काठमाडौं। उद्योगी/व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्ने समय नजिकिँदै जाँदा व्यवसायीबीच उम्मेदवार टुंगो लगाउने विषय पेचिलो बन्दै गएको छ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ आफ्नो कित्ता ‘क्लियर’ गरेर चुनावी प्रचारमा लागिसकेका छन्। तर, बाँकी दुई उपाध्यक्ष रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले भने वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने घोषणा गरे पनि अहिलेसम्म आफ्नो ‘टिम’ घोषणा गरेका छैनन्।
महासंघ निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय चैत २१ तोकेको छ। निर्वाचन मिति जति नजिकिँदै गएको छ, त्यति नै व्यवसायीले चुनावी प्रचार तीव्र पार्दै गएका छन्। अहिले व्यवसायी विभिन्न गुटउपगुट बनाएर निर्वाचन प्रचारमा लागिरहेका छन्।
निर्वाचन नजिकिएसँगै भावी अध्यक्ष अर्थात वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन रहेको दाबी पेस गर्दै संघई र श्रेष्ठ (उमेशलाल) ले वरिष्ठ उपाध्यक्षको उम्मेदावारका रूपमा प्रचार गरिरहेका छन्।
संघई र श्रेष्ठले दाबी गर्दै प्रचार गरिरहँदा अर्का उम्मेदवार अञ्जनले भने निर्वाचन जितेपछि अध्यक्ष बन्न लागेका ढकाललाई सहयोग गर्ने कूटनीतिक भाषा प्रयोग गर्दै आएका छन्।
‘अहिले नै मलाई ढकालको साथ छ भनेर भन्दिनँ,’ सोमबार गण्डकी प्रदेशको साधारणसभामा अञ्जनले भने, ‘मैले जितेर गएपछि उहाँको कार्यकाल सफल बनाउन लाग्ने छु।‘
अञ्जनले कूटनीतिकरूपमा ढकालको साथ अन्तिममा आफैंले पाउने भाषा प्रयोग गरे पनि संघई र उमेशलालले भने आफूहरूलाई पूर्णरूपमा ढकालको साथ रहेको र टिम एउटै भएको दाबी गरिरहेका छन्।
सोही कार्यक्रममा बोल्दै संघईले सुरुदेखि नै ढकालको टिममा आफू रहेको र योपटकको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि ढकालको साथ रहने दाबी पेस गरे।
यस्तै अर्का उम्मेदवार उमेशलालले पनि योपटकको निर्वाचनमा ढकालको साथ आफूलाई नै रहेको दाबी गरे। संघई र श्रेष्ठले दाबी गरिरहँदा ढकालले भने कुनै प्रतिक्रिया र प्रतिबद्धता जनाएन्।
ढकालले वरिष्ठ उपाध्यक्षमा तीनमध्ये जो आए पनि आफ्नो समर्थन रहेको र महासंघलाई बलियो बनाएर लैजाने पक्षमा आफू रहेको बताउँदै आएका छन्।
भवानी र शेखरले गरेको गल्ती नदोहोर्याउने पक्षमा ढकाल
महासंघ निर्वाचनमा लामो समयदेखि ‘प्यानल’ बनाएर निर्वाचन लड्ने परम्परा छ। खासगरी अध्यक्षले वरिष्ठ उपाध्यक्षसहितको टिम कस्तो बनाउने भनेर टिम नै खडा गरी प्रचारमा लागेको पाइन्छ।
विगतमा भवानी राणा अध्यक्ष बन्नै लाग्दा उनले वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छासहितको टिम बनाएर चुनावी प्रचारमा लागेकी थिइन्।
आफू अध्यक्षमा पक्का भएपछि वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीहरू क–कसलाई ल्याउने भन्ने विषयमा चासो राखेको र चुनावअघि नै महासंघलाई दुई धारमा लगेको भन्दै राणाको चर्को विरोध भएको थियो।
तर, राणाकै शैली पच्छ्याउँदै वर्तमान अध्यक्ष शेखर गोल्छाले भने किशोर प्रधानलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनाएर चुनावी प्रचारमा लागेका थिए। विडम्बना प्रधानले चुनाव हारे र हालका वरिष्ठ उपाध्यक्ष ढकालले चुनाव जिते।
वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा जो आए पनि महासंघमा पछि सबै पक्षसँग मिलेर काम गर्नुपर्छ भन्ने हेक्का नराखेको भन्दै पूर्वअध्यक्ष राणा र वर्तमान अध्यक्ष गोल्छाले चर्को आलोचना सहनुपरेको भन्दै ढकाल भने आफूलाई त्यसबाट केही हदसम्म टाढा राख्ने प्रयासमा छन्।
त्यही भएर पनि उनले अहिलेसम्म कुनै पक्षलाई सार्वजनिकरूपमा प्रतिबद्धता जनाएका छैनन्। उनले पटक–पटक महासंघमा अब आउने पदाधिकारीमा आफ्नो कुनै प्यानल नरहने र जो आए पनि मिलेर जाने भनिरहँदा रामचन्द्र र उमेशलालले जबर्जस्ती आफ्नो पक्षमा भएको दाबी गरेर विवादमा ल्याउन खोजिरहेको भन्दै ढकाल रुष्ठ बनेका छन्।
ढकालनिकट एक व्यवसायीका अनुसार अहिले ढकाल कुनै पक्षमा नखुल्ने र गोप्य मतदानबाट निर्णयमा पुग्ने मनस्थितिमा छन्। तथापि, निर्वाचनको समय अझै बाँकी रहेकाले पछि कहीँ खुल्छन् कि भन्ने आशंका पनि गर्न थालिएको छ।
चैत २८ पछि स्वतः अध्यक्ष बन्न लागेका ढकाल अहिले जिल्लामा हुने अधिकांश महासंघका कार्यक्रममा सहभागिता जनाइरहेका छन्। तर, उनले ती कार्यक्रममा संम्बोधन गर्ने क्रममा आफूले कुनै प्यानल नबनाएको बताइरहेका छन्।