वीरगन्ज, १८ कार्तिक । नेपाली चलचित्र निर्माणको ५० बर्ष पूरा भएको अवसरमा वीरगन्जमा पहिलो पटक नेपाली चलचित्र स्वर्णिम महोत्सवको आयोजना हुन लागेको छ ।
नेपाल चलचित्र निर्माता संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुन लागेको नेपाली चलचित्र स्वािर्णम महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । महोत्सवका बारेमा जानकारी गराउन आईतबार वीरगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आगामी कार्तिक २१, २२ र २३ गते आयोजना हुने महोत्सवको उदघाटन राष्ट्रपति बिद्यादेबी भण्डारीले गर्ने जनाएको छ ।
महोत्सब तयारी समितिका संयोजक एवम् चलचित्र निर्माता संघका उपाध्यक्ष बिमल पौडलले तराइ, मधेश, पहाड र हिमालका संस्कृतिलाई जोडेर राष्ट्रिय एकता र सदभाव कायम राख्दै पर्यटन प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको बताए । उनले मधेसका संस्कृति, भाषा, भेषभूषा तथा कलाहरु नेपाली चलचित्रमा समेटेर मूलधारको कलाक्षेत्रमा ल्याउनुपर्छ भन्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताए ।
तीन दिन सम्म चल्ने महोत्सवमा भारतका चर्चित अभिनेता गोबिन्दाको पनि सहभागिता रहने बताइएको छ । नेपाली चलचित्रलाई समयानुकूल र मौलिक एवं देश, काल र परिस्थिति अनुसार कथा तयार गरि चलचित्र निर्माण गर्न महोत्सव फलदायी हुने आयोजकले अपेक्षा लिएका छ ।
महोत्सवमा कलाक्षेत्रमा चासो राख्नेहरुको लागि चलचित्र सम्बन्धि विभिन्न विधामा कार्यशाला तथा प्रशिक्षणहरु पनि हुनेछ । त्यस्तै प्राविधिक तालिमको लागि भारतबाट दक्ष प्राविधिकहरुको प्रशिक्षण पनि रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । विज्ञान र विचारसँगै नेपाली चलचित्रलाई अभ्यस्त बनाई अन्तराष्ट्रिय स्तरको चलचित्र निर्माणमा सहयोग पुग्ने उद्देश्यले पनि प्रविधिक प्रशिक्षण उपयोगी हुनेमा आयोजक विश्वत रहेको छ ।
महोत्सव आयोजनाका लागि वीरगन्ज महानगरपालिका, नेपाल भ्रमणबर्ष २०२० अन्तर्गतको प्रदेश नम्बर २ को पर्यटन प्रवद्र्धन समिति, नेपाल चलचित्र विकास वोर्ड, वीरगन्ज उद्योग वाणिज्य संघले पनि साथ दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै बीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले महोत्सव आयोजनाले यस क्षेत्रको भाषा, कला, संस्कृति एवं कलकारहरुलाई देश बिदेशमा परिचित गराउन महत्वपूर्ण भुमिका निर्बाह गर्ने र वीरगन्जको पनि पहिचान बनाउन सहयोग पुग्ने भएकोले वीरगंज महानगरपालिकाको समेत आवश्यक सहयोग गरेको बताए ।
कार्यक्रममा बीरगंज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्याक्ष सुबोध गुप्ताले महोत्सबले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र महोत्सवमा भएको आर्थिक क्रियाकलपले समेत गति लिने धारणा राख्दै महोत्सवबाट यस भेगका बासिन्दाले भरपुर फाइदा लिनुपर्नेमा जोड दिए ।