काठमाडौं। अहिले टिकटक, फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा आधिकारिक कम्पनीले तोकेको भन्दा निकै कम मूल्यमा मोबाइल उपलब्ध गराउने प्रचार गर्दै ग्राहक तान्ने लहर छ।
केही बिक्रेताले कम्पनीले तोकेको मूल्यसँग मेल खाने गरी सामाजिक सञ्जालमा प्रचार–प्रसार गरे पनि केहीले भने तोकिएको मूल्यसँग ठूलो अन्तर राखेर मोबाइल उपलब्ध गराउने बताउँदै प्रचार गरेको पाइन्छ।
जस्तो कुनै एउटा ब्रान्डको मोबाइलको आधिकारिक मूल्य १ लाख ८० हजार रुपैयाँ तोकिएको छ भने कतिपय व्यापारीले सो मोबाइल १ लाख ३५ देखि ४० हजारमा नै उपलब्ध गराउने भन्दै सामाजिक सञ्जालमा प्रचार गर्ने गरेका छन्।
यसरी प्रचार हुने मोबाइल ब्रान्डमा विशेषगरी आइफोन ब्रान्डका मोबाइल छन्। त्यस्तै महँगो मूल्य पर्नेदेखि सस्तो मूल्यसम्मका अन्य ब्रान्डका स्मार्टफोनहरू पनि यसरी नै बिक्रीका लागि प्रचार–प्रसार भइरहेको भेटिन्छ।
सेकेन्ड ह्यान्ड मोबाइललाई नयाँ भन्ने, भन्सार छली गरेर तथा अवैधानिक बाटोबाट ल्याएर बिक्री गर्नेहरूले यसरी आधाजस्तो नै कम मूल्य तोकेर मोबाइल बिक्री गर्ने गरेको आरोप त्यस्ता व्यापारीहरूलाई लाग्दै आएको छ।
तर, यस्ता विषयलाई मध्येनजर गरी सरकारले बजार अनुगमन नगर्दा वैधानिक तरिकाले मोबाइल भित्र्याउने र बिक्री वितरण गर्ने व्यवसायीलाई ठूलो घाटा लागेको गुनासो पनि व्यसायीहरूले गर्दै आएका छन्।
त्यस्तै सेकेन्ड ह्यान्ड भनेर गरिने मोबाइल व्यापारमा पनि यस्तै किसिमको अस्तव्यस्तता छ। नेपालमा कस्ता र कति समय प्रयोग भएका मोबाइललाई सेकेन्डह्यान्ड ह्यान्डको रूपमा बिक्री गर्न सकिन्छ र कस्ता मोबाइलको मूल्य कतिसम्म राखेर बिक्री गर्न सकिन्छ भन्ने कुनै मापदन्ड छैन।
जसको कारण बाहिर प्रयोग भएर आएका र नेपाली बजारमा नै प्रयोगमा रहेका मोबाइल छोटो समय प्रयोग भएको र मोबाइलको अवस्था राम्रो भएको भन्दै बिक्री वितरण हुने बजार निकै ठूलो छ।
बजारमा आइफोन १४ प्रो म्याक्स मोबाइल १२८ जिबी र २५६ जिबी गरी दुई भेरियन्टमा उपलब्ध छ। जसमा १२८ जिबीको आइफोन १४ प्रो म्याक्सको मूल्य लगभग १ लाख ८७ हजार रुपैयाँ तोकिएको छ भने २५६ जिबी भेरियन्टको मूल्य २ लाख ८ हजार तोकिएको छ।
तर, सामाजिक सञ्जाल टिकटकमा २ लाख ८ हजार रुपैयाँ मूल्य तोकिएको २५६ जिबी भेरियन्टको मोबाइल १ लाख ८० हजार रुपैयाँमा नै उपलब्ध हुने भन्दै प्रचार–प्रसार भइरहेको पाइन्छ। यो त एउटा उदाहरणमात्र हो, यसरी हुने मोबाइल बिक्री वितरण भने हजारौंको संख्यामा रहेको हामी पाउन सक्छौं।
मोबाइल बिक्रेताहरू यसरी तोकिएको भन्दा कम मूल्यमा मोबाइल बिक्री वितरण गर्ने काम नेपाली बजारमा व्यापक भएको बताउँछन्। सरकारले बजार अनुगमन नगरेका कारण यस्तो व्यापारले बजारमा कब्जा जमाएको उनीहरूको गुनासो छ।
तोकिएको भन्दा निकै कम मूल्यमा बिक्री वितरण हुँदै आएको मोबाइल सेकेन्ड ह्यान्ड र अवैधबाटोबाट आयात भएको मोबाइल रहेकाले यसलाई रोक्नुपर्ने आयातकर्ता र बिक्रेताले माग गर्दै आएका छन्।
मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष दीपक मल्होत्रा हाल बजारमा तोकिएभन्दा कम मूल्यमा बिक्री भइरहेका मोबाइल सेकेन्ड ह्यान्ड र अवैध बाटोबाट आएको बताउँछन्।
