काठमाडौं। उद्योगी/व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको ‘टिम’ मा अर्का दाबेदार दिनेश श्रेष्ठको ‘इन्ट्री’ भएको छ।
हाल जिल्लानगर उपाध्यक्ष रहेका श्रेष्ठ वरिष्ठ उपाध्यक्ष बन्ने दौडमा लागे पनि उमेशलाललाई साथ दिन पुनः दोहोरिने निर्णयमा पुगेका हुन्।
जिल्लानगर उपाध्यक्षमा दिनेशलाई पुनः उम्मेदवार बनाउँदा उमेशलालको टिम बलियो बन्ने निष्कर्ष उनीनिकट व्यवसायी पुगेका हुन्। जसका कारण दिनेश पुनः जिल्लानगरतर्फ उपाध्यक्ष बन्न राजी भएका छन्।
यसअघि वरिष्ठबाहेक पदमा उम्मेदवारी नदिने अडानमा रहेका दिनेशले अन्ततः उमेशलाललाई अघि सारेको उनीनिकट एक व्यवसायीले जानकारी दिए।
दिनेशको ठाउँमा सुरुमा डिबी बस्नेत जिल्लानगर तर्फबाट उम्मेदवार बन्ने चर्चा पनि चलेको थियो। तर, दिनेशलाई अहिले महासंघ बाहिर राख्दा अर्कोपटक वरिष्ठको उम्मेदवार बन्न असहज हुने र परिस्थिति फरक पर्ने भन्दै बस्नेतलाई पछाडि राखेर दिनेशलाई अगाडि बढाइएको ती व्यवसायीको भनाइ छ।
बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरका विषयमा पछिल्लो समय जिल्लानगरका उद्योगी÷व्यवसायीले गरेको आन्दोलनमा महासंघका तर्फबाट दिनेशले नै नेतृत्व गर्दै आएका थिए।
हुन त जिल्लानगर उपाध्यक्षको मुख्य जिम्मेवारीभित्र नै जिल्ला तथा नगरका व्यवसायीको समस्या समाधानमा सहकार्य गर्ने भएकाले पनि उनी धेरै ठाउँमा देखिएका थिए। सडक आन्दोलन होस् या सरकारीस्तरमा गरिएका वार्तामा समेत श्रेष्ठले नै नेतृत्व गरेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरी व्यवसायीको माग सम्बोधन गर्ने आश्वासन पाएपछि आन्दोलन तत्कालका लागि स्थगन भएको छ। व्यवसायीको माग सरकारसम्म पुर्याउन दिनेशको भूमिका महत्वपूर्ण रहेको सन्देश व्यवसायीलाई दिएर त्यसको प्रतिफल वरिष्ठ उपाध्यक्षमा उमेशलाललाई जिताएर दिनेश पुनः जिल्लानगरमा दोहोरिने निष्कर्षमा उनीनिकट व्यवसायी पुगेका छन्।
त्यसको जस लिँदै जिल्लानगर क्षेत्रको भोट कब्जा गर्न भए पनि दिनेशलाई अगाडि बढाउनुको विकल्प नभएकाले उनलाई अगाडि सारिएको बताइन्छ। तीन वर्षअघि भएको निर्वाचनमा दिनेश वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समूहबाट निर्वाचित भएका थिए। जिल्लानगरमा राम्रो प्रभाव राख्दै आएका दिनेशले धुलिखेल उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गर्दै आएका छन्।
भरत आचार्यको धरमरले एसोसिएटको उम्मेदवार अझै अनिश्चित
दिनेशको इन्ट्रीपछि जिल्लानगरको टिमसमेत तयार भए पनि हालसम्म एसोसिएटतर्फका उम्मेदवार भने टुंगो लाग्न सकेको छैन। वस्तुगततर्फ हेमराज ढकाललाई निश्चित गराए पनि एसोसिएटमा उम्मेदवार भन्दै आएका भरत आचार्यको धरमरका कारण अन्य उम्मेदवारमेत खोजी भइरहेको छ।
आचार्यलाई आफ्नो टिमको दाबी उमेशलालले गर्दै आए पनि आचार्य आफैंले भने मुख खोलिसकेका छैनन्। जसले गर्दा उमेशले आफ्नो प्यानल घोषणा गर्न ढिलाइ गरिरहेका छन्।