काठमाडौं। गत फागुन २५ मा काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी आउनेबित्तिकै नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान) ले सम्पूर्ण जहाजलाई ग्राउन्डेड गर्यो । तर, समस्या भैरहवा उडेको त्यही जहाजमा मात्रै थियो ।
तर, प्राधिकरणका प्राविधिक टोलीले श्री एयरलाइन्सको सबै जहाजको डकुमेन्ट मगाएर अनुसन्धान गरेपछि मात्र बेलुका अन्य जहाजलाई उडान अनुमति दियो ।
तर, चैत ४ गते शनिबार काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजको इन्डिकेटरमा समस्या देखियो। क्यानले बुद्ध एयरका अन्य जहाजलाई ग्राउन्डेड गराएन र अनुसन्धान पनि गरेन।
यी दुई घटनाबाट क्यान नेतृत्वको बुद्ध एयरप्रतिको लगाव र झुकाव कति छ भन्ने प्रष्ट हुन्छ। ९ दिनअघि श्रीको एउटा जहाजमा समस्या देखिँदा सबै ग्राउन्डेड गर्ने र ९ दिनपछि अर्को कम्पनीको जहाजमा समस्या देखिँदा त्यो बाहेक अन्य जहाज ग्राउन्डेड नगर्नुले नियामक निकायले बुद्ध एयरलाई काखा र श्री एयरलाई पाखा गरेको देखिएको छ।
‘क्यानले कि श्री एयरका अन्य जहाजलाई ग्राउन्डेड गर्नु हुँदैन थियो । कित चैत ४ गते बुद्धका पनि सबै जहाज ग्राउन्डेड गरेर श्रीको जस्तै अनुसन्धान पछि मात्रै उडान अनुमति दिनुपर्थ्याे ,’ प्राधिकरणका पूर्व एक महानिर्देशकले क्यापिटल नेपालसँग भने, ‘क्यानले बुद्धलाई देखिने गरी काखी च्यापेको छ भने श्रीलाई पेलेको देखिन्छ।’
नियामक निकायले एउटा सेवा प्रदायकलाई काँखी च्याप्ने र अर्कोलाई पेल्ने नीति लिनु कदापी राम्रो नभएको ती महानिर्देशकको भनाइ छ। ती अधिकारीका अनुसार क्यानले पटक–पटक बुद्ध र यती एयरप्रति उदारता देखाएको पाइन्छ।
क्यानका नेतृत्वका ती कम्पनीसँग कस्तो खाले सम्बन्ध छ, त्यसबारे आफूलाई केही जानकारी छैन, तर जेजस्ता निर्णय गरेका छन्, त्यो रहस्यमय देखिन्छ। महानिर्देशक प्रदीप अधिकारीले नियामकीय अधिकार प्रयोग गरेर बुद्धलाई न्याय र श्रीलाई अन्याय गरेका हुन्।
ती पूर्वमहानिर्देशकका अनुसार एक पटक मात्रै होइन्, बारम्बार अधिकारीले बुद्ध र यतीलाई समान व्यवहार र श्रीलाई अर्कै व्यवहार गरेका कैयौं उदाहरण छन्। यो पछिल्लो पटक भएकाले सबैको नजरमा परेको ती अधिकारीले बताए।
‘यदि क्यानले एउटा जहाजमा समस्या देखिँदा सबै जहाज परीक्षण गर्ने नीति लिएको भए बुद्धका हकमा त्यही लागू गर्नुपर्ने थियो। तर, त्यसो गरेको देखिएन’ ती महानिर्देशकले भने, ‘बिनास्वार्थ एउटा कम्पनीलाई च्याप्ने र अर्कोलाई फ्याक्ने गरिँदैन।’