कास्की। देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन(पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ।
नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएपछि पहिलोपटक आगामी मे २९ देखि जुन १ सम्म सो संस्थाको शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल मार्ट पोखरामा आयोजना हुन लागेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिृकत डा. धनञ्जय रेग्मीले जानकारी दिए।
नेपाल सरकार, पर्यटन बोर्ड तथा पाटाको मुख्य आयोजनामा हुने कार्यक्रमको स्थानीय संयोजन पोखरा परिषद्ले गर्ने पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
शिखर सम्मेलनका लागि नेपाल पर्यटन बोर्डका अध्यक्षसमेत रहेएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको र समितिमा पर्यटनसँग सम्बन्धित विभिन्न संघ-संस्था सदस्य छन्।
कोभिड–१९ पछि उठ्दै गरेको नेपालको समग्र पर्यटन क्षेत्र र विशेषगरी पोखरा र गण्डकी प्रदेशको पर्यटनका लागि मार्ट र शिखर सम्मेलन कोसेढुङ्गा हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए। उनका अनुसार नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने र काम गर्ने अवसर कार्यक्रमले प्रदान गर्नेछ।
उनले भने, “नेपालले तेस्रो पटक एडभेन्चर मार्ट र पहिलोपटक पाटा शिखर सम्मेलन आयोजना गर्न लागेको छ। कार्यक्रमले नेपालको पर्यटनमा थप माइलेज बढ्ने अपेक्षा गरेका छौं। यसबाट पर्यटक आगमनमा वृद्धि हुने र सन् २०२३ को अन्त्यसम्ममा नेपालको पर्यटन कोभिड–१९ पूर्वको अवस्थामा पुग्ने विश्वास गरिएको छ ।”
शिखर सम्मेलनमा १५ देशका गन्तव्य प्रमुख सम्मिलित पाटा कार्यकारी बोर्ड सदस्यको सहभागिता रहनेछ। नेपालले पहिलोपटक आयोजना गर्न लागिको प्रतिष्ठित पाटा शिखर सम्मेलनले नेपाल र पोखरालाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउने विश्वास गरिएको छ।
एडभेन्चर मार्टमा विश्वभरका तीन सय अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, साहसिक र पर्वतीय पर्यटनलगायतका विषयमा गहन छलफल हुने पाटाका इन्टरनेसनलका सचिव सुमन पाण्डेले बताए।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कार्यक्रमले पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने जनाउँदै महानगरले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।