काठमाडौं। गत मंसिरमा नेपाल भित्रिएका साझा यातायातका ३७ वटा विद्युतीय बस सञ्चालनको मिति अझै तय हुन सकेको छैन। प्रविधिक परीक्षण सम्पन्न नभएकाले विद्युतीय बस सञ्चालन हुन नसकेको साझा यातायाताले जनाएको छ।
कहिलेसम्म परीक्षण सम्पन्न हुनेमा साझा यातायात आफैं प्रष्ट छैन। बस परीक्षणको काम ‘इन्जिनियरिङ संस्थान’को प्राविधि टोलीले गरीरहेको साझा यातायात सञ्चालनक समितिका महाप्रबन्धक महेन्द्रराज पाण्डेय बताउँछन्। उनका अनुसार साझाको पार्किङ्स्थल पुल्चोकमा बस राखिएको छ।
क्यापिटल नेपालसँग महाप्रबन्धक पाण्डेय भन्छन्, ‘सडकमा बस गुडाउन हामीलाई पनि हतार छ, परीक्षण नगरी मिल्दैन। छिटो गर्ने कोसिस त गरी रहेका छौं तर, कहिले परीक्षण सकिन्छ अहिले भन्न सकिदैन।’ साझा यातायातले गत साउनबाट ३ वटा विद्युतीय बस काठमाडौं उपत्यकामा सञ्चालन गर्दै आएको छ।
४० वटा विद्युतीय बस खरिद गर्ने साझाको योजनाअनुसार ३ वटा बस पहिलो चरणमा नेपाल भित्रिएका थिए। बाँकी ३७ वटा बस भने मंसिरमा नेपाल भित्रिएपनि हालसम्म परीक्षकै क्रममा छन्।
प्राविधिक परीक्षण भन्नाले साझा यातायातले खरिद सम्झौता गर्दा जुन गुणस्तर र क्षमताका विद्युतीय बस भनेको थियो त्यही अनुसारका बस हुन्÷होइनन् भन्ने जाँच हुने बताइएको छ। साझाले चीनको सीएचटीसी कम्पनीसँग बस खरिदका लागि २०७८ मा सम्झौता गरेको थियो।
सम्झौतामा बससँगै आवश्यक चार्जरहरु खरिद गरी ५ वर्षसम्मको मर्मत सम्भारसमेत सीएचटीसी कम्पनीले गर्ने उल्लेख छ। उक्त सम्झौता पत्रमा साझा यातायातकी सञ्चालक समिति सदस्य बन्दना थापा र सीएचटीसीका नेपाल प्रतिनिधि एनईभी नेपालका प्रबन्ध निर्देशक राजन रायमाझीले हस्ताक्षर गरेका छन्।
४० विद्युतीय बस र तिनलाई आवश्यक पर्ने २० वटा चार्जिङ स्टेसनका लागि करिब ४४ करोड ८६ लाख २६ हजार रुपैयाँ र विद्युतीय बस सञ्चालनका लागि आवश्यक तालिम तथा ५ वर्षको मर्मतसम्भार एवं स्पेयर पार्टका लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ साझाले सीएचटीसीलाई बुझाउनु पर्र्ने हुन्छ।
साझाले ल्याएका विद्युतीय बस २६ सिट क्षमतासहित अपाङ्गमैत्री छन्। ती बस एकपटक फुल चार्ज गरेपछि ४२ भन्दा बढी यात्रु लिएर २०० किलोमिटर गुड्न सक्छन्। विद्युतीय बसको खरिदले खनिज पदार्थको प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गरी देशको अर्थतन्त्रलाई टेवा दिने तथा वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने साझाले जनाएको छ।
४० वटा बस चार्ज गर्नका लागि २० वटा चार्जिङ स्टेशन बनाउने तयारी साझा यातायातको छ। तर, आवश्यक पर्ने जग्गा भने साझासँग छैन। जसका कारण डेढ वर्ष पहिला नै साझाले भौतिक पूर्वाधार मन्त्रालयलाई जग्गाको व्यवस्था मिलाउन आग्रह गरेको थियो।
भौतिक मन्त्रालयले चार्जिङ स्टेशन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सहकार्य गरी रहेको छ। तर, भूमि व्यवस्था मन्त्रालय कहिलेसम्म जग्गा उपलब्ध गराउँछ भन्ने आधिकारीक जानकारी छैन।
‘मन्त्रालयहरुले आफ्नो काम गर्दैछन् हामीलाई उपत्यका भित्र ३० रोपनी जति जग्गा अवश्यक पर्छ। तर, कति भेटिन्छ त्यहीअनुसार चार्जिङ स्टेशन निर्माण हुँदै जान्छन्’ पाण्डेयले भने। ४० वटै विद्युतीय बस काठमाडौं उपत्यका भित्र सञ्चालन गर्ने साझाको तयारी छ।