काठमाडौं। बिमा अभिकर्ता समग्र बिमा व्यवसायको मेरुदण्ड भएको भन्दै सरोकारवालाहरूले बिमा बजारको दिगो वृद्धिको पहिलो शर्त भनेको व्यावसायिक अभिकर्ता भएको बताएका छन्।
राष्ट्रिय बिमा संस्थानले राजधानीमा आयोजना गरेको ‘जीवन बिमा अभिकर्ता पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रम’ का सहभागीहरूले विश्वमै जीवन बिमा व्यवसाय अभिकर्ता बिना सम्भव नै नहुने भन्दै अभिकर्ता व्यापारिक केन्द्र वा डिलर भएकाले बिमालेख वितरणको भरपर्दो टेस्टेड माध्यम भएको बताएका हुन्।
यस माध्यमलाई नियामक निकाय वा बिमा प्राधिकरणले सुव्यवस्ति बनाइदिँदा अझ बढी बजार विस्तारमा सहजता छाउने उनीहरूको भनाइ थियो। कार्यक्रममा ‘जीवन बिमा र व्यावसायिक सफलता’ विषयमा प्रस्तुति गर्दै प्राइम लाइफका पूर्वसिइओ मनोजकुमार भट्टराईले बिमा कम्पनीका तर्फबाट अभिकर्ता नै ग्राहकसँग पहिलो साक्षत्कार गर्ने पहिलो अन्डरराइटर भएको बताए।
कम्पनीको अभिकर्ताप्रति परम विश्वास हुने भन्दै उनले भने, ‘ग्राहक आफैं कम्पनीमा नगन्य मात्रामा आउँछन् तर अभिकर्ताहरूले उनीहरूको विश्वासमा ग्राहक तान्छन् । अभिकर्ताकै विश्वासमा ग्राहक आकर्षित हुन्छन् र बिमाको व्यापार बढ्छ। यसकारण अभिकर्ता बिमा व्यवसायका मेरुदण्ड हुन्।’
संस्थानका प्रशासक कविप्रसाद पाठकले व्यवसायलाई कसरी स्वस्थ ढंगले अगाडि बढाउने भन्नेमा अभिकर्ताको भूमिकाको चर्चा गर्दै अभिकर्ता पेसालाई व्यावसायिक बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवद्र्धन गर्दै लैजाने नीतिअनुरुप कम्पनीले यसप्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताए।
अभिकर्ताहरूको मनोबल उच्च बनाई थप उत्प्रेरित र जवाफदेहि बनाउने, कर्मचारी र अभिकर्ताहरूबीच पारस्परिक सहयोग र सहकार्यको कार्यमूलक वातावरण निर्माण गरी बिमा व्यवसायको विकास र विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।
कम्पनीका शाखा तथा बजार व्यवस्थापन विभागमा प्रमुख दिपा अधिकारीले बिमा क्षेत्रको विद्यमान अवस्था र संस्थानको विद्यमान अवस्थाका बारेमा प्रस्तुति गरेका थिए।
संस्थानका वरिष्ठ अभिकर्ता हरिशरण शिवाकोटीले अहिले बजारलाई आवश्यक भइरहेको दक्ष अभिकर्ताको उत्पादन गर्नु आजको आवश्यकता भएको भन्दै यसमा नेपाल सरकार, बिमा प्राधिकरण, बिमा कम्पनी, बिमित तथा अभिकर्ता सबैले ध्यान दिनुपर्ने बेला आएको बताए।
अभिकर्ताले गर्ने बजारीकरणले घर–घरबाटै बिमा गराउने बीमित बढाउदै बिमाको पहुँच समेत बृद्धि गर्ने भन्दै उनले बजारको मागअनुसार नयाँ जीवन बिमा योजनाहरूको पहिचान गरी ल्याउनका लागि व्यवस्थापनको ध्यानाकर्षण गराएका थिए।
संस्थानमा निरन्तर कार्यरत उत्कृष्ट अभिकर्ताहरूको सहभागीता रहेको कार्यक्रममा अभिकर्ताहरूको व्यावसायिक विकास, बजार अवस्था, समस्या तथा समाधानका उपायबारेमा पनि छलफल भएको थियो।
संस्थानको निर्धारित लक्ष्य प्राप्त गर्ने सिलसिलामा आइपरेका बाधा अवरोध तथा समस्याका साथै सबै पक्ष बीचको बुझाइमा एकरुपता कायम गर्दै विद्यमान समस्या र अप्ठेराहरूको समाधानका उपायहरू पहिल्याउने विषयमा पनि सो अवसरमा छलफल भएको थियो।
जीवन बिमा गर्ने अभिकर्ताको सेवा, शर्त र सुविधासम्बन्धी पनि सो अवसरमा छलफल भएको थियो । कार्यक्रममा संस्थानका सहायक प्रशासक कृष्ण कुमार श्रेष्ठ, नायब महाप्रबन्धक महेश रिमाल, एजेन्सी विभाग प्रमुख चुडाराज अधिकारी, अभिकर्तासंघका प्रतिनिधि तथा संस्थानका विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरूको समेत करीब ८० जनाको उपस्थिति थियो ।