एजेन्सी। पछिल्ला महिना नगद अभावले समस्याग्रस्त स्वीजरल्यान्डकाे क्रेडिट स्वीस बैंकलाई प्रतिस्पर्धी युबिएस बैंकले अधिग्रहण गरेको छ। क्रेडिट स्वीसलाई युबिएसले ३.२५ अर्ब डलरमा खरिद गरेको हो।
विश्वव्यापी बैंकिङ प्रणालीमा बजार हल्लाउने थप उथलपुथलबाट बच्न नियामकहरूले `बैंकिङ जाइन्ट´ युबिएसलाई समस्याग्रस्त प्रतिद्वन्द्वी क्रेडिट स्वीसलाई उक्त रकममा खरिद गर्ने सम्झौतामा हस्ताक्षर गराएका हुन्। योसँगै १ सय २७ वर्ष लामो इतिहास भएको क्रेडिट स्वीस बैंकको अन्त्य भएको छ।
क्रेडिट स्वीसले ५० अर्ब फ्रयाङक (५४ अर्ब डलर) सम्मको ऋण लिने योजना लगानीकर्ता र बैंकका ग्राहकहरूलाई आश्वस्त पार्न असफल भएपछि स्वीस अधिकारीहरूले युबिएसलाई किन्न दबाब दिए। क्रेडिट स्वीस र अन्य बैंकहरूको सेयर मूल्यमा गिरावट आयो।
अमेरिकामा दुई बैंकहरूको असफलताले विश्वव्यापी वित्तीय प्रणालीमा अन्य सम्भावित अस्थिरता ल्याउने चिन्ता जगाएपछि यस हप्ता सेयर मूल्यमा भारी गिरावट आयो। क्रेडिट स्वीस विश्वव्यापी प्रणालीगत रूपमा महत्वपूर्ण बैंकहरू भनेर चिनिने ३० वित्तीय संस्थामध्ये एक हो। क्रेडिट स्वीस असफल भएकोमा धेरै चिन्तित छन्।
‘यो सम्झौता अन्तर्राष्ट्रिय वित्तको स्थायित्वका लागि ठूलो फड्को हो,´ स्वीस राष्ट्रपति एलेन बेर्सेटले आइतबार राति घोषणा गर्दा भने, ‘क्रेडिट स्वीसको पतनले देश र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको लागि अकल्पनीय परिणाम निम्त्याएको छ।’
स्वीजरल्याण्डको कार्यकारी सात सदस्यीय निकाय जसमा बर्सेट समावेश छ। सेयरधनीहरुको स्वीकृति बेगर क्रेडिट स्वीस अधिग्रहणका लागि आपतकालीन अध्यादेश पारित गरेर अधिग्रहणका लागि बाटो खुला गरियो।
‘यो क्रेडिट स्वीस, स्विट्जरल्याण्ड र विश्वव्यापी वित्तीय बजारका लागि ऐतिहासिक दुःखद र धेरै चुनौतीपूर्ण दिन हो,’ क्रेडिट स्वीसका अध्यक्ष एलेक्स लेहम्यानले भने, ‘अब ध्यान भविष्यमा र विशेष गरी ५० हजार क्रेडिट स्वीस कर्मचारीहरूमा केन्द्रित छ।’
स्वीस सम्झौताको समाचारपछि विश्वका केन्द्रीय बैंकहरूले आगामी हप्तामा बैंकहरूलाई स्थिर गर्न वित्तीय योजनाको घोषणा गरेका छन्। यसमा अमेरिकी डलर उधारो लिन खोज्ने बैंकहरूको लागि ऋण सुविधामा पहुँच हुने छ।
जुन सन् २००८ को वित्तीय संकटको समयमा व्यापक रूपमा प्रयोग भएको अभ्यास हो। २००८ को सेप्टेम्बरमा लेहम्यान ब्रदर्स टाटपल्टेको तीन महिनापछि ५ खर्ब ८० अर्ब डलर थप लगानी गरिएको थियो।
यसरी संकटग्रस्त बन्यो क्रेडिट स्वीस बैंक
क्रेडिट स्वीस विश्वको कालो धान जम्मा गर्ने बैंक हो। पछिल्लो समय विकसित कालो धनमाथि बन्देजको अन्तर्राष्ट्रिय असल अभ्यासले गर्दा स्वीस बैंकहरु विस्तारै समस्यामा पर्न थालेका हुन्। क्रेडिट स्वीस नगद प्रवाह नहुँदा अप्ठेरोमा पर्न गयो।
क्रेडिट स्वीस अप्ठ्यारोमा पर्नुमा बुल्गेरियाका लागूपदार्थ व्यापारीहरूलाई सम्पत्ति शुद्धीकरण गर्न अनुमति दिएबापत बैंकले अदालतबाट पाएको आपराधिक सजाय, मोजाम्बिकको भ्रष्टाचार मुद्दामा फस्नु, पूर्वकर्मचारी र एक उच्च कार्यकारी संलग्न रहेको जासुसी घोटाला काण्ड र ग्राहकहरूका तथ्यांकको सञ्चारमाध्यमहरूमा भएको ठूलो चुहावट मुख्य कारण रहेको बताइएको छ।
गत अक्टोबरदेखि ग्राहकहरुले धमाधम क्रेडिट स्वीसबाट पैसा झिक्न थाले। यसपछि समस्यामा पर्न थालेको बैंकलाई अघिल्लो साता अमेरिकन सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले क्रेडिट स्वीसको वार्षिक वित्तीय प्रतिवेदन मागेपछि बैंकले सो प्रतिवेदन दिन आलटाल गरेको थियो। वित्तीय प्रतिवेदन दिन नमानेको समाचार बाहिरिएपछि क्रेडिट स्वीसको सेयर मूल्यमा गिरावट आएको थियो।
सबैभन्दा ठूलो सेयरधनी साउदी नेसनल बैंकले क्रेडिट स्वीसमा थप लगानी गर्न अस्वीकार गरेका थिए । त्यसपछि क्रेडिट स्वीस त्यहाँको केन्द्रीय बैंकको सहयोग माग्न बाध्य भएको थियो। गत हप्ता केही समयअघि अमेरिकाको सिल्भर हेरिटेज बैंक बन्द हुनु पुग्यो ।
पछिल्लो साता सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाटपल्टिएर बन्द भएका छन्। यसक्रममा युरोपको ठूलो बैंक क्रेडिट स्वीस थपिएपछि सन् २००८ को जस्तै विश्वव्यापी वित्तीय संकट आउन सक्ने त्राश वित्तीय क्षेत्रमा देखिएको छ।