बीबीसी। पप स्टार र कूटनीतिज्ञका रूपमा पनि काम गरेकी एक तानाशाहकी छोरीले बेलागतको लन्डनदेखि चीनको हङकङसम्मका सम्पत्तिमा २४ करोड अमेरिकी डलर खर्चिएको एक प्रतिवेदनले दाबी गरेको छ।
गुल्नार करिमोभाले घुस र भ्रष्टाचार गरेर प्राप्त पैसा बेलायतका कम्पनीहरूलाई प्रयोग गर्दै घरहरू र एउटा जेट विमान खरिद गरेकी हुन्।
उक्त प्रतिवेदनअनुसार लन्डन र ब्रिटिश भर्जिन आइल्याण्ड्समा भएका अकाउन्टिङ सम्बन्धी कम्पनीहरूले यस सम्झौतामा संलग्न बेलायतका कम्पनीहरूका लागि काम गरेका थिए।
यस घटनाले गैरकानुनी सम्पत्तिसँग जुझ्ने बेलायतको प्रयासबारे ताजा सन्देहहरू उत्पन्न गराएको छ। लामो समयदेखि ब्रिटिश अधिकारीहरूमाथि विदेशबाट आउँदै बेलायतका घरजग्गा प्रयोग गरेर सम्पत्ति शुद्धीकरण गर्न खोज्नेहरूलाई रोक्न पर्याप्त काम नगरेको आरोप लाग्ने गरेको छ।
उक्त प्रतिवेदनले करिमोभाले बेलायतमा घरजग्गा किन्दा पाएको सहजता चिन्ताजनक छ भनेको छ।उनीसँग जोडिएका कम्पनीका लागि काम गर्नेहरूलाई उनको सम्बन्ध वा सम्पत्तिको स्रोत शङ्कास्पद भएको हुन सक्नेबारे थाहा भए नभएको बताइएको छैन।
बेलायतमा त्यस्तो सेवा दिने कसैलाई पनि अनुसन्धान वा जरिवाना गर्ने काम गरिएको छैन।
केही समयका लागि गुल्नार करिमोभालाई उनका बुवा इस्लाम करिमोभकी उत्तराधिकारीका रूपमा हेरिएको थियो जो मध्य एसियाली देश उज्बेकिस्तानमा सन् १९८९ देखि सन् २०१६ मा मृत्यु हुँदासम्म शासन सत्तामा थिए।
उनी गोगोशा नाममा पप भिडिओहरूमा देखिइन्, गरगहना कम्पनी चलाइन् र स्पेनमा राजदूतका रूपमा काम गरिन्।
तर, सन् २०१४ मा उनी सार्वजनिक वृत्तबाट हराइन्। पछि थाहा भएअनुसार उनलाई आफ्ना बुवा शक्तिमा रहेकै बखत भ्रष्टाचारका अभियोगमा गिरफ्तार गरियो। सन् २०१७ मा सजाय सुनाइयो। सन् २०१९ मा घरमा नजरबन्दको नियम तोडेको भन्दै उनलाई जेल पठाइयो।
भ्रष्टाचारको रकमले किनेको सम्पत्ति
अभियोजनकर्ताहरूले उनलाई एक आपराधिक समूहको हिस्सा भएको आरोप लगाए। जुन समूहले बेलायत, रुस र यूएईसहितका १२ देशमा १ अर्ब अमेरिकी डलरभन्दा बढी बराबरका सम्पत्तिमा नियन्त्रण राख्थ्यो।
करिमोभाको घटना अहिलेसम्मकै घुस खोरी र भ्रष्टाचारको ठूलोमध्येको हो, द फ्रिडम फर यूरेसिया प्रतिवेदनका एक जना अनुसन्धानकर्ता र अक्सफर्ड विश्वविद्यालयमा एक जना अनुसन्धानकर्ता टम मेइनले बताए।
