काठमाडौं। पद्म ग्रुप अफ कम्पनिजको पद्म कोलोनी प्रालिले काठमाडौं रामकोट र सुनसरी इटहरीमा दुई ठूला हाउजिङ योजना ल्याउँदै छ। पद्मले ५ अर्ब ६८ करोड रुपैयाँ लगानीमा दुई हाउजिङ योजना ल्याउन लागेको हो।
रामकोटको फेज पाँचमा ३ अर्ब ५० करोड र इटहरीको फेज ६ मा २ अर्ब १८ करोड रुपैयाँ लगानी हुने कम्पनीले जनाएको छ।
कम्पनीले ल्याएको दुई हाउजिङ योजना निर्माण तयारी छ। रामकोटमा ३ सय र इटहरीमा २ सय गरी कूल ५ सय युनिट घर बनाउने योजना पद्मले सार्वजनिक गरेको छ।
काम सुरु गरेको दुई वर्ष अर्थात सन् २०२६ सम्ममा हाउजिङ योजना सम्पन्न गर्ने लक्ष्य पद्म कोलोनीको छ।
रामकोटमा निर्माण हुन लागेको फेज पाँचको ९० प्रतिशत जग्गा खरिदको काम सकिएको छ। हाउजिङ निर्माण काम जारी रहेको कम्पनीले जनाएको छ। इटहरीमा निर्माण तयारीमा रहेको फेज ६ को जग्गा खरिदको काम आधा सकिएको छ। दुवै फेजमा भवन निर्माणको काम आउँदो सन् २०२४ को सुरुमा निर्माण थाल्ने योजना कम्पनीको छ।
हाउजिङ योजनामा २० प्रतिशत कम्पनीले स्वपुँजी (इक्विटी) र ८० प्रतिशत बैंकको ऋण लगानी हुनेछ।
कम्पनीले १ अर्ब २ करोड ७६ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। हाउजिङको काम ८० प्रतिशत पुरा भएपछि मात्र बुकिङ सुरु गर्ने जनाएको छ।
रामकोटमा रहेको पद्मको पाँचौ फेज रिङरोडबाट ६ किलोमिटर दुरीमा छ। कोलोनी परिसरमा शैक्षिक, वित्तीय संस्थाका साथै अस्पताल, खुद्रा पसल र सपिङ मल हुनेछन्।
यस्तै इटहरीमा रहेको पद्मको छैठौं कोलोनी प्रादेशिक राजधानी विराटनगरबाट २५ किलोमिटर टाढा छ।
पद्म ग्रुपको अध्यक्ष राजु कँडेल छन् । कँडेल पद्म हस्पिटालिटी, पद्म मर्चेन्ट कम्पनी, धुनीवेसी आदर्श मल्टिपल कलेजलगायत थुप्रै संस्थाका सञ्चालक छन्। ग्रुपमा ६ क्षेत्रका १५ कम्पनी सञ्चालनमा छन्।
कँडेलले सन् २००३ मा पद्म कोलोनीको नयाँ परियोजना सुरु गरेका थिए। पद्मले सफल रुपमा हाउजिङ परियोजना विकास गरेर पहिलो र दोस्रो फेजको बिक्री गरेको थियो।
पद्मा कोलोनी २००८ मा स्थापना भएको थियो। कम्पनीले हाउजिङ निर्माण र बिक्री व्यवसाय गर्दै आएको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमा रियलस्टेट व्यवसायमा पुँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर साढे ७ प्रतिशत कायम गरेकाले अहिले यो क्षेत्र सुस्त रहेको कम्पनीले जनाएको छ।