काठमाडौं। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई आकर्षक लगानीको गन्तव्य बनाउन नसकेसम्म आर्थिक रुपान्तरणको अपेक्षा गर्न नसकिने बताएका छन्।
सोमबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। ‘देशलाई आकर्षक लगानीको गन्तव्य बनाउन नसकेसम्म हामीले ठुलो आर्थिक रुपान्तरणको अपेक्षा गर्न सक्दैनौं,’ प्रधानमन्त्री दाहालले भने ‘त्यसका लागि अब विश्व रंगमञ्चमा नेपालले एकीकृत रूपमा फरक ढंगबाट सोच्न थालेको छ भन्ने सन्देश दिन जरुरी छ।’
उनले अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राखेर नीतिगत, संस्थागत बनाएर कार्यान्वयनमा लगिसकेको बताए। यसैको परिणामस्वरुप केही आर्थिक परिसूचकमा सकरात्मक नतिजा देखा पर्न थालेको पनि उनको भनाइ छ। ‘अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको क्रममा छ, तरलता संकुचनको स्थितिमा सुधार आएको छ। विदेशी मुद्रा सञ्चिति, विप्रेसन आप्रवाह, पर्यटन आगमन आदिमा उत्साहजन प्रगति देखिएको छ,’ दाहालले भने ‘ब्याजदर घट्दै गएको छ, सरकारी खर्चमा मितव्ययिता कायम गर्न अनावश्यक खर्च कटौती तथा प्राथमिकता प्राप्त क्षेत्रका स्रोतको कमि हुन नदिने गरी बजेटको पनुर्विन्याको कामको सुरुवात भइसकेको छ।’
दाहालले खर्च नियन्त्रणका लागि अत्यावश्यक बाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीलाई रोक लगाएको बताए। बढ्दो व्यापार घाटालाई नियन्त्रण गरी निकासी प्रवद्र्धन तथा आयात व्यवस्थापनका लागि नयाँ नेपाल व्यापार एकिकृत रणनीति कार्यान्वयनमा ल्याइएको पनि उनले जानकारी दिए।
सम्भावित ठूला लगानीसँग प्रधानमन्त्रीकै तहमा अग्रसरताका लागि आवश्यक गृहकार्य भइरहेको पनि उनले बताए। ‘सोधान्तर समस्यालाई दिगो रुपमा समाधान गर्न आन्तरिक उत्पादनको विकल्प छैन। त्यसका लागि अल्पकालिन र मध्येकालिन कदमहरु चाल्ने काम हुँदैछ,’ दाहालले भने ‘लघु, साना र ठुला उद्योगहरु पूर्ण रुपमा संचालन, लागत न्युनिकरण र बजारमा व्यवस्थापनमा सहयो गरी आन्तरिक उत्पादन वृद्धिलाई बढाउन काम गरिँदैछ।’