यद्यपि करिमोभा र उनका सहकर्मीहरूले भ्रष्टाचारबाट सङ्कलित रकमले किनिएका भनिएका कतिपय सम्पत्ति बिक्री गरिसकेका थिए।
फ्रिडम फर यूरेसियाले घरजग्गा र जमिन दर्तासम्बन्धी विवरणलाई केलाउने क्रममा कम्तीमा १४ घरजग्गाहरू उनी पक्राउ पर्नु अगावै सन्देहपूर्ण देखिएको पैसाबाट किनिएको जनाएको छ।ती घरजग्गा बेलायत, स्विट्जरल्यान्ड, फ्रान्स, दुबई र हङकङ सहितका देशमा थिए।
हाल अनुमानित ५ करोड पाउन्ड बराबरका ती सम्पत्तिमा बकिङ्घम दरबारको ठ्याक्कै पश्चिमपट्टि बेल्ग्राभियामा तिन वटा फ्ल्याट, मेफेयरमा एउटा घर र डुङ्गा खियाउन मिल्ने एक निजी तालसहितको १८ करोड पाउन्डको सरेमा रहेको बङ्गला छन्।
बेल्ग्राभियाका दुईवटा फ्ल्याट सन् २०१३ मा उनी पक्राउ पर्नु अगावै बेचिएका थिए। सन् २०१७ मा मेफेयरको घर र सरेको बङ्गला र बेल्ग्राभियाको तेस्रो फ्ल्याटलाई द सिरियस फ्रड अफिसले रोक्का गरेको थियो।
फ्रिडम फर यूरेसियाको प्रतिवेदनले लन्डन र ब्रिटिश भर्जिन आइल्यान्ड्सका कम्पनीहरूको समेत नाम लिएको छ।
जसको दाबी अनुसार तिनलाई करिमोभा वा उनका सहयोगीहरूले प्रयोग गर्दै आपराधिक ढङ्गले कमाएका पैसा घरजग्गा र एक निजी विमान कम्पनीमा खर्चिएका थिए।
कारिमोभाका प्रेमी रुस्तम मदुमारोभ र अन्य जसलाई उनका सहयोगीहरू भएको आरोप लगाइएको छ ( उनीहरूलाई ब्रिटिश भर्जिन आइल्यान्ड्स र गिब्रालटारमा रहेका कम्पनीका औपचारिक दस्ताबेजमा हकवालाको रूपमा राखिएको छ।
तर उक्त प्रतिवेदनले उनीहरू करिमोभाका प्रोक्सी अर्थात् नक्कली हकवाला मात्र रहेको बताउँछ। कारिमोभाले ती फर्महरू प्रयोग गरेर सयौँ लाख डलरहरू देश बाहिर लगेकी थिइन्।
करिमोभालाई हिसाबकिताबको सेवा दिएका बेलायतका कम्पनीहरू पनाली लिमिटेड र ओडिन्टन म्यानेजमेन्ट लिमिटेड यसअघि लन्डनको न्यू अक्सफर्ड स्ट्रिटमा अवस्थित कम्पनी एसएच ल्यान्डिस एलएलपी हो।
सन् २०१० को जुलाई अन्त्यतिर एसएच ल्यान्डिसले अर्को कम्पनी दर्ता वा अधिग्रहण गर्न खोजेको थियो।
जसको उद्देश्य झन्डै ४ करोड अमेरिकी डलरमा एक निजी जेट किन्ने थियो जसको हकदारका रूपमा मदुमारोभ थिए। उक्त प्रतिवेदन अनुसार उक्त खरिदका पर्दापछाडि खासमा करिमोभा थिइन्।
त्यस बेला पैसाको स्रोतबारे सोधिएको प्रश्नमा एसएच ल्यान्डिजको जवाफ थियो उनको निजी सम्पत्तिको विषय यस अवस्थामा सान्दर्भिक नभएको हामी विश्वास गर्छौं।
