काठमाडौं। उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी तीव्र भएको छ। स्वतः अध्यक्ष हुने वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल तटस्थ बसिदिँदा उनका ‘विश्वासपात्र’ भरत आचार्य अन्य समूहको ‘तानातान’ मा परेका छन्।
यही चैत २८ देखि २९ मा हुने साधारणसभाबाट स्वतः अध्यक्ष बन्न लागेका ढकाल हालसम्म आफ्नो वरिष्ठ उपाध्यक्ष र अन्य पदाधिकारीमा क–कसलाई बनाउने भन्ने विषयमा सार्वजनिकरूपमा नखुल्दा उनका विश्वासपात्र मानिएका आचार्यलाई सबैले आफ्नो ‘टिम’ मा राख्न तानातान गरिहेका छन्।
लामो समयदेखि ढकालसँग निकट रहेर काम गरेका आचार्य एसोसिएटतर्फबाट उपाध्यक्षका उम्मेदवार हुन्। तर, उनी आफैं कुन प्यानलबाट उम्मेदवार बन्ने भन्ने टुंगोमा भने पुगेका छैनन्। आचार्यले हाल कुनै पनि प्यानलको भेला तथा सभा, सम्मेलनमा उपस्थिति जनाएका छैनन्।
तै पनि, अहिले वरिष्ठ उपाध्यक्षका रूपमा उम्मेदवारी घोषणा गरेका हालका उपाध्यक्ष रामचन्द्र संघई र पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले आचार्यलाई आ(आफ्नो टिममा रहेको दाबी गर्दै आएका छन्। तर, आचार्यले भने आफू कुन टिममा रहने भन्ने निधो गरेका छैनन्।
‘अहिलेसम्म म कुनै पनि टिममा खुलेको छैन,’ आचार्यले क्यापिटल नेपालसँग भने, ‘चुनाव लड्ने तयारी भइरहेको छ, तर अहिले कुन टिम भन्ने निष्कर्षमा पुगेको छैन।’
आचार्य यो लाइन वरिष्ठ उपाध्यक्ष ढकालकै लय समातेका हुन्। ढकालले पनि वरिष्ठ उपाध्यक्षमा खुलेर कसैलाई समर्थन गरेका छैनन्। मौन बसिरहेका ढकालले भने ‘हुनेवाला अध्यक्षले प्यानलमा समर्थन गर्न नहुने’ तर्क आफूनिकट व्यवसायीलाई बताउँदै आएका छन्।
आचार्यले आफ्नो टिम रोज्न नसक्नुको एउटै कारण हो– हालका वरिष्ठ उपाध्यक्ष ढकाल तटस्थ बस्नु। यसअघि एसोसिएटमा सदस्य पनि ढकालकै प्यानलबाट चुनाव जितेको र उपाध्यक्षका रूपमा समेत आचार्यलाई नै ल्याउने मनसाय ढकालको छ।
तर, ढकालले कुन टिमबाट आचार्य चुनाव लड्ने भन्ने निश्चित गरेका छैनन्। जसका कारण आचार्य आफैं पनि कुन टिममा रहने भन्नेमा टुंगो लगाउन सकेका छैनन्। व्यवसायीबीच ‘ढकालले जो वरिष्ठ उपाध्यक्षलाई साथ दिन्छन्, आचार्य त्यही प्यानलमा हुन्छन् अर्थात आचार्यलाई जिताउने रणनीतिमा ढकालले वरिष्ठ उपाध्यक्षमा आफ्नो समर्थन खुलाउनेछन्’ भन्ने चर्चा छ।
अहिलेसम्म उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले ढकालको समर्थन आफूहरूलाई नै रहेको दाबी प्रस्तुत गरिरहेका छन्। तर, अञ्जनले आफ्नो टिममा एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठलाई प्रस्तुत गरिसकेका छन्। ज्योत्सना र आचार्य यसअघि एउटै टिममा रहेर चुनाव लडेका थिए।
आचार्यलाई सर्वसम्मत एसोसिएट उपाध्यक्ष बनाउन केही व्यवसायी पनि लागिपरेका छन्।
उमेशलाल श्रेष्ठले गोरखा उद्योग वाणिज्य संघको साधारणसभामा ढकाललाई साक्षी राख्दै आफू वरिष्ठ उपाध्यक्षको उम्मेदवार भएको घोषणा गरिसकेका छन्। उनले भावी अध्यक्ष ढकालको कार्यकाल सफल बनाउनकै लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको समेत बताएका छन्।
‘आचार्यलाई टिममा राख्नुको एउटै स्वार्थ भनेको वरिष्ठ उपाध्यक्ष ढकालसँग भएका मत आफ्नो पक्षमा पार्ने मनसाय नै हो,’ एक व्यवसायीले भने, ‘आचार्य आफैंमा बलियो उम्मेदवार होइनन् तर ढकालकै कारण उनी सबैको नजरमा परेकामात्र हुन्।’
वरिष्ठ उपाध्यक्ष ढकालले भने अहिले कुनै पक्षलाई प्रतिबद्धता नजनाएको बताए। ‘मेरा लागि सबै उम्मेदवार एकै हुन्,’ ढकालले क्यापिटल नेपालसँग भने, ‘आचार्यले पनि तटस्थ भएर उम्मेदवार बन्छु भन्नुभएको छ तर कसको टिमबाट लड्नु हुन्छ, निर्णय भइसकेको छैन‘।
आचार्य एसोसिएटतर्फ यसअघि पनि धेरै भोट ल्याएर विजेता भएका व्यक्ति हुन्। त्यतिमात्र नभई, आचार्यलाई साथ लिन पाए ढकालले आफूहरूलाई खुलेर सहयोग गर्न सक्छन् भन्ने आँकलनका कारण आचार्य अहिले सबैको प्यारो उम्मेदवार बन्न थालेका छन्।
यसअघिको साधारणसभामा पनि आचार्य तीनैजना उपाध्यक्षका प्यानलमा परेका थिए। हालका जिल्लानगर उपाध्यक्ष दिनेश श्रेष्ठ, वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्ष रामचन्द्र संघईको टिममा आचार्य परेका थिए।