‘नेपालमा हवाईजाहज बाहेक सेकेन्ड ह्याड वस्तु आयात गर्न पाइँदैन। जहाज पनि १५ वर्षसम्म पुरानो आयात गर्न पाइन्छ नभए अन्य कुनै पनि सेकेन्ड ह्यान्ड वस्तु आयात गर्न पाइँदैन,’ अध्यक्ष मल्होत्राले भने ‘तर कानूनले नै रोकेको भए पनि नेपालमा सेकेन्ड ह्यान्ड मोबाइल भित्रिएका छन्।’
उनले यस्ता मोबाइल भित्र्याउन र बिक्री गर्न एउटा गिरोह नै सक्रिय रूपमा लागेको बताए। ‘अरूले प्रयोग गरिसकेका मोबाइल जम्मा गर्ने अनि त्यसको खोल परिवर्तन गर्ने काम हुन्छ।
खोल परिवर्तन गरेपछि सो मोबाइल नयाँ जस्तै देखिन्छ,’ उनले भने ‘तर यस्ता खालका मोबाइल बैधानिक बाटोबाट आउन सक्दैनन्। यस्ता मोबाइल नेपालमा अवैध बाटोबाट भित्रिएका हुन्।’ यसरी अवैधानिक मोबाइल खुलम खुला बिक्री वितरण हुँदा पनि सरकार भने रमिता हेरेर बसेको उनको भनाइ छ।
‘नेपालमा कानुन नै छैन जसरी यस्ता चोरी पैठारीका मोबाइल सामाजिक सञ्जालमा प्रचार–प्रसार गरेर खुलेआम बिक्री भइरहेका छन्,’ मल्होत्राले भने ‘यसरी चोरी पैठारीका मोबाइल खुलेआम बिक्री वितरण हुँदा पनि सरकारलाई मतलव नै छैन। सरकार निरीह बनेको छ।’ उनले यसरी चोरी पैठारीका मोबाइलले बजार कब्जा गर्दा वैधानिक रूपमा मोबाइल ल्याउने र बिक्री गर्ने व्यवसायी प्रत्यक्ष असरमा परेको बताए।
राम्रो राम्रो आइफोनदेखि महँगा मोबाइल यसरी बिक्री गरेपछि बैधानिक रूपमा नेपालमा मोबाइल आयात गर्नेको अवस्था कमजोर निकै कमजोर अवस्थामा रहेको उनको भनाइ छ।
भन्सार तिरेर मोबाइल ल्याउनेले १८.६५ भ्याट/कर तिरेर ल्याउने गर्छ। जस्तो वैधानिक बाटोबाट मोबाइल ल्याउनेले डेढ लाख पर्ने मोबाइलको २८ देखि २९ हजार रुपैयाँ राज्यलाई भन्सार तिनुपर्ने हुन्छ।
त्यस्तै वैधानिक रूपमा मोबाइल आयात गर्नेले विभिन्न च्यानलगत रूपमा यहाँसम्म ल्याउने गर्छन्। तर चोरी पैठारीबाट मोबाइल भित्र्याउनेले भन्सार पनि नतिर्ने, कुनै च्यानल प्रयोग नगरी सिधै ल्याएर सिधै बिक्री गर्ने भएकाले सस्तो दरमा बेच्ने गरेको मल्होत्रा बताउँछन्।
‘यस्ता मोबाइल ल्याउने व्यक्तिले तीनवटा गल्तीहरू एकैसाथ गरेको छ। सुरुमा त उसले सेकेन्ड ह्यान्ड वस्तु आयात गर्न नपाउनेमा आयात गरेको छ।
दोस्रोमा उसले अवैध बाटोबाट भन्सार नतिरी चोरी पैठारी गरेर मोबाइल नेपालमा भित्र्याएको छ,’ मल्होत्राले भने ‘त्यस्तै अर्को गल्तीका रूपमा उसले क्रेताहरूलाई नयाँ भनेर पुरानो मोबाइल विक्री गर्ने काम गरिरहेको छ।’
यसरी आएको मोबाइलले सरकारलाई भन्सारमा घाटा लागेको, वैध व्यापारीहरूलाई क्षेति पुर्याएकाले यसलाई राज्यले समयसमयमा अनुगमन गर्नुपर्ने उनले बताए।
‘कम्तीमा नेपालमा एमडीएमएस लागू भएको भए पनि यस्तो गलत कार्य नियन्त्रण हुन्थ्यो,’ उनले भने ‘यदि एमडीएमएस लागू नहुँदा पनि सरकारले बजार अनुगमन गरेको आज यसरी खुलेलामा चोरी पैठारीको मोबाइलले बजारमा कब्जा गर्ने थिएनन्।’
यस्तो अवस्थालाई रोक्न र बैद्य ढंगबाट व्यापार गर्दै आएका व्यापारीलाई स्थान दिनका लागि बजार अनुगमन गर्नुपर्ने, एमडीएमएस प्रणाली लागू गर्नुपर्ने उनको भनाइ छ।