काठमाडौं। चालू आर्थिक वर्षको आठ महिनामा फागुन महिनामा सबैभन्दा कम विद्युतीय सवारी नेपाल भित्रिएको पाइएको छ।
भन्सार विभागको तथ्यांकअनुसार फागुन महिनामा यो आर्थिक वर्षकै सबैभन्दा कम १ सय ८९ युनिटमात्र विद्युतीय सवारी नेपाल भित्रिएको हो।
यो आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा २ सय ११ युनिट विद्युतीय सवारी नेपाल भित्रिएको थियो।
त्यसपछि भदौमा २ सय ३, असोजमा २ सय ९१, कात्तिकमा ३ सय १३, मंसिरमा ३ सय ३५, पुसमा ३ सय ९६ र माघ महिनामा २ सय ६० युनिट विद्युतीय सवारी नेपाल भित्रिएको तथ्यांक भन्सार विभागसँग छ। जसअनुसार फागुन महिनामा यो आठ महिना अवधिकै सबैभन्दा कम सवारी नेपाल भित्रिएको देखिन्छ।
भन्सार विभागको तथ्यांकअनुसार यो आर्थिक वर्षको आठ महिनामा भने जम्मा दुई हजार एक सय ९८ कार, जिप र भ्यानजस्ता विद्युतीय सवारी नेपाल भित्रिएका छन्। यो अवधिमा कुल ६ अर्ब १६ करोड ८२ लाख ७१ हजार रुपैयाँबराबरको दुई हजार एक सय ९८ सवारी नेपाल भित्रिएको हो।
यो अवधिमा सय किलोवाट क्षमतासम्मको दुई हजार एक सय ३९, सयदेखि दुई सय किलोवाटको ५२ र २ सयदेखि ३ सय किलोवाटको ७ सवारी साधन नेपाल भित्रिएको तथ्यांक भन्सार विभागसँग छ। यसबाट सरकारले १ अर्ब ७३ करोड ८९ लाख ६३ हजार रुपैयाँ बराबरको राजस्व प्राप्त गरेको छ।
आठ महिनामा भारतबाट ४ अर्ब २५ करोड ५८ लाख रुपैयाँबराबरको एक हजार पाँच सय ७१ युनिट, चीनबाट ९० करोड ७५ लाख बराबरको तीन सय ६८ युनिट र कोरियाबाट ९७ करोड ५६ लाख रुपैयाँबराबरको दुई सय ५२ युनिट विद्युतीय सवारी नेपाल भित्रिएको छ।
त्यस्तै इन्डोनेसियाबाट ६४ लाख रुपैयाँ बराबरको तीन युनिट र अमेरिकाबाट दुई करोड २७ लाख बराबरको चार युनिट विद्युतीय सवारी नेपाल भित्रिएको तथ्यांक भन्सार विभागमा उल्लेख छ।
चालू आर्थिक वर्ष २०७९/८० को आठ महिनामा दुई हजार १ सय ९८ विद्युतीय सवारी नेपाल भित्रिँदा गत आर्थिक वर्ष भरमा भने जम्मा १ हजार आठ सय सात मात्र विद्युतीय सवारी नेपाल भित्रिएको थियो।
यसरी आठ महिनाको अवधिमा फागुनमा विद्युतीय सवारीको आयात घटेको भए पनि गत वर्षको तुलनामा यो वर्षको आठ महिनामा नै सोभन्दा बढी सवारी भित्रिसकेको छ।