काठमाडौं। प्लान योर मनी, प्लान्ट योर फ्युचर भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२३’ सोमबारदेखि सुरु भएको छ।
हरेक वर्ष मार्चमा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो ११ औं संस्करण हो। उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागितामा ललितपुरमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गर्यो।
नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गरेका छन् ।
सो अवसरमा गभर्नर अधिकारीले नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढी रहेको धारणा राखे । उनले भने, “राष्ट्रिय आयसँग दाँजेर हेर्ने हो भने हाम्रो बचतको प्रवृत्ति कमजोर छ । त्यसैले हामीले बचत गर्ने बानीको विकास गर्नुपर्छ । बचतले नै लगानी र आम्दानीको बाटो देखाउने हो ।”
युवा विद्यार्थीमाझ वित्तीय जागरण र वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल मनी विकको अभियान महत्वपूर्ण अवसर रहेको उनको भनाई थियो । बैंकिङ, पुँजी बजार, बिमा जस्ता वित्तीय क्षेत्रबारे जानकारी लिन र आफूले सिकेका ज्ञान/सीपलाई आफ्ना समाज र परिवारमा समेत प्रवाह गर्न गभर्नर अधिकारीले विद्यार्थीहरूलाई आग्रह गरे।
कार्यक्रममा बोर्डका अध्यक्ष रमेशकुमार हमाल, प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रसँगै राष्ट्र बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो ।
कार्यक्रमको दोस्रो सत्रमा राष्ट्र बैंक, धितोपत्र बोर्ड, बिमा प्राधिकरण र सहकारी विभागका तर्पmबाट वित्तीय चेतना प्रवद्र्धनलाई समेटिएका चारवटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
चैत १२ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् ।