काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न ‘प्रतिभा डबली’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
मन्त्रालयले आइडिया स्टुडियोसँगको सहकार्यमा निजामती कर्मचारीको प्रतिभा प्रस्फुटनका लागि नवीन सोच, समस्या पहिचान, समाधानका नवीन उपाय र त्यसका फाइदा उल्लेख गरेर चैत ३० गतेभित्र आवेदन बुझाउन आह्वान गरेको छ।
निजामती कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न गत साल झै यस वर्ष पनि वार्षिक कार्यक्रमअनुसार सरकारी प्रणाली क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवाप्रवाह तथा विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषयमा वा सोका अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्न कार्यक्रम सञ्चालन कार्यविधि जारी गरिएको छ।
प्रतिभा डबली कार्यक्रममा सहभागी हुन चाहने संघ, प्रदेश र स्थानीय तहका कर्मचारीले अनलाइनमार्फत अनलाइन प्रस्ताव पेस गर्न सक्ने छन्। प्रतियोगीले आफ्नो प्रस्ताव पेस गर्ने क्रममा अडियो/भिडियो कपीसमेत अपलोड गर्नुपर्ने छ र सो अडियो भिडियोमा आफ्नो परिचय खुल्ने कुनै किसिमको सामग्री राख्न पाइने छैन।
नविन सोच/इनोभेटिभ आइडिया पेस गरी शीर्ष १० मा छनोट हुने स्थान प्राप्त गर्ने निजामती कर्मचारीले प्रत्यक्ष प्रस्तुतीकरणसमेत गर्नुपर्ने छ। उक्त प्रस्तुति टेलिभिजनमार्फत समेत प्रस्तुत गरिने जनाइएको छ।
प्रतिस्पर्धाबाट छनोट भएका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने निजामती कर्मचारीलाई सम्मान र तोकिएको पुरस्कार प्रदान गरिने छ। एकपटक अनलाइनमार्फत प्रस्ताव पेश गरी नम्बर प्राप्त भइसकेपश्चात् पुनः सच्याउन भने नपाइने बताइएको छ।