त्यस्तो किनभने जेट किन्न प्रयोग गरिएको पैसा मदुमारोभको निजी कोषबाट उपलब्ध गराइएको थिएन। लन्डनस्थित उक्त कम्पनीले पछि मदुमारोभको सम्पत्तिको केही हिस्सा उज्डोनरोबिटा, उज्बेकिस्तानमा रहेको एक मोबाइल फोन कम्पनीबाट आउने जनायो।
त्यस बेलासम्म उक्त कम्पनीको करिमोभासँगको सम्भावित साइनोबारे कुरा उठिसकेको थियो।
त्योभन्दा निकै अघि सन् २००४ मा मस्को टाइम्सको एक आलेखमा लगाइएको आरोप अनुसार करिमोभाले झन्डै २ करोड अमेरिकी डलर उज्डोनरोबिटाबाट छल गरिएका विवरण देखाउँदै लामो समय लगाएर बाहिर लगेकी थिइन्। एक जना पूर्व सल्लाहकारले समेत करिमोभालाई ठगी व्यापारको आरोप लगाएका छन्।
त्यो निकै जोखिमयुक्त क्षेत्राधिकार उज्बेकिस्तानसँग जोडिएको उच्च मात्राको कारोबार भएको भन्दै उक्त प्रतिवेदनले एसएच ल्यान्डिजले विस्तृत रूपमा सबै मापदण्डको उचित पालना गरेको हुनुपर्ने जनाएको छ। उसले पैसा वैध भएको र त्यो आपराधिक गतिविधिबाट नआएको भन्ने सुनिश्चितताका लागि विस्तृत रूपमा पृष्ठभूमिको जाँचहरू गरिनुपर्ने जनाएको छ।
बेलायतमा धेरै सम्पत्ति
एसएच ल्यान्डिजले सन् २०१२ मा आर्थिक विवरण पनाली लिमिटेडलाई बुझाएको छ। उक्त प्रतिवेदनले सन् २०१३ को सेप्टेम्बरमा बताए अनुसार ती करिमोभाका एक निकट सहयोगीका स्वीकृतिमा भएका थिए।
गयानी अभाक्यान त्यस बेला ३० वर्षका थिए। त्यसको एक वर्षअघि बीबीसीले अभाक्यान जिब्राल्टारमा दर्ता भएको एक कम्पनी टकिलान्टको सूचीकृत हकदार भएको आरोपहरू प्रकाशित गरेको थियो। जुन कम्पनी उज्बेकिस्तानमा करोडौँ डलर छली र भ्रष्टाचारको एक उच्चस्तरीय प्रकरणूको केन्द्रमा थियो।
बीबीसीलाई दिएको विज्ञप्तिमा स्टीभन ल्यान्डिजले भनेका छन्ए सएच ल्याण्डिज एलएलपी कहिल्यै गुलनारा किरिमोभासँग संलग्न भएन। एसएच ल्याण्डिज एलएलपी रुस्तम मदुमारोभको तर्फबाट भने काम गर्यो।
एचएस ल्याण्डिज एलएलपीले आफ्ना सबै सेवाग्राहीबारे पर्याप्त सावधानीका उपाय अपनायो र सम्बन्धित नियामक निकायहरूलाई त्यसको जानकारी गराउँदै मूल्याङ्कन गरिरह्यो।
फ्रिडम अफ यूरेसियाका टम मेन करिमोभाले निकै सजिलोसँग बेलायतमा धेरै धन सम्पत्ति जोड्न सफल हुनु चिन्ताको विषय भएको बताउँछन्।
उनी थप्छन्, सन् २०१७ सम्म अधिकारीहरूले केही गर्न सकेनन् जबकि त्यसको वर्षौँअघिदेखि अन्य देशहरूले उनको बैंक खाता र अन्य सम्पत्तिहरू रोक्का गरिसकेका थिए।