काठमाडौं। साना व्यवसायी, घरजग्गा कारोबारी र घरजग्गा धितो राखेर विभिन्न प्रयोजनका लागि ऋण लिएका व्यक्तिहरू टाट पल्टिएपछि बैंक समक्ष आत्मसमर्पण गर्न थालेका छन्।
उनीहरूले आफ्नो ऋण तिर्ने क्षमता नरहेको भन्दै बैंकसमक्ष राखेको धितो बेचविखन गरेर असुली गर्न लिखित निवेदन दिन थालेका छन्।
मुलुकको अर्थतन्त्र सुस्त भएपछि पछिल्लो समय व्यावसायिक वातावरण खच्किएको छ। व्यवसाय खच्किएपछि आम्दानीका स्रोतहरू खुम्चिएसँगै ऋणीहरूले बैंकको साँवा, ब्याज र किस्ता तिर्न नसक्ने स्थिति बढ्दै गएको छ।
स्थिर आम्दानी हुनेहरूको नबढेको तर ब्याजदर बढेका कारण किस्ता र ब्याज तिर्ने रकम बढ्दा भुक्तानी समस्या देखिरहेको छ।
सक्रिय ऋणीहरूले थप बोझ उठाउन नसक्ने र आफैंले आफ्नो सम्पत्ति बेच्ने सामथ्र्य पनि नराख्दा बैंकलाई नै गुहारेर धितो बिक्री गरेर छिटो ऋण असुली गर्न र बाँकी रहेको पैसा उपलब्ध गराउन माग गरिरहेका छन्।
यसले नेपालको वित्तीय क्षेत्रलाई ठूलो धक्का पुग्ने अनुमान गर्न सकिन्छ । गत असोज र पुसमा पनि जेनतेन ब्याज र किस्ता तिरेका ऋणीहरू पनि फागुनमध्यदेखि नै बैंकहरूसँग हारगुहार गर्न थालेका हुन्।
यदि चैतमा ब्याज नतिरे उनीहरू बैंक निगरानीमा पर्छन्। ऋणीहरूले थप ब्याज तिर्नै नसक्ने भन्दै छिटो व्यवस्थापन गर्न बैंकसमक्ष माग गरिरहेका छन्। तर, बैंकहरूले भने समय अगावै ऋणीको धितो बेचबिखन गर्न नमिल्नै भन्दै सम्झाएर फर्काउने गरेका छन्।
बैंकहरूले धितो लिलामी लैजान एउटा प्रक्रिया पूरा गर्नुपर्छ। त्यसका लागि ऋणको ब्याज र किस्ता एक वर्ष नतिरेको हुनुपर्छ। एक वर्ष कटेपछि पनि बैंकले निरन्तर ऋणीसँग समन्वय गर्नुपर्छ। त्यसपछि मात्रै बैंकले फेरि ३५ दिने, १५ दिने, ७ दिने सार्वजनिक सूचना निकाल्नुपर्छ । त्यसो गर्ने बेलासम्म पनि ऋणीले साँवा ब्याज भुक्तानी गर्न नसके त्यस्तो सम्पत्तिलाई गैरबैंकिङ सम्पत्तिअन्तर्गत ल्याउने गर्छ।
त्यसपछि मात्रै सो सम्पत्ति बिक्री गरेर ऋण असुली गर्ने र बढीमा बिक्री भएको अवस्थामा ऋणीलाई नै पैसा फर्काउने कानुनी प्रावधान छ। यो प्रक्रिया पूरा गर्न करिब डेढ वर्षको समय लाग्छ।
किस्ता, साँवा ब्याज बुझाइरहेका असल ऋणीहरूले आफ्नो क्षमता मूल्यांकन गरेर तिर्न नसक्ने निश्कर्षमा पुगेपछि बैंकमा धितो लिलामी गरिदिन भन्दै पुगेका हुन्।
एक बैंकका अनुसार घरजग्गा कारोबारीहरू बैंक आएर धितो लिलामी गरिदिन आग्रह गरिरहेका छन्। ‘महिनामा लाखौं रुपैयाँ ब्याज बुझाउने क्षमता छैन्, बैंकको नजरमा खराब हुनुभन्दा असल ऋणी हुँदै सम्पत्ति लिलाम गरेर आफ्नो ऋण असुली गर्न आउने गरेका छन्,’ एक बैंकरले भने, ‘विगत लामो समयदेखि घरजग्गााको कारोबार ठप्प भएपछि ऋणीहरू बाध्य भएर बैंकमा आउन थालेका छन्।’
बैंकबाट १६ करोड रुपैयाँ ऋण लिएर जग्गा प्लटिङ गरेका एक व्यवसायीका अनुसार, आजीवन बैंकको नजरमा खराब हुनुभन्दा अहिले नै धितो बेचेर ऋण असुली गर्दा राम्रो हुने भएपछि बैंकसँग यस्तो विकल्प लिएर गएको हो।
‘बैंकको ब्याज दिनैपच्छिे बढिरहेको छ, तिर्न सक्ने क्षमतामा निरन्तर ह्रास आइरहेको छ, कालान्तरमा इज्जत नै गुम्ने भएपछि बैंकलाई नै अग्रिम सम्पत्ति लिलाम गरिदेऊ भनेर भन्न गएको हो,’ ती घरजग्गा व्यवसायीले भने।
बैंकका अनुसार व्यवसायी घरजग्गा धितो राखेर ऋण लिएर अन्य व्यवसाय गर्दै आएकाहरू आउन थालेका छन्।