाइलटले लुक्ला विमानस्थल टावरका ‘एयर ट्राफिक कन्ट्रोलर’ (एटिसी) सँग नकारात्मक कुराकानी गरेको अडियो रेकर्ड सुनेपछि कारबाही गरेको हो।
पछिल्लो समय हेलिकोप्टर तथा जहाजमा धेरै समस्या आउन थालेको भन्दै प्राधिकरणले निगरानी बढाइरहेको छ। केही समय अघिमात्र श्री एयरलाइन्स र बुद्ध एयरको जहाजमा समस्या आएको भन्दै ग्राउन्डेड गरिएको थियो।