एजेन्सी। ९२ वर्षका वृद्धले विवाह गर्छन् भनेर पत्याउन गाह्रो पर्छ। तर, अमेरिकाका ‘मिडिया टाइकुन’ ले ९२ वर्षको उमेरमा पाँचौंपटक विवाह गर्दैछन्। ती हुन्– रुपर्ट मर्डोक।
उनले आफ्नी साथी ६६ वर्षीया पूर्वप्रहरी पादरी एन लेस्ले स्मिथसँग विवाह गर्न लागेका हुन्। उनीहरूले इन्गेजमेन्ट भएको घोषणा गरेका छन्। यो जोडीको गत वर्ष सेप्टेम्बरमा क्यालिफोर्नियास्थित मर्डोकको घरमा आयोजित कार्यक्रममा भेट भएको थियो।
मर्डोकले यो खुसी आफ्नै मिडिया हाउस न्युयोर्क पोस्टसँग खुलासा गरेका छन्। उमेरका कारण यो उनको अन्तिम प्रेम पनि हुनसक्छ। उनी अहिले खुसी छन्। सेन्ट प्याट्रिक दिवसमा स्मिथलाई विवाहको प्रस्ताव गरेको बताएका छन्। मर्डोकले चौथी श्रीमती जेरी हलसँग अगस्ट २०२२ मा सम्बन्धविच्छेद गरेका थिए।
स्मिथको श्रीमानको पनि एउटा भाइनयार्ड थियो भने उनले मदिरा व्यवसाय गरेका थिए। स्मिथ विधवा भएको १४ वर्ष पुगेको छ। एनका स्वर्गीय पति चेस्टर स्मिथ गायक, रेडियो र टिभी कार्यकारी थिए।
‘७० वर्ष नजिक पुग्नु भनेको अन्तिम आधामा हुनु हो। म सही समयको पर्खाइमा थिएँ। साथीहरू मेरा लागि खुसी छन्,’ उनले न्युयोर्क पोस्टसँग भनिन्।
मर्डोकको अघिल्लो तीन विवाहबाट ६ सन्तान छन्। दम्पतीले आफ्नो समय क्यालिफोर्निया, मोन्टाना, न्यूयोर्क र बेलायतमा बिताउने योजना बनाएका छन्। विवाह आउँदो गर्मीको अन्त्यमा हुने तय गरिएको छ।
मर्डोकले यसअघि अस्ट्रेलियाली फ्लाइट अटेन्डेन्ट प्याट्रिसिया बुकर, स्कटल्यान्डमा जन्मिएकी पत्रकार अन्ना मान र चिनियाँ मूलकी उद्यमी वेन्डी डेङसँग विवाह गरेका थिए। यी सबैसँग उनको सम्बन्ध विच्छेद भइसकेको छ।
रुपर्टले मार्च ११ मा आफ्नो ९२औं जन्मदिन मनाएका थिए। जबकि, उनको कम्पनीले अमेरिकी चुनावको समयमा मानहानीसम्बन्धी मुद्दा सामना गरिरहेको छ। उनको एउटा तस्बिर २२ वर्षकी छोरी ग्रेसले इन्स्टाग्राममा सेयर गरेकी हुन्।
को हुन रुपर्ट?
अस्ट्रेलियन मूलका अमेरिकी नागरिक रुपर्ट न्युयोर्कमा बस्छन्। उनी न्युज कर्पोरेसनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्। उनको सम्पत्ति अहिले १७ अर्ब २० करोड डलर छ। उनी फोब्र्सको अर्बपति सूचीमा ७६औं स्थानमा छन्।
२०१३ देखि उनको सम्पत्ति बढ्दै गएको छ। उनको आम्दानी पत्रपत्रिका र टेलिभिजन च्यानलको व्यापारबाट हुने गरेको छ। अक्सफोर्ड विश्वविद्यालयबाट आर्ट्समा स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका छन्। मर्डोकले १९७६ मा न्युयोर्क पोस्ट किनेका थिए।
मर्डोकले मिडिया साम्राज्यलाई नियन्त्रण गर्छ जसमा केबुल च्यानल फक्स न्युज, द टाइम्स अफ लन्डन र द वाल स्ट्रिट जर्नल समावेश छन्।
मर्डोकले फक्सको अधिकांश चलचित्र स्टुडियो र नेसनल जियोग्राफिक नेटवर्कहरू र स्टार इन्डियामा रहेको आफ्नो सेयर डिज्नीलाई मार्च २०१९ मा ७१.३ अर्ब डलरमा बेचेका थिए।
मर्डोकका छोरा लाचलान नयाँ फक्स टेलिभिजन चलाउँछन्। जसमा यसको प्रशारण, केबुल समाचार, व्यापार र खेल सञ्जाल छन्।रुपर्टले माइक ब्लुमबर्गलाई डोनाल्ड ट्रम्पविरूद्ध राष्ट्रपतिका लागि उम्मेदवार हुन आग्रह गरेका थिए।