काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) लाई जहाज किन्न ठूलो परिमाणको ऋण दिएको कर्मचारी सञ्चय कोषले अब जहाज किन्न ऋण नदिने बताएको छ।
सञ्चय कोषले नेवानिलाई अन्तर्राष्ट्रिय उडानका लागि ठूला जहाज खरिद गर्न २२ अर्ब रुपैयाँ ऋण दिएको थियो। सरकार जमानी बसेपछि कोषले नेवानिलाई ऋण दिएको थियो।
सञ्चय कोषले २०७० असारमा नेवानिलाई १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका दुईथान ‘न्यारोबडी’ जहाज खरिद गर्न १० अर्ब रुपैयाँ ऋण दिएको थियो।
त्यसैगरी कोषले नै नेवानिलाई २ सय ७४ सिट क्षमतायुक्त दुईथान ‘ए३३०–२००’ सिरिजका दुईथना ‘वाइडबडी’ जहाज किन्न २०७४ जेठमा १२ अर्ब रुपैयाँ ऋण दिएको थियो। वाइडबडीका लागि बाँकी १२ अर्ब भने नागरिक लगानी कोषले दिएको थियो।
नेवानिले २०७० यता सञ्चय कोषबाट कूल २२ अर्ब रुपैयाँ ऋण लिएको छ। ऋण लिएयता केही किस्ता चुक्ता गरेको नेवानिले सञ्चय कोषलाई साँवा र ब्याज गरी अझै २९ अर्ब रुपैयाँ बुझाउन बाँकी छ।
सञ्चय कोष र नेवानिबीच भएको ऋण सम्झौताअनुसार ए३२० जहाज खरिद गर्न लिइएको ऋणको वार्षिक ब्याजदर १२ प्रतिशत छ। १५ वर्षमा साँवा र ब्याज पूरै चुक्ता गरिसक्नुपर्छ।
त्यसैगरी ए३३० जहाज खरिद गर्न लिइएको १२ अर्ब ऋणको ब्याज नौ प्रतिशत तोकिएको छ भने व्यावसायिक उडान सुरु गरेपछि ब्याजदर १० प्रतिशत हुने दुई संस्थाबीच भएको सम्झौतामा उल्लेख छ।
२०७८ पुससम्ममा नेवानिले सञ्चय कोषलाई साँवा र ब्याज गरी तिर्नुपर्ने ऋण बढेर २६ अर्ब ५० करोड रुपैयाँ पुगेको थियो। एक वर्षयता थप बढेर २९ अर्ब पुगेको छ।
‘अब हामी नेपाल वायुसेवा निगमलाई जहाज किन्न थप ऋण दिँदैनौं,’ सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले क्यापिटल नेपालसँग भने, ‘निगमल अहिले नै हामीलाई २९ अर्ब रुपैयाँबराबर ऋण तिर्न बाँकी छ।’
उनका अनुसार सरकार जमानी बसेर नेवानिलाई जहाज किन्न ऋण दिइएको हो।
‘सरकारको दबाब भएर होला, अहिले निगमले अलिअलि पैसा तिर्न थालेको छ,’ उनले भने, ‘यद्यपि यो पर्याप्त छैन। यही अवस्थामा निगमलाई जहाज किन्न थप ऋण दिन सकिँदैन।’
वायुसेवा निगमसँग भएको ऋण सम्झौताअनुसार किस्ता प्राप्त नभइरहेको धितालले बताए।
‘निगमले दिँदै नदिएको त होइन, अलिअलि गरेर दिँदैछ। पूरै नदिए पनि सम्झौताको ६० प्रतिशतसम्म किस्ता बुझाएको छ,’ सञ्चय कोष प्रशासक धितालले भने, ‘त्यसैले निगम अलि चलायमान भएको हो कि भन्ने लागेको छ।
पछिल्लोपटक हामीलाई ८० करोड बुझाउनुपर्नेमा ५६ करोडमात्रै दियो। ३० करोड अर्को पटक दिने भनेको छ। पूर्णसन्तुष्ट त छैनौं तर नहुनुभन्दा चल्दैछ भन्ने हो।
नेवानिले हाल चार जहाजबाट भारतका नयाँदिल्ली, मुम्बई र बैंगलुरु, जापानको नारिता, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, साउदी अरबको रियाध, युएईको दुबई तथा हङकङका काठमाडौंबाट नियमित उडान गरिरहेको छ।