काठमाडौं। आर्थिक गतिविधि दिन प्रतिदिन खुम्चिँदै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले निजी क्षेत्रका प्रतिनिधि तथा संगठनसँग सघन छलफल थालेको छ। अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिक अर्थतन्त्र तहस नहस हुँदै गएपछि निजी क्षेत्रसँग अन्तक्रिया थालेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद मनीष झाले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नीतिगत रूपमा के कस्ता कार्य गर्नुपर्छ भनेर निजी क्षेत्रसँग छलफल थालिएको बताए।
रास्वपाले मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग भेटेर छलफलको थालनी गरेको हो। रास्वपाका संसदीय दलका नेता डिपी अर्यालको नेतृत्वमा महासंघमै टोली गएको थियो।
आन्तरिक अर्थतन्त्र चलायनमा नहुने, उत्पादन दिन प्रतिदिन घट्ने, बजारमा माग शून्य प्रायः हुनुको कारण रास्वपाले महासंघका पदाधिकारीसँग छलफल गरेको सांसद झाले बताए।
अर्थतन्त्रसँग सरोकार राख्ने हरेकसँग छलफल गर्ने उनको भनाइ छ। महासंघसँग छलफल गरिसकेको रास्वपाले बुधबार नेपाल उद्योग परिसंघसँग पनि छलफल गर्ने बताएको छ।
सरकारमा जाने तयारीमा रहेको रास्वपाले अर्थतन्त्रमा देखिएको समस्यालाई गम्भीर रूपमा लिएर निजी क्षेत्रसँग आफैं छलफलमा गएको झाले बताए। ‘ऋणीले ऋण तिर्न सकेका छैन, उद्योगीहरू २० प्रतिशत क्षमता उद्योग चलाएर बसेका छन्, बजारमा लगानीयोग्य रकमको अभाव छ,’ झाले भने, ‘नीतिगत रूपमा समस्या सल्ट्याउन नसके आगामीमा अर्थतन्त्र झन् खराब हुने खतरा बढेपछि छलफललाई ब्यापक बनाउन लागेको हो।’