काठमाडौं। नेपालको सबैभन्दा बढी ग्राहक संख्या भएको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले केही दिनअघि मात्र १ अर्ब ९८ करोड रुपैयाँ विदेशी लगानी प्राप्त गरेको छ। यो लगानी प्राप्त गरेसँगै अब वर्ल्डलिंकले आफ्नो बजार विस्तारलाई तीव्रता दिन सक्ने आँकलन गरिएको छ।
सन् २०१९ अक्टोबरमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टले वर्ल्डलिंकमा १ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको थियो। यसअघि र अहिलेको गरी कम्पनीले २ करोड ७२ लाख अमेरिकी डलर (करिब ३ अर्ब ३३ करोड रुपैयाँ) वैदेशिक लगानी भित्र्याएको छ। यो रकम इन्टरनेट सेवा उद्योगमा अहिलेसम्ककै सबैभन्दा ठूलो लगानी हो।
प्रविधि विस्तारमा अर्बौं वैदेशिक लगानी भित्र्याएको वर्ल्डलिंक पछिल्लो समय भने सुस्ताएको देखिन्छ। नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस रिपोर्टअनुसार पछिल्लो समय बजार विस्तारमा वर्ल्डलिंक केही सुस्ताएको देखिन्छ।
रिपोर्टअनुसार बजार वरीयताको पहिलो स्थानमा रहेको वर्ल्डलिंकले २०७८ साल पुसयता आफ्नो बजार हिस्सा कायम राख्न सकेको छैन। गत वर्ष पुस मसान्तमा २९.९९ प्रतिशत बजार हिस्सा ओगटेको वर्ल्डलिंक एक वर्षको अवधिमा २८.८८ प्रतिशतमा खुम्चिएको छ।
प्राधिकरणका अनुसार २०७८ पुसमा वर्ल्डलिंकको ५ लाख ८७ हजार ३ सय ६२ ग्राहक थिए। तर, २०७९ मंसिरसम्म आइपुग्दा उसले १ लाख २९ हजार ७ सय ८८ थप्दै ७ लाख १७ हजार १ सय ५० ग्राहक बनाएको देखिन्छ। तर, अर्को सेवा प्रदायक डिस मिडिया नेटवर्क लिमिटेडले यो अवधिमा वर्ल्डलिंकले भन्दा बढी अर्थात १ लाख ४० हजार ८ सय ९ ग्राहक थपेको छ।
२०१९ मा ५ अर्ब ४ करोड रुपैयाँबराबर कारोबार गरेको वर्ल्डलिंकको आम्दानी २०२१ मा बढेर ७ अर्ब ९५ करोड ४० लाख रुपैयाँ पुगेको छ। २०२२ को नौ महिनामा कम्पनीले ६ अर्ब ७२ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। अघिल्लो वर्षको दाँजोमा गत वर्ष कम्पनीको आम्दानी २१.५३ प्रतिशतले बढेको थियो।
थप १ सय ४० स्थानमा सेवा विस्तार गरेका कारण कारोबार बढेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ। तीन वर्षमा कम्पनीको कारोबार झन्डै ३ अर्ब रुपैयाँ बढेको छ।
गत वर्ष पुस मसान्तमा २.७८ प्रतिशत बजार हिस्सा ओगटेको डिसहोमले एक वर्षमा सबैभन्दा धेरै वृद्धि गर्दै आफ्नो बजार हिस्सा ७.८६ प्रतिशत पुर्याएको छ। यसर्थ पनि वर्ल्डलिंकसामु आफ्नो खुम्चिएको बजार हिस्सा बढाउने र ग्राहक थप्ने होडमा पछि परेको अवस्था सुधार गर्ने चुनौती छ। कम्पनीले पनि सोही अवस्था सुधार गर्न प्राप्त लगानी प्रयोग गर्ने जनाएको छ।
‘हामीले प्राप्त गरेको लगानीले नेटवर्क र सेवा विस्तारमा थप सहयोग गर्ने छ,’ वर्ल्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दीलिप अग्रवालले क्यापिटल नेपालसँग भने, ‘यस साझेदारीले भौगोलिक विकटता भएका ठाउँदेखि सबैको घरमा गुणस्तरीय सेवा विस्तार गर्न मद्दत पुग्नेछ जसले हाम्रो बजार हिस्सा बढाउन र ग्राहक थप्न सहयोग नगर्ने कुरै भएन।’
यसो त वर्ल्डलिंकमा लगानी गर्ने बेलायत सरकारको विकास वित्त संस्था एवं लगानीकर्ता ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बिआइआई) र डोल्मा इम्प्याक्ट फन्ड (डिआइएफ) पनि आफूहरूको लगानीले वर्ल्डलिंकलाई नेपालमा भरपर्दो र सस्तो इन्टरनेट सेवासाथ कठिन क्षेत्रमा पुर्याउन, रोजगारी सिर्जना गर्न र स्थानीय अर्थतन्त्र सुधार गर्न सहयोग गर्ने बताएका छन्।
अन्य सेवा प्रदायकका बजार अवस्था
हुन त यो अवधिमा वर्ल्डलिंकको मात्र बजार हिस्सा खुम्चिएको होइन। यो अवधिमा नेपाल टेलिकम, सुबिसु, ब्रोडलिंकलगायत कम्पनीको समेत बजार हिस्सा खुम्चिएको छ। तर डिसहोम, भायनेट, सिजीनेट, वेबसर्फरजस्ता कम्पनीले भने एक वर्षमा आफ्नो बजार हिस्सा वृद्धि गर्न सफल भएका छन्।
प्राधिकरणको रिपोर्टअनुसार यो अवधिमा नेपाल टेलिकमले सबैभन्दा धेरै बजार हिस्सा गुमाएको छ। गत वर्ष १५.८१ प्रतिशत बजार हिस्सा ओगटेको टेलिकमले एक वर्ष अवधिमा ४.१५ प्रतिशत गुमाउँदै ११.६५ प्रतिशत बजार हिस्सामा चित्त बुझाएको छ।
अर्को सेवा प्रदायक सुबिसुले यो अवधिमा ३.१८ प्रतिशत बजार हिस्सा गुमाएको छ। गत वर्ष १२.८३ प्रतिशत बजार हिस्सा ओगटेको सुबिसु यो अवधिमा ९.८१ प्रतिशतमा खुम्चिन पुग्यो।
गत वर्ष पुसमा २.७८ प्रतिशत बजार हिस्सा ओगटेको डिसहोमले एक वर्षमा व्यापक बजार विस्तार गर्दै ७.८६ प्रतिशत पुर्यायो भने २९.९९ प्रतिशत बजार हिस्सा ओगटेको वर्ल्डलिंक एक वर्षमा २८.८८ प्रतिशतमा खुम्चियो। यही अवधिमा सेवा प्रदायक कम्पनी ब्रोडलिंक ०.५४ प्रतिशत बजार हिस्सा गुमाउँदै २.१९ प्रतिशतमा सीमित भएको छ।
त्यस्तै भायनेटले यो अवधिमा १.८७ प्रतिशत बजार हिस्सा विस्तार गर्यो भने वेबसर्फरले एक, सिजीनेटले १.१६ तथा क्लासिक टेक र टेकमाइन्ड्सले झिनो मात्रामा बजार हिस्सा विस्तार गरे।
कुन सेवा प्रदायकका ग्राहक कति?
ग्राहक संख्याका हिसाबले अन्य सेवा प्रदायक कम्पनीभन्दा वर्ल्डलिंक नै पहिलो स्थानमा छ। हाल उसका ७ लाख १७ हजार १ सय ५० ग्राहक छन्। एक वर्ष अघि २०७८ पुससम्ममा वर्ल्डलिंकका ५ लाख ८७ हजार ३ सय ६२ ग्राहक थिए।
तर, यो एक वर्षमा वर्ल्डलिंकले १ लाख २९ हजार ७ सय ८८ ग्राहक वृद्धि गरेको छ। यो अवधिमा अर्को डिसहोमले १ लाख ४० हजार ८ सय ९ ग्राहक वृद्धि गर्दै संख्या १ लाख ९५ हजार २ सय ९५ पुर्यायो। एक वर्षअघि यसको ग्राहक संख्या ५४ हजार ४ सय ८६ मात्र थियो।
एक वर्षयता टेलिकमले २० हजार ८९ ग्राहक गुमाएर २ लाख ८९ हजार ४ सय ६५ मा खुम्चियो।
त्यस्तै सुबिसुले ७ हजार ५ सय ७६ ग्राहक गुमाउँदै २ लाख ४३ हजार ६ सय ७९ ग्राहकमा खुम्चिन पर्यो।
प्राधिकरणको रिपोर्टअनुसार हाल भायनेटका २ लाख ५२ हजार ३ सय ५५, वेबसर्फरका १ लाख १३ हजार २ सय ८१, ब्रोडलिंकका ५४ हजार ३ सय ९८, क्लासिकटेकका २ लाख ५८ हजार ९ सय ४७ र टेकमाइन्ड्सका १ लाख ८ हजार ९ सय ९१ ग्राहक छन्।
त्यस्तै सिजीनेटको ४२ हजार १० र अन्य सेवा प्रदायकका २ लाख ७ हजार ६ सय ८ गरी सबै सेवा प्रदायकका ग्राहक जोड्दा २४ लाख ८३ हजार १ सय ७९ रहेको तथ्यांकले देखाउँछ।
यसरी केही सेवा प्रदायक कम्पनीले बजार विस्तार गर्ने र ग्राहक वृद्धि गर्ने काममा फड्को मारेको देखिन्छ भने केही ओरालो लागेको देखिन्छ। हाल वर्ल्डलिंकले ठूलो लगानी पाएकाले अन्य सेवा प्रदायकलाई प्रतिस्पर्धा गर्न थप कठिनाइ हुने चर्चा पनि हुन थालेको